नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी शनिबार काठमाडौंमा हुँदैछ। निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको प्यानलसहित व्यावसायीहरू प्रतिस्पर्धामा छन्। दुवै प्यानलले हरेक पदमा आफ्नो उम्मेदवार खडा गरेका छन्।
दुई कार्यकारिणी समिति सदस्य निर्विरोध भएको उक्त निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल पनि छन्। ढकालले आफ्नो प्यानल नै बनाएका छन्। आइएमई समूहका अध्यक्षसमेत रहेका उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुन्।
यसअघिका दुई कार्यकालमा कार्यकारिणी समिति सदस्य भएका ढकाल नेपाल-मलेसिया र नेपाल-इन्डोनेसिया चेम्बरमा अध्यक्ष भइसकेका छन्। नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष पनि भइसकेका उनी महासंघको आगामी कार्यकालमा वरिष्ठ उपाध्यक्ष तथा २१ औं अध्यक्षका प्रत्यासी छन्।
ढकालसँग सेतोपाटीका लागि रवीन्द्र शाहीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः
उद्योग वाणिज्य महासंघको चुनावी चहलपहल एक वर्षदेखि जारी छ। कोरोनाअघि नै तयारी सुरू भएको थियो जुन अहिलेसम्म जारी छ। यसबीच तपाईंको दौडधुप कस्तो रह्यो?
चुनाव नहुँदा पनि म प्रायः देशका विभिन्न ठाउँ पुगिरहेकै हुन्छु। व्यावसायिक प्रवर्द्धनक्रममा पनि धेरैजसो जिल्ला पुगेको छु। चुनाव सुरू भएपछि कोभिड पहिले पनि धेरै नगर उद्योग वाणिज्य संघको साधारणसभामा पूर्वदेखि पश्चिमसम्म घुमेर आएका थियौं।
कोभिडपछि त्यति धेरै जिल्ला घुम्न अनुकूल भएन। समय कम भयो र कोरोनाको डर पनि। त्यसैले प्रदेशका हिसाबले प्रायः सबैमा पुगियो।
यसले के सजिलो भयो भने, खासगरी जिल्ला नगरका साना व्यावसायीले भोगिरहेका मुद्दाहरू, उनीहरूले महासंघको केन्द्रीय नेतृत्वसँग खोजेको सहयोग र सरकारसँग गर्नुपर्ने लबिङबारे जानकारी पाइयो। साना तर महत्वपूर्ण मुद्दाबारे जानकारी पाउने अवसर भयो।
यो अनुभवबाट मलाई एउटा ज्ञान भएको छ। त्यो भनेको जिल्लामा सानो व्यवसाय गरेर बसेकाका समस्या पनि महासंघको समन्वयमा समाधान गर्न सकिन्छ। कहाँ, कसरी पहल गर्ने भन्ने पनि थाहा भयो। यी र यस्तै समस्या र समाधानका विषयमा मैले आफ्नो चुनावपछिको कार्यकालमा एकीकृत गरेर समाधान गर्ने मार्गचित्र पनि बनाएको छु। यसमा साथीहरूको विश्वास पनि छ।
जिल्ला नगर संघका पनि समस्या छन्। त्यहीभित्रका साना व्यवसाय पनि समस्यासँग जुधिरहेका छन्। समस्यालाई मिहिन ढंगले मैले बुझ्ने अवसर पाएँ। व्यावसायिक गतिविधि बढाउन, कतिपय परम्परागत कानुन पनि अहिले नै सम्बोधन भएका छैनन्। अझै व्यवसायबाट स्वतस्फूर्त रूपमा सञ्चालन हुने अवस्था आएको छैन।
सानोदेखि विदेशी लगानीसम्मका कुरामा आउनसक्ने समस्यासँगै विदेशी लगानी आउन सजिलो बाटो बनाएर रोजगारी सिर्जना तथा राजश्व बढाउनेसम्मका समग्र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको छाता संगठनले गर्नुपर्ने कुरा हाम्रो टिमले गर्छ। यो कुराको विश्वास हामीले दिलाएका छौं।
चुनावी प्रतिस्पर्धामा भाग लिने सबैले चुनाव जित्ने सम्भावना देखेका हुन्छन्। तपाईंले जित्छु भन्ने आधार के-के हुन्?
