म्याकेन्जी स्कटले वितेका चार महिनामा चार अर्ब अमेरिकी डलर बढी दान गरेकी छन्। द गार्डियनका अनुसार उनले यो रकम विभिन्न संघसस्थाहरू र कोरोना महामारीबेला सञ्चालनमा आएका खाद्य बैंकहरूलाई दिएकी हुन्।
म्याकेन्जी संसारकै धनाढ्य जेफ बेजोसकी पूर्व पत्नी हुन्। गत वर्ष उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। संसारकै धनी व्यक्तिको सम्बन्ध विच्छेदले संसारकै महँगो सम्बन्ध विच्छेदको रेकर्ड बनाएको थियो।
सम्बन्ध विच्छेदमा म्याकेन्जीले करिब ३५ अर्ब अमेरिकी डलर पाउने सहमति भएको थियो। त्यस्तै अमेजन कम्पनीमा म्याकेन्जीको हिस्सा ४ प्रतिशत हुने सहमति थियो। सन् १९९४ मा स्थापित अमेजनकी पहिलो कर्मचारीमध्ये म्याकेन्जी पनि एक हुन्।
बेजोससँगको सम्बन्ध विच्छेदसँगै म्याकेन्जी संसारकै धनाढ्य महिलाको सूचीमा पनि परिन्। म्याकेन्जी अहिले संसारकै धनाढ्य सूचीको १८ औं स्थानमा छन्।
अहिलेसम्म उनको कुल सम्पत्ति ६० अर्ब अमेरिकी डलरभन्दा बढी भइसकेको छ। एक सन्तानकी आमा उनी उपन्यासकार पनि हुन्।
आफ्नो सम्पत्ति वृद्धि भएसँगै म्याकेन्जीले सहयोगका हात पनि धेरै खुला राखेकी सिएनएनले जनाएको छ।
गत जुलाइमै म्याकेन्जीले १ अर्ब ७० करोड डलर बढी सहयोग गरिसकेकी थिइन्। ५० वर्षीय म्याकेन्जीले गत मंगलबार आफ्नो सहयोग झनै बढाउने जानकारी दिएकी हुन्। जुलाइ र पछिल्ला चार महिनामा उनले गरेको सहयोग कुल ६ अर्ब डलरभन्दा बढी पुगेको छ।
'यो महामारीले अमेरिकीहरूको जीवनमा धेरै उथलपुथल ल्यायो,' उनले आफ्नो ब्लगपोस्टमा भनेकी छन्,' आर्थिक र स्वास्थ्य क्षेत्रमा महिला र पिछडिएका वर्गले झनै धेरै दुःख पाएका छन्। जबकी अर्बपतिहरूलाई त महामारीमा उल्टै फाइदा भएको छ।'