पछिल्लो समय बिजुली उत्पादन बढेपनि निरन्तर प्रवाहमा निरन्तरता छैन। कतिपयले यसलाई अघोषित लोडसेडिङ गरेको आरोप नेपाल विद्युत प्राधिकरणलाई लगाउँदै आएका छन्।
प्राधिकरणले भने आपूर्ति प्रणालीको कमजोरीका कारण आपूर्तिमा अवरोध सिर्जना भइरहेको प्रष्टिकरण दिंदै आएको छ। प्राधिकरणले ग्राहकलाई सहज, सुलभ, भरपर्दो तथा किफायति बिजुली दिनका लागि स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो ।
विद्युत उत्पादन, प्रशारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा विश्वव्यापी रुपमा अपनाइएका नयाँ प्रविधी भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको प्राधिकरणले जनाएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार आयोजित वेविनार कार्यक्रममा बोल्दै हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायति ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए ।
उनका अनुसार, विद्युत प्राधिकरणले आफ्नो बन्ने संरचनातथा सेवाहरुलाई डिजिटलाइज गर्दै अघि बढेको छ ।
“स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरीय विद्युत उपभोक्तालाई दिन सक्छौं र विद्युत प्राधिकरणको प्रणाली पनि शसक्त हुन्छ, हामीले विद्युत उत्पादनदेखी प्रशारणलाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौ” उनले भने।
कार्यक्रमा बोल्दै एसियाली विकास बैक (एडिवी) नेपाल कन्ट्री मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युतको क्षेत्रमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको र नेपालले पनि बर्षौं पुराना विद्युतका संरचनाहरुलाई समयसापेक्ष रुपमा स्तरोन्नति गरि विद्युत उपभोक्तालाई समयसापेक्ष सेवा तथा सुविधा दिनुपर्ने बताए।
“विश्वमा विद्युत क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरे देशहरुले त्यसलाई आत्मसाथ गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिड लगायतमा विभिन्न प्रविधिहरु भित्र्याउनका लागी नीतिगत सुधार समते गर्नुपर्नेहुन्छ “ उनले भने।