नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधिन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्ने अनुमति दिएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालन गरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले निर्माण सम्पन्न भएर सञ्चालनम आएपछि पोखरा र भैरहवामा सेवा दिने भएको छ।
ग्राउन्ड ह्यान्डलिङ सेवा अनुमति पाएपछि दुई विमानस्थलमा नेपाल एयरलाइन्सले छुट्टै लगानी गर्नुपर्ने भएको छ। उसले यो सेवा दिनका लागि लाग्ने लागतको प्रारम्भिक अनुमान पनि गरिसकेको छ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले अहिले लागतको सामन्य अनुमान गरिएको जानकारी दिए।
उनकाअनुसार दुई ठाउँमा सेवा विस्तारका लागि एयरलाइन्सलाई पहिलो वर्ष नै ७२ करोड रुपैयाँ आवश्यक पर्ने छ।
यसमा भैरहवा विमानस्थलमा लागत धेरै आवश्यक हुने देखिएको छ। भैरहवामा विमानस्थलमा टर्मिनलबाट जहाजस्म जाने पुल(एरोब्रिज) नभएकाले र्याम्प बस आवश्यक हुने छन्। यस्ता बस कम्तिमा २ देखि ३ वटा चाहिन्छन्। यी बसको न्यूनतम मूल्य नै ५ करोड बढी पर्छ। अरु उपकरणहरुको हकमा भने पोखरा र भैरहवामा उस्तै लागत अनुमान गरिएको छ।
भैरहवा विमानस्थलमा पहिलो वर्ष ४३ करोड र पोखरा विमानस्थलमा २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ सेवालाई आधुनिक, सुविधासम्पन्न बनाउनका लागि लगानीको १० वर्षे योजना पनि बनाएको छ।
काठमाडौं,पोखरा र भैरहवा विमानस्थलमा आवश्यक लगानीको प्रक्षेपन गरिएको छ। जसमा पहिलो वर्ष १ अर्ब ९४ करोड, दोस्रो वर्ष २ अर्ब २४ करोड प्रक्षेपन गरिएको छ। सन् २०३० सम्म कूल २७ अर्ब लगानी हुने एयरलाइन्सको प्रारम्भिक प्रक्षेपन छ।
विमानस्थल आयोजनाहरुको भौतिक निर्माणको काम सम्पन्न हुनै लाग्दा प्राधिकरणले सञ्चालनका लागि आवश्यक अन्य तयारी गर्ने क्रममा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिएको हो।
विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाबाट पछि हटेको प्राधिकरणले आफैं सञ्चालन गर्ने भएपछि ग्राउन्ड ह्यान्डलिङका लागि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई सिधै दिएको हो।
विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनी इच्छुक भए पनि सरकारले सिधै नदिने भन्दै पछि हटेको थियो। सरकारले विदेशी कम्पनीलाई नदिने निर्णय गरेपछि प्राधिकरणले आफ्नो तयारी अघि बढाएको छ।
नेपाल एयरलाइन्सले काठमाडौं विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक राम्रो आम्दानी गरिरहेको छ। उडानबाट घाटा भए पनि ग्राउन्ड ह्यान्डलिङबाट नाफा आर्जन गरेर संस्था चलाउन सजिलो भएको त्यहाँका अधिकारीले बताउँदै आएका छन्।
छिल्लो समय खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिनुपर्ने आवाज उठे पनि सरकारी कम्पनीलाई सिधै दिंदा विवाद नहुने भएकाले प्राधिकरण नेपाल एयरलाइन्सलाई दिने निष्कर्षमा पुगेको हो।
भौतिक निर्माणका काम सकिए पनि फिनिसिङको काम बाँकी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७८ को पहिलो त्राइमासमा मात्र सञ्चालनमा आउनसक्ने अनुमान गरिएको छ। त्यस्तै पोखरा विमानस्थलको काम पनि भैरहवासँगै सकिने प्रक्षेपन छ।
काठमाडौं विमानस्थलमा नेपाल एयरलाइन्सको सेवा गुणस्तरीय नभएको भन्दै ठूला विदेशी एयरलाइन्सले आफै सेल्फ ह्यान्डलिङ गर्न पाउनुपर्ने माग गर्दै आएका छन्। तर नेपाल एयरलाइन्सका महाप्रब्नधक पौडेल भने अबको सेवा पाँचतारे स्तरको हुने बताउछन्।
'दुबै नयाँ विमानस्थलमा उपकरणदेखि प्रविधिसम्म सबै आधुनिक हुने छ। बरु त्यसले हामीलाई लागत बढाउला तर सेवा भने प्रभावकारी हुने छ' उनले भने।
विमानस्थल सञ्चालनमा आउने मिति सँगसँगै आफूहरुले पनि काम सुरु गरिसकिएको पौडेलको भनाइ छ।