के तपाईंले सानो छँदा 'पजल' खेल्नुभएको थियो? वा अहिले तपाईंका भाइबहिनी वा छोराछोरीले खेल्छन्?
पजलहरू विभिन्न प्रकारका हुन्छन्– क्रसवर्ड, वर्ड–सर्च, नम्बर, आदि। त्यसमध्येको 'जिग–स' पजलमा हामी एक पूरा आकृतिका टुक्राहरू जोडेर सिंगो रूप दिन्छौं।
सोच्नुस् त! टुक्राहरू जोड्दा कुनै विदेशी संरचनाहरू नभई हामीले देख्दै आएका कुनै सांस्कृतिक आकृति बन्यो भने कति रमाइलो हुन्छ?
झन् केटाकेटीलाई त खेल पनि हुने, संस्कृति पनि चिनाउन सजिलो हुने।
'प्रो–माइन्ड होल्डिङ' नामक इञ्जिनियरहरूको समूह संस्कृतिलाई जोडेर केही गर्ने सोचमा थिए। त्यही सोचले जन्माएको छ सांस्कृतिक जिग–स पजल।
'म आफैं नेवार भएर नेपाल भाषा बोल्न आउँदैन,' समूहका इञ्जिनियर निलेश प्रधानले सेतोपाटीसँग भने, 'संस्कृति पनि प्रयोगमा आएन भने बिस्तारै लोप हुन्छ। साना केटाकेटीलाई रमाइलो पनि हुने, संस्कृति पनि चिनाउने सोचका साथ यो आइडिया फुरेको हो।'
प्रो–माइन्ड होल्डिङले सूचना-प्रविधि, थ्रिडी डिजाइन, सफ्टवेयर बनाउने, प्रोडक्ट डिजाइन लगायत काम गरिरहेको छ। जिग–स पजल उनीहरूका लागि बिल्कुलै नौलो प्रयास हो।
यी पजल अहिले 'गजु प्रोडक्ट्स' बाट बिक्री भइरहेका छन्। नेपाल भाषामा 'गजु' भनेको गजुर हो।
कृष्ण मन्दिर, लाखे, स्वयम्भू स्तुप, न्यातपोल गरी अहिले चार सांस्कृतिक पजल यहाँबाट बिक्री भइरहेको छ।
तिनको विशेषता यस्तो छः
– वि.सं १६३७ मा बनेको कृष्ण मन्दिर राजा नरसिंह मल्लले बनाएका हुन्। शिखर शैलीमा बनेको यो मन्दिरमा रामायण र महाभारतका दृश्यहरू ढुंगामा कुँदिएका छन्।
– नेवार लोककथाअनुसार लाखे लामा नंग्रा, डरलाग्दो अनुहार, रातो कपाल भएका भूत हुन्। नेवार समुदाय लाखेलाई संरक्षकका रूपमा पनि हेर्छन्।
– स्वयम्भू स्तुपलाई आफैं उत्पत्ति भएको भूमि मानिन्छ। स्वयम्भू पुराणअनुसार पहिले काठमाडौं पानी नै पानीको ताल थियो। त्यहाँ कमलको फूल उम्रियो। मन्जुश्रीले ताल काटेपछि काठमाडौं उपत्यका बन्यो। कमलको फूल परिणत भएर स्तुप बन्यो।
– पाँच तले मन्दिर पनि भनेर चिनिने न्यातपोल १७ औं शताब्दीमा राजा भूपतिन्द्र मल्लको पालामा बनेको हो।
सम्पदाका यी जानकारी उनीहरूले गजुको आधिकारिक फेसबुकमार्फत सेयर गरेका छन्। सामान बिक्री गर्दा भने कुनै पर्चामा उल्लेख गरेका छैनन्। तिनको विवरण पनि उल्लेख भइदिए राम्रो हुनेथ्यो भन्ने प्रतिक्रिया अहिले आइरहेको निलेशले बताए।
यी पजलका ग्राफिक डिजाइनर हुन् सबिन सिंह। उनी आफैंले खिचेका फोटाहरू पजलका रूपमा ल्याएका हुन्। भविष्यमा मच्छिन्द्रनाथ, पुलुकिसी लगायत आकृतिमा थप चार पजल बनाउने उनीहरूको योजना छ।
धेरै मात्रामा एकै प्रकारको आकृति बनाउँदा सस्तो पर्ने भएकाले उनीहरूले यी चार आकृति मात्रै अहिले प्रयोग गरेका रहेछन्।
यो काम उनीहरूले लकडाउन बेला गरेका हुन्। त्यो समय अलि फुर्सद पनि भएको र योजनामा काम गर्न समय मिलेको बताउँदै निलेशले भने, 'बनाएपछि पहिले साथीभाइ र परिवारलाई बाड्यौं। अनि बाहिर पनि बेच्न थाल्यौं।'
यसबाट के फाइदा हुन्छ भन्ने त उनले घरैबाट पनि थाहा पाए।
आजकलका केटाकेटीझैं उनकी छोरी मोबाइलमा निकै झुम्मिन्थिन्। उनकै टोलीले बनाएको जिग–स पाएसँगै उनी यसमा आकर्षित भएकी छन्।
निलेश भन्छन्, 'धेरै मोबाइल चलायो भने दिमाग एकोहोरो हुन्छ। पजल खेल्दा भने रङ, आकार, बनावट सबै ख्याल राखेर जोडा मिलाउनुपर्छ। यसले दिमागलाई पनि व्यायाम पुग्छ। केटाकेटीको दिमाग पनि छिटो चल्ने हुन्छ।'
हाल चार डिजाइनमा आउने यी पजलमा ८/८ इन्चका ३० टुक्रा हुन्छन्। एउटा मात्र डिजाइनको किन्दा १ सय ९५ रुपैयाँ पर्छ। चारवटै एकसाथ किन्ने हो भने ४ सय ५० रुपैयाँमै पाइन्छ।
उनीहरूले यी पजल बेच्न थालेको भने तिहारपछि मात्र हो। तर केही समयमै पाएको राम्रो प्रतिक्रियाले थप काम गर्न उत्साहित छन्।
यी पजल आधिकारिक रूपमा मध्य बानेश्वरस्थित क्याफे कप्स एन्ड मग्स्, झम्सिखेलस्थित इपिक माउन्टेन बाइक, पाटनढोका स्थित आर्किटेक्ट बुक सप लगायतबाट पनि किन्न सकिन्छ।
दुई वर्षअघि खुलेको बानेश्वरस्थित 'डाँफे चक्लेट एन्ड बेकरी प्रोडक्ट'ले पनि यी पजल बेचिरहेको छ। डाँफेले भने फेसबुकमा यो समूहको काम देखेपछि सम्पर्क गरेको रहेछ।
जिग-स पजलसँग जोडिँदा आफ्ना सामानको बिक्रीमा पनि सहयोग पुगेको बताउँदै डाँफे चकलेटका सञ्चालक सुशान्त तुलाधरले भने, 'एक हप्तामै मैले ९० सेट जति बेचिसकेँ। मेरो व्यवसायलाई पनि अप्रत्यक्ष रूपमा फाइदै पुगिरहेको छ।'
गजु प्रोडक्ट्सको सम्पर्क नम्बरः ९८४९८२५१२९