कोरोना महामारी सुरु भएपछि सबैभन्दा प्रभावितमध्येको एक होटल क्षेत्रमा कार्यरत मजदुरहरु सुरुमै तलब भत्ताको समस्यामा परेका थिए। होटल सञ्चालक तथा मजदुर संगठनहरुबीचमा समझदारी भएपछि निश्चित प्रतिशत तलब दिने सहमति उनीहरुबीच गएको जेठमा भएको थियो।
यही मंसिरसम्मलाई होटल बन्द भएको मान्ने र यसरी बन्द अवधिमा न्यूनतम तलब सञ्चालकहरुले मजदुरलाई दिने सहमति भएको थियो। मंसिर सकिए लगत्तै पहिलेको सम्झौता निष्प्रभावी हुन थालेपछि कतिपय होटलहरुले भने कर्मचारीलाई अवकाश दिन लागेका छन्।
यसका लागि होटलपिच्छे फरक योजना तथा स्किमहरु आएका छन्। कर्मचारीलाई अवकाश दिन लागेकोमध्ये एक हो पाँचतारे होटल अन्नपूर्ण। काठमाडौंको दरबारमार्गमा रहेको पाँच दशक पुरानो यो होटलले सञ्चालन बन्दको घोषणा गर्दै कर्मचारीलाई अवकाश दिने घोषणा गरेको छ।
होटलकी सञ्चालक तथा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले अहिलेको अवस्थामा होटल सञ्चालन गरेर मजदुरको तलब दिन सक्ने अवस्था नरहेको र यस्तो अवस्था अझै एक वर्ष हुने सम्भावना भएकाले अहिले नै अवकाश दिन खोजिएको बताउछिन्।
'हामी त सन् २०२० मा घोषणा भएको भ्रमण वर्षबाट उत्साहित भएर अझ थप लगानी गरेर बसेका थियौं। तर कोरोना आयो। व्यापार सबै रोकियो। तर पनि हामीले बाँचौ र बचाउ भन्ने अभियानका साथ यही डिसेम्बरसम्म एउटा सम्झौता मजदुर युनियनहरुसँग गरेका थियौं। तर अझ पनि अवस्था त्यस्तो रहेन। त्यसैल अब होटल चलाउन सकिने अवस्था पनि छैन' राणाले भनिन्।
कोरोना विरुद्धको भ्याक्सिन आएपनि विश्वामा फेरि नयाँ प्रकारको कोरोना भाइरस आएको अहिलेको अवस्थामा कम्तिमा पनि अझै एक वर्ष पर्यटक आउने सम्भावना न्यून भएको राणाको बुझाइ छ। विदेशी पर्यटक नआएपछि होटलको व्यापार नहुने र अनन्तकालसम्म मजदुरलाई राखेर बीचमा गएर समस्या हुनुभन्दा अहिले नै सबै सेवा सुविधासहित विदा गर्न खोजिएको उनको भनाइ छ।
'बरु अहिले नै दिन सकियो भने सबैलाई पाउने सेवा सुविधा दिन सकिन्छ। यसो हुँदा कर्मचारीलाई पनि अन्याय हुँदैन। अझै १ वर्ष बढी समय पर्यटन आउने छाँटकाँट छैन। त्यस्तोमा विदा नगरी बस्ने हो भने हामील तलब दिन नसकौला। त्यसपछि झन् विवाद बढ्छ। यो सबैका लागि राम्रो हुने हाम्रो विश्वास छ' उनले भनिन्।
सिर्जना राणा
अन्नपूर्ण होटलमा अहिले ३६० जना भन्दा बढी कर्मचारी रहेका छन्। ती सबै कर्मचारीलाई विदा गर्दामात्र पनि करोडौं रुपैयाँ खर्च हुने छ। महिनामा एक लाखभन्दा बढी तलब भएका कर्मचारीहरु पनि रहेकाले अवकाश खर्च नै धेरै रहेकाले पनि जतिसक्दो छिटो गर्न सकिएमा सबै दिन सकिने उनको भनाइ छ।
होटलको सञ्चालन अनिश्चितकालका लागि बन्द भएपनि सदाका लागि बन्द भने नगरिने राणाले प्रष्ट पारिन्। तत्कालका लागि आफूमा होटल सञ्चालन जारी राख्ने आत्मविश्वास नरहेकाले बन्द गरिएपनि भविष्यको व्यावसायिक योजना अध्ययन गरिरहेको उनको भनाइ छ।
'अहिलेको अवस्था यस्तो छ। अर्कोतिर काठमाडौंमा पर्यटकलाई आवश्यक भन्दा बढी होटल सुविधा भइसकेको छ। यस्तोमा खुल्नेवित्तिकै पहिलेकै रफ्तारमा होटल सञ्चालन गर्नसक्छु भन्ने ममा आत्मविश्वास रहेन। त्यसैले अबको केही समय आगामी योजनाका बारेमा अध्ययन गर्छु' उनले भनिन्।
होटलको संरचना धेरै पूरानो भएर किफायति घट्दै गएपनि कोरोना अघिको व्यापार राम्रै भएकाले केही नगरिएपनि अबको समय भने होटल र संरचनाको पुरै परिवर्तन गरिने राणाको भनाइ छ।
दरबारमार्गमा ४० रोपनी जग्गामा फैलिएको होटलको अहिलेको संरचना लगभग सकिने छ। तर नयाँ बन्ने संरचना कस्तो हुने, त्यहाँ के हुने भन्ने विषयमा अहिले आफूले केही पनि नसोचेको उनले बताइन्।
'एउटा कुरा चाहि के हो भने म अब यो होटल परियोजनालाई ३६० डिग्रीबाट परिवर्तन गर्छु। पहिलेको जस्तो त पक्कै हुँदैन। बिजनेश प्लानको अध्ययन गर्दै छु। अब पाँच वर्ष म अध्ययन गर्छु। लगानी गर्न सक्छु कि सक्दिन। त्यो लगानीको प्रतिफल कस्तो आउछ? यी सबै कुरा अध्ययन गरेर नयाँ परियोजनाको रुपरेखा तयार हुन्छ' उनले भनिन्।
अन्नपूर्णले व्यवस्थापन तथा सञ्चालन गरिरहेका चितवनको जगतपुर लज र पोखराको फिसटेल लजको सञ्चालन भने बन्द हुने छैन।