मेरो चुनाव जित्ने आधार भनेको समग्र निजी क्षेत्र र व्यवसायी साथीहरू हुन्। जिल्ला नगर वाणिज्य संघमा सबैमा गएको छु। उहाँहरूकै सल्लाह र आग्रहमा म अघि बढेको हुँ। जिल्ला नगरबाट म ८० प्रतिशतभन्दा बढी भोट ल्याउँछु। त्यस्तै एसोसिएटको कुरा गर्दा एकपटक सदस्य र अर्कोपटक उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको थिएँ। एकपटक सदस्यमा सबभन्दा धेरै बहुमत ल्याएर निर्वाचित भएको थिएँ। एसोसिएटबाट पनि मेरो ८० प्रतिशत बढी भोट आउँछ।
त्यसैगरी वस्तुगत संघमा पनि मेरो आफ्नै सम्बन्ध छ। कतिपय संघमा म आफैं संलग्न छु। त्यो क्षेत्रका धेरै साथीसँग मेरो सामिप्यता छ। उहाँको आग्रह पनि मै आउनुपर्छ भन्ने हो।
अर्को जित्ने आधार भनेको मैले गत तीन कार्यकाल महासंघमा बसेर गरेका काम हुन्। मैले सरकारसँग गर्न सक्ने लबिङ र विदेशी संस्थासँग गर्न सक्ने सहकार्य सबै साथीहरूले देख्नुभएको छ। रोजगारदाता र ट्रेड युनियनबीचको सहकार्यमा मैले खेलेको भूमिका पनि सबैका अगाडि छर्लंग छ।
लकडाउनमा सरकारले शतप्रतिशत तलब दिनुपर्छ भनिरहेका बेला ट्रेड युनियनलाई सहमत गराएर पचास प्रतिशतमा समझदारी गराएको थिएँ। समग्र गतिविधिमा जुन समस्या आउँछ, उठाउन सक्ने, सरकारसँग पहल गर्नसक्ने, साना व्यावसायीको आवाज पनि बोलिदिन सक्ने र सबै व्यावसायीको प्रतिनिधि भएकाले मेरो जित्ने आधार हो।
यसमा साथीहरूले पनि सोच्नुभएको छ। समग्रमा यो चुनावमा म हालसम्मकै धेरै प्रतिशत भोट ल्याएर जित्ने उम्मेदवार हुन्छु।
मेरा विश्वासका अरू पनि आधार छन्। हरेक व्यक्तिले जित्छु भन्ने नलागेसम्म त चुनावमा किन खडा हुनुपर्यो र? म जित्ने कुरामा विश्वस्त छु किनभने ७७ जिल्लामा व्यावसायिक सञ्जाल छ। हरेक व्यवसायीसँग जोडिएको छु। मान्छेले प्राथमिकता हेर्छ। चन्द्र ढकाल वा अरू कसलाई दिँदा मेरो समस्या सुल्झाइदिन सक्छ भनेर हेर्छ।
म सानो व्यवसायबाट यो क्षेत्रमा प्रवेश गरेको मान्छे, शून्यबाट सुरू गरेको हुँ। मलाई के थाहा भने एकदमै सानोदेखि मझौला, ठूलो कर्पोरेट हाउस र विदेशी लगानीसम्म अनुभव छ। यी हरेक विन्दुमा हुने समस्याबारे म जानकार छु। आफैंले भोगेको छु। वस्तुगतमै पनि धेरै क्षेत्रको समस्या थाहा छ र यी क्षेत्रका नियामकसँग डिल गर्ने विषय पनि अनुभव छ।
त्यसकारण चाहे जिल्ला नगरका साथी हुन्, चाहे वस्तुगतका, चाहे एसोसिएटका साथी भनौं, उहाँहरू सबैले मेरै जितको कामना गरिरहनुभएको छ।
चुनावी प्रतिस्पर्धामा प्यानल हुनु स्वभाविक हो जुन यो पालि पनि छ। महासंघका वर्तमानदेखि भावी अध्यक्षसम्म तपाईंको प्रतिस्पर्धी प्यानलमा खुलेर लाग्नुभएको छ। यसले गर्दा तपाईंसँग 'भेट्रान'हरू भएनन् भन्ने लाग्दैन?
