सिंहदरबार अगाडि निर्माण भएको बसेरा बुटिक होटल सञ्चालनमा आएको छ। गएको वर्ष नै भौतिक निर्माणको काम सम्पन्न भएको उक्त होटल गएको सातादेखि आंशिकरुपमा सञ्चालनमा आएको हो।
बुटिक शैलीमा निर्माण भएको उक्त होटल सीमित क्षमतामा सञ्चालनमा आएको सञ्चालक बिशाल पण्डितले जानकारी दिए।
पण्डितका अनुसार अहिलेको कोरोना महामारीका कारण सीमित क्षमतामा सञ्चालन गरिएको हो।
होटलको भौतिक संरचना तथा डिजाइनलाई सकेसम्म पराम्परागत लुक्स दिन खोजिएको उनको भनाइ छ।
‘होटलको संरचनालाई हामीले परम्परागत लुक्स दिन खोजेका छौं। इँटादेखि झ्यालसम्म हामीले सोहीअनुसार प्रयोग गरेका छौं,’ पण्डितले भने, ‘भवन निर्माणदेखि नै हामीले विशेष ध्यान दिएकाले अहिलेको डिजाइन सोचेअनुसार आएको छ।’
होटलमा कुल ६० कोठा छन्। प्रत्येक कोठा विशेष सुविधा सम्पन्न रहेको र आधुनिक पाँचतारे होटलभन्दा उच्च लागतमा कोठाहरु बनाइएको उनको भनाइ छ।
कुल तीनवटा रेष्टुरेन्ट भएको होटलमा एउटा नेपाली परिकार पाइने रेष्टुरेन्ट छ। त्यस्तै अर्को कन्टिनेन्टल छ भने अर्को वेस्टर्न रेष्टुरेन्ट हुने छ।
‘होटलको डिजाइन मात्र होइन हाम्रोमा स्वाद पनि टिपिकल नेपाली उपलब्ध हुने छ,’ पण्डितले भने।
बसेरा बुटिक होटलमा एउटा बैंकेट हल छ।
सात तले भवनमा रहेको यो होटलको सातौं तलामा स्वीमिङ पुल पनि रहेको छ।
अर्ब बढी लगानीमा निर्माण सम्पन्न भएको होटलले बुटिक पाँचतारेको रेटिङ लिनका लागि पर्यटन विभागमा प्रक्रिया अघि बढाएको छ।
विभागले अहिले अध्ययन गरिरहेको र मापदण्ड पुगेपछि पाँचतारे बुटिक होटलको मान्यता औपचारिक रुपमा पाउने पण्डितले जानकारी दिए।