सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूले निर्यात तथा अन्तर्राष्ट्रिय व्यापार बढाउने रणनीति अबलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्।
बुधबार बुधबार मोरङ व्यापार संघ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार र पारवाहन आयोजनाले संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रियामा उद्योगी- व्यवसायीहरूले यस्तो सुझाव दिएका हुन्।
निर्यात प्रवर्द्धनबारे मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल भूपरिवेष्ठित र समुद्री मार्गका लागि परनिर्भर मुलुक भएकाले निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिका लागि भइरहेका अवरोधलाई छिचोल्दै अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच र प्रतिस्पर्धा बढाउन रणनीति अबलम्बन गरिनुपर्ने बताए।
उनले निर्यातजन्य उद्योगलाई आयकरमा विषेश छुट, न्यूनतम् ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, डिउटी ड्र ब्याक सुविधा सम्बन्धित काम भन्सार कार्यालयरूबाटै उपलब्ध गराउनुपर्ने माग गरे।
मुन्दडाले भ्यालु एडिसन(मूल्य अभिबृद्धि)को आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तराष्ट्रियस्तरको गुणस्तर मापदण्ड र मान्यता प्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने, निर्यात प्रवर्द्धन एवम् विकासका लागि अध्ययन तथा नियमन निकायलाई सक्रिय बनाउनुपर्ने, सुनसरीको अमडुवामा अवस्थित ६३२ बिगाहा जग्गालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने र सो क्षेत्रलाई क्रस बोर्डर इकोनोमिक जोनमा परिणत गरी कार्य बढाउनुपर्ने बताए।
उनले पारवहन तथा व्यापार सहजीकरणका सन्दर्भबारे धारणा राख्दै आइसिपी विराटनगरमा गुणस्तर तथा विषादी परीक्षण प्रयोगशालाको स्थापना, चिस्यान केन्द्रको स्थापना, माल वस्तुहरूलाई स्क्यानर तथा एक्सरे मेसिनमार्फत् जाँचपासको व्यवस्थाका पूर्वाधार थप र विकास गरी भन्सार गतिविधिलाई वैज्ञानिक बनाउनुपर्ने सुझाव दिए।
त्यस्तै, औद्योगिक कच्चापदार्थको आयातलाई ग्रीन वर्गीकरणमा राखी जाँचपासमा द्रूत प्रक्रिया अपनाउनुपर्ने मुन्दडाले बताए।
उनले रेल्वेको शीघ्र सञ्चालनमा जोड दिनुपर्ने, रिङरोडलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्ने, भारतको बन्दरगाह जोड्न जलमार्गको निर्माण कार्यलाई अघि बढाउनुपर्ने, भारततर्फ जोगबनी आइसिपीसम्मको निर्माणाधीन चार लेनको सडक र पुलको शीघ्र निर्माण तथा भारतको दलखोलामा रेल्वे ट्रयाकका कारण हुने रोड जामको अन्त्य गर्न ओभर ब्रिज निर्माणका लागि पहल गर्नुपर्ने बताए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव प्रकाश दाहालले मुलुकको वैदेशिक व्यापारको अवस्था, निर्यात भइरहेका वस्तुहरूको अवस्था, निर्यात प्रवर्द्धनका लागि मन्त्रालयका कदम, नेपालका पारवहन व्यवस्था तथा व्यापार सहजीकरणका कार्यबारे जानकारी दिएका थिए।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले बंगलादेशले अवलम्बन गरेका आयात-निर्यात नीतिहरूबाट १० वर्षको अन्तरालमै फड्को फेर्दै अन्तर्राष्ट्रिय बजारमा भारतलाई समेत चुनौती दिइरहेको उल्लेख गर्दै नेपालले पनि त्यस प्रकारका नीति अवलम्बन गर्नुपर्ने बताए।
त्यस्तै, संघका पूर्वअध्यक्ष महेश जाजुले अन्तर्राष्ट्रियस्तरमा हुने मेला महोत्सवहरूमा नेपाली उत्पादनको समेत प्रदर्शनीका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उठेका विषयवस्तुमा सम्बन्धित स्तरबाट छलफल गर्ने र तत्परताका साथ समाधानका लागि पहल गर्ने बताए।