मेरो लागि भेट्रान भनेको निजी क्षेत्र हो। व्यवसायी हुन्। मतदाता हुन्।
मतदाता हेर्नुभयो भने जिल्ला नगरका साथीको ८० प्रतिशत समर्थन छ। एसोसिएटमा पनि त्यस्तै छ। केही पूर्व अध्यक्षको कुरामा एकाधबाहेक अधिकांशले वास्तविक व्यवसायी आउनुपर्छ भनिरहनुभएको। यसका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको विकल्प छैन भन्नुभएको छ। केही कार्यक्रममा खिचिएका असान्दर्भिक फोटो राखेर गरिएको प्रचारमा मेरो भन्नु केही छैन।
कुरा महासंघको हुनेवाला अध्यक्षको हो। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसको कारण प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा नेतृत्वमा पुग्ने मान्छे प्यानल तथा प्रतिस्पर्धाबाट आउने भएकाले निष्पक्षता नहुने भयो भन्ने हो। यही भावनाअनुसार निर्वाचन तुष नहोस् भन्ने हो। तर विधानको भावना विपरीत विशेष व्यक्तिलाई बोकेर उहाँ हिँड्नुभएको छ। यो उहाँले नै मूल्यांकन गर्ने कुरा हो। यो गलत थियो र छ भनेर उहाँले महसुस गर्नुभएको जस्तो मलाई लाग्छ।
अर्को कुरा मेरा लागि सबै पूर्व अध्यक्ष समान हुनुहुन्छ। धेरैले मलाई सहयोग गर्नुभएको छ। प्राविधिक कारण बाहेक उहाँहरूको समर्थन छ। एक पूर्व अध्यक्षले खुलेरै मेरो पक्षमा लेखिसक्नु भएको छ। मलाई लाग्छ यो सिद्धान्त सबै पूर्व अध्यक्षका लागि लागू हुन्छ।
भावी अध्यक्ष र तपाईंको प्यानल फरक छ। यदि तपाईं निर्वाचित हुनुभयो भने काम गर्न सहज हुन्छ त?
मेरो अध्यक्ष शेखर गोल्छा हुनुहुन्छ। जुनसुकै प्यानल आए पनि उहाँ महासंघको अध्यक्ष हो। महासंघ भनेको निजी क्षेत्रको विकास तथा मुद्दा सरकारसमक्ष लिन आर्थिक गतिविधि बढाउन तथा व्यावसायिक अवरोध हटाउन नेतृत्व गर्ने छाता संस्था हो। त्यसमा हामी सबै जनाको एउटै स्वर हुन्छ।
अहिले उहाँले फरक पक्षलाई बोकेर हिँडे पनि १३ गतेपछि एउटै टिम हुन्छ। सबै निजी क्षेत्रको आवाज एउटै हुन्छ। विवाद र असहयोग भन्ने हुँदैन। हामीले पैरवी गर्ने एउटै कुरा हो, एजेन्डा एउटै हुन्छ। काम गर्न गाह्रो वा असहयोग हुँदैन।
महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवार र पछि अध्यक्ष हुने भएकाले तपाईंसँग एजेन्डा के-कस्ता छन्?
