भरतपुरमा करिब ३० करोड रूपैयाँको लागतमा निर्माण गरिएको चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउन लागेको छ।
भरतपुर महानगरपालिका–१० स्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउन लागिएको सञ्चालकहरुले बताएका छन्।
रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै पुस १७ गते (जनवरी १ तारिख) देखि नियमित सञ्चालनमा आउन लागेको जानकारी दिए।
रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल रहेका छन् ।
रिसोर्टका संचालक शिव ढकालले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको बताए। ‘भरतपुर विमानस्थलसँगै जोडिएकाले पाहुनाहरुका लागि थप सहज हुने छ’, उनले भने।
रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । १७।५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो रिसोर्ट सञ्चालन गर्न करिब ३० करोड रुपैयाँ खर्च भएको प्रवन्ध निर्देशक घिमिरेले जानकारी दिए।


