कुरा २२ वर्ष अघिको हो। तत्कालिन रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष गणेशबहादुर भट्टराई अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा गए। गोवामा नयाँ वर्ष मनाउने तामझाम सडकमै छताछुल्ला देखे।
कोही नाँचिरहेका त कोही गाइरहेका। सडकमै खाना बनाउनेदेखि खानेसम्मको भीड। समुन्द्री तटले प्रख्यात बनेको गोवा पर्यटकका लागि अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यमा स्थापित भइसकेको थियो। भट्टराईले गोवामा देखेको छनक पोखरामा लागू गर्न चाहे।
त्यतिबेला नेपालमा पर्यटक भनेकै विदेशी मात्रै थिए। अहिले जस्तो नेपाली पनि देश–देशावर घुम्न निस्कँदैनथे। कोही घुम्न निस्के पनि नेपालीलाई व्यवसायीले पर्यटक ठान्दैनथे। विदेशी पर्यटकको भरमा टिकेको थियो नेपालको पर्यटन उद्यम।
अहिले पनि नेपालको पर्यटन सिजनमा आधारित छ। विदेशी मात्र होइन, नेपाली पनि त्यहीँ पर्यटकीय सिजनमै घुम्न मन पराउँछन्। फागुन, चैत, वैशाख, असोज, कात्तिक र मंसिर नेपालका लागि पर्यटकीय सिजन हुन्। यस सिजनमा मौसम सफा हुन्छन्। पदयात्राका लागि अनुकुल हुन्छ।
मंसिर सकिएपछि पर्यटकीय शहर पोखरा पनि सुनसान हुन्थे। अफ सिजनमा पनि कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर व्यवसायी चिन्तित थिए। अहिले पनि पर्यटनका गफहरुमा सिजनल पर्यटनबाट १२ महिना पर्यटक कसरी तान्न सकिन्छ भनेरै धेरै पर्यटन उद्यमी र नीति निर्माता घोत्लिन्छन्।
भारतको गोवामा देखेका कुरा पोखरामा अप्लाई गर्न भट्टराईले रेवानको आयोजनामा सडक महोत्सवको परिकल्पना गरे। जहाँ गोवामा जस्तै लेकसाइडका झण्डै ३ किलोमिटर क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने, सडकमै खाने, नाच्ने, घुम्ने, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने।
भट्टराईको प्रस्तावलाई अरूले पनि सहर्ष समर्थन गरे, त्यसपछि नै लेकसाइडमा शुरू भएको थियो, ‘न्यू इयर इभ, स्ट्रिट फेस्टिभल।’ सडक महोत्सवमा लेकसाइडको बैदामदेखि खहरेसम्म सवारी आवागमन रोकिन्छ र सडकमै हिँड्ने, सडकमै साँस्कृतिक कार्यक्रमका लागि स्टेज बनाउने, नाच्ने, गाउने गरिन्छ।
सडक महोत्सव हेर्न आउने पर्यटकको घुँइचोले गाडी गुड्ने सडक भरिन्छन्। नेपाली लोक संगीतदेखि विश्वचर्चित अंग्रेजी गीत सडकमै सुनिन्छन्। त्यहीँ संगीतमा झुमेर पर्यटक नाच्दै गाउँदै सडकमा हिँड्छन्। खुट्टा टेक्ने ठाउँसमेत नहुने गरी भीड लाग्ने यस्तो महोत्सव यस वर्ष आयोजना नगर्ने मुडमा थिए, पोखराका व्यवसायी।
‘कोरोना भाइरसको महामारीका कारण यस्तो भीड गर्न हुँदैन भनेर हामीले नगर्ने सोच बनाएका थियौं’, रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले भने, ‘साथीहरूले सांकेतिक रुपमा भने पनि गरौं भनेपछि हामीले ५ दिनको कार्यक्रम छोट्याएर ३ दिन आयोजना गर्यौं।’
बरालका अनुसार यसपटक सडक महोत्सव अयोजना गर्दा विभिन्न सांगीतिक ब्याण्ड नल्याउने र प्रचार नगर्ने योजना थियो। नयाँ वर्ष मनाउन आउने भारतीय र चिनियाँ पर्यटक आउन सक्ने अवस्था थिएन, निरन्तरता दिने मात्र व्यवस्था मिलाएको बरालले बताए।
महोत्सव व्यवसायीले सोचेभन्दा उल्टो भइदियो। लकडाउनमा थुनिएका नेपाली खुलेर लेकसाइडका सडकमा उर्लिए। विगतका वर्षमा झैं सडकमा रमाए। पोखराको पहिचान बनेको सडक महोत्सवमा केही संख्यामा भारतीय पर्यटक पनि देखिए।
गत वर्षमा छिमेकी भारतीय र चिनियाँ मात्र होइन, अन्य देशका पर्यटक पनि नयाँ वर्षमा झुम्मिन आइपुग्थे। पोखराका होटलहरू भरिभराउ हुन्थे। पहिल्यै बुकिङ नगरी आएका पर्यटकले कोठा पाउन नसक्ने अवस्था हुन्थ्यो।
होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले भने, ‘अंग्रेजी नयाँ वर्ष मनाउन विगतका वर्षहरुमा आउने पर्यटक २५ प्रतिशत विदेशी हुन्थे’ तर अहिले नेपाली पर्यटकले नयाँ वर्षमा व्यवसायीले त्राण पाए।’
अहिले पनि सडक महोत्सव मनाउन आउनेमा केही भारतीय पर्यटक देखिए। भारतीयहरू आफ्नै गाडी लिएर सुनौली र विरगञ्ज नाकाबाट नेपाल छिर्थे। अहिले भने पर्यटकका लागि ती नाका बन्दनै छन्। हवाइसेवा भने सुचारू छ। ‘सायद तिनीहरु हवाइ सेवा मार्फत आए, कि सिमा नाकाबाट नेपाल प्रवेश गरेर नेपाली गाडी चढेर आए’, तुलाचन अनुमान गर्छन्।
यस वर्षको सडक महोत्सव पुस १५, १६ र १७ गते मनाइएको थियो। अंग्रेजी नया वर्षमा आएका नेपालीले पोखराका होटलहरु ३५ प्रतिशत भरिएको थियो। चैतयता पहिलो पटक व्यवसायीले व्यवसायको ढोका खोल्न पाएका थिए।
‘हाम्रो लागि त यो नै शतप्रतिशत हो’, हानका अध्यक्ष तुलाचनले भने, ‘धेरै व्यवसायीले यहीँ बेला होटलका ढोका खोले, झण्डै ९ महिनापछि व्यवसाय फर्केको अनुभूति गरे।’
व्यवसायीले पनि लकडाउन खुलेपछि पोखरामा नेपाली पर्यटक तान्न विभिन्न अफरहरू दिएका छन्। कतिका प्याकेज कार्यक्रम छ भने कतिपयले मुल्य घटाएर पर्यटक बोलाइरहेका छन्। सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट नेपाल आउने खुला गरिदिए पनि सुख्खा लागेर बस्न नपर्ने सोच्छन् तुलाचन।
पोखराका होटलहरुमा एक अर्ब बढी लगानी भएको हानको मुल्याङ्कन छ। पोखरामा पर्यटक स्तरका ७ सय वटा होटल छन्। जसमा ३० हजार बेड छन्। निजी क्षेत्रले गरेका यत्तिका ठूलो लगानी जोगाउन सरकारसँग पनि अझै पनि कुनै योजना नभएकोमा व्यवसायीहरु रोष पोख्छन्।
‘सरकारलाई कोरोनाले भएको आर्थिक क्षतिको मतलब नै छैन, न त कुनै पार्टीका नेताले नै यो विषय उठाउँछन्’, रेवानका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई भन्छ्न्, ‘सर्वसाधारण नागरिक र व्यवसायीका विषयमा सोचविचार गर्ने नेता नै भएनन्।’
पर्यटन क्षेत्रले उचाइ लिन खोज्दा देशमा जहिले पनि एउटा एउटा समस्या आउने गरेको भट्टराई बताउँछन्। ‘भुकम्पले तहस नहस पारेको पर्यटनलाई नाकाबन्दीले सेक्यो’, उनी भन्छन्, ‘त्यसपछि हुदहुद नामक आँधीले पदयात्रामा गएको धरै पर्यटकले ज्यान गुमाउन पर्यो, यसले पनि नेपालको पर्यटनलाई नकारात्मक प्रभाव पार्यो, अहिले कोरोना भाइरसको महामारी नसकिँदै राजनीतिक भाइरसले छोयो।’
सत्तारुढ नेकपामा जारी विभाजनको यात्रा एक अर्कामा गालीगलौजमा ओर्लिएको छ। धेरैको ध्यान त्यतै खिचिएको छ। कोरोना महामारी रोकथाम र यसले पुर्याएको आर्थिक क्षतिबाट जोगिने उपायबारे छलफलसम्म नभएकोमा व्यवसायीहरु चिन्तित छन्।
कोरोना महामारी आउनुअघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट उत्साही बनेका पर्यटन व्यवसायीले व्यवसायमा लगानी थपेका थिए। पोखराकै लेकसाइडबाट ‘सफ्ट ओपनिङ’ गरिएको भ्रमण वर्ष कोरोनाले रद्द गरिदियो, व्यवसायीले थपेको लगानी अहिले ऋण बनेको छ।
त्यहीँ ऋण तिर्न नसकेर धेरै व्यवसायी विस्थापित भएका छन्। हान पश्चिमाञ्चलका अनुसार पोखराका झण्डै सय वटा साना होटल अहिले पनि बन्द छन्। उनीहरु व्यवसायमा फर्कने कि नफर्कने टुङ्गो छैन। हान पश्चिमाञ्चलका अध्यक्ष तुलाचनका अनुसार लकडाउनका कारण व्यवसाय धान्नै नसक्ने गरी विस्थापित भएका अधिकाँश व्यवसायी फेरि फर्कन सक्ने अवस्था छैन।
‘सरकारले व्यवसायमा फर्काउने वातावरण बनाइदिनुपर्यो’, उनी भन्छन्, ‘हामी सरकारको दैलो धाउँछौं, तर सरकारले केही पनि गर्दैन।’