अहिलेको अवस्था सामान्य छैन। कोरोनाका कारण आर्थिक-सामाजिक संरचना फेरिएको छ। अर्थतन्त्र शिथिल छ। यस्तो अवस्थामा निजी क्षेत्रको नेतृत्व गर्ने महासंघले गर्नुपर्ने काम धेरै हुन्छन्।
व्यापार-व्यवसायको निरन्तरता मात्र होइन, थप रोजगारी सिर्जना, आर्थिक वृद्धि तथा समग्र समृद्धिकै लागि हामीले काम गर्नुपर्ने छ। यस्तो अवस्थामा महासंघ अझै बलियो र सशक्त हुनुपर्छ। यही अभियानका लागि हामीले टिम बनाएका छौं। त्यो टिमले आगामी दशकको रणनीति पनि बनाएको छ।
व्यावसायिक निरन्तरताका लागि राहत व्यवस्था गर्न सरकारसमक्ष हामी माग गर्छौं। माग मात्र गर्दैनौं, सरकारले किन र कसरी सहयोग गर्नुपर्छ, त्यसबाट के परिणाम आउँछ र कसरी फाइदा हुन्छ भनेर तथ्यगत कुरा राख्छौं।
त्यस्तै लगानी आकर्षण र नीतिगत परिवर्तनका लागि पैरवी गर्ने र नयाँ परिवेशमा आवश्यक कानुनी व्यवस्थाका लागि हामी पहल गर्छौं। हामीले ‘एफएनसिसिआई भिजन २०२५’ पनि सार्वजनिक गरिसकेका छौं। हामी आएपछि के गर्छौं भन्ने विस्तृतमा त्यहाँ उल्लेख गरेका छौं।
निजी क्षेत्रलाई पनि आफू सुधार नगर्ने, माग मात्र गर्ने भन्ने आरोप सरकारी तहबाट लाग्दै आएको छ। हाम्रो महासंघको पनि धेरै काम क्रमशः परिवर्तन हुँदै आएको छ। आउने दिनमा यसमा सुधार गर्न जरुरी छ। भारतकै कुरा गर्दा फिक्कीजस्ता संस्थाको प्रणालि नै राम्रो छ। उनीहरूकहाँ महानिर्देशकले चलाउँछन्। कार्यकारी अधिकार महानिर्देशकमै छ। पदाधिकारीहरू निश्चित कुरामा मात्र हुन्छन्। यस्तो हुँदा व्यक्तिगत प्रभाव न्यून हुन्छ।
यसका लागि केही न केही सुधार गर्नैपर्छ। प्रणालिले चल्ने भए हरेक माग तथ्यगत हुन्छन्। निश्चित अध्ययनपछि मात्र सरकारसँग मागको रूपमा प्रस्तुत हुन्छन्।
हाम्रोमा सबै कुरा पदाधिकारी संयन्त्रले गर्छ। संस्थागत रूपमा चले कुनै पनि समस्या आउँदा तथा नयाँ कुरा माग गर्दा, पहिला त्यसमा अध्ययन हुन्छ। त्यसका प्रमाण हुन्छन्। त्यही आधारमा सरकारसँग माग राखिन्छन्।
यो काम आउने नेतृत्वमा सम्भव हुन्छ। अबको टिमले आधुनिक व्यावसायिक छाता संगठनका रूपमा विकास गर्छ। हामी आधुनिक संस्कारयुक्त महासंघ बनाउँछौं।
चुनाव कत्तिको महँगो हुँदो रहेछ?
बाहिर हल्ला गरिएजस्तो धेरै खर्चिलो तथा महँगो हुँदैन। चुनावी प्रचारका लागि काठमाडौं बाहिर जाँदा यातायात तथा खाने-बस्ने मात्र खर्च हो। यो एक्लैले गर्ने पनि होइन, समूह साथमा हुन्छ।