कुनै नयाँ व्यवसाय सुरू गर्दा लगानी खोज्न पर्यो भने हामीलाई झट्ट सम्झना आउने बैंक हो। यसबाहेक सहकारी, फाइनान्स कम्पनी तथा सापटी दिनसक्ने नजिकका मान्छेका आकृति धेरैले सम्झिन्छन्।
तपाईं पनि यसमै पर्नु हुन्छ भने अब अलि परसम्म सोच्नुहोस्। किनकी लगानी खोज्न हाम्रो समझमा आउने यी संस्था तथा प्रचलन बाहेकका विकल्प उपलब्ध हुन थालेका छन्। त्यो पनि सरकारी नियमनभित्र रहेर खोलिएका संस्थागत कम्पनीमार्फत।
यो हो प्राइभेट इक्विटी/भेन्चर क्यापिटल सेवा।
विश्वका विकसित बजारमा धेरै पहिलेदेखि प्रचलनमा रहेको वैकल्पिक लगानी भनिने प्राइभेट इक्विटी/भेन्चर क्यापिटल सेवा नेपालमा सुरू भएको पाँच वर्ष भइसक्यो।
हाम्रो वित्तीय बजारमा बामे सर्दै गरेको यो सेवाबारे धेरैलाई जानकारी नभए पनि सरकारले यसको नियमन गर्ने कानुनी व्यवस्था गरिसकेको छ। नेपालमा यस्तै प्राइभेट इक्विटी कम्पनी करिब दर्जन जति खुलिसकेका छन्।
यस्तै कम्पनीले केही समयअघि एसोसिएसन गठन गरेका छन्। नेपाल प्राइभेट इक्विटी एसोसिएसन गठन भएर अहिले सञ्चालनमा आइसकेको छ। तपाईंले आफ्नो व्यवसाय विस्तारका लागि प्राइभेट इक्विटी कम्पनीमार्फत् लगानी गराउन सक्नुहुन्छ। यस्ता कम्पनीले तपाईंको व्यवसायबारे विस्तृत जानकारी लिएर लगानी गर्न सक्छन्।
कस्ता हुन् यी कम्पनी?
यस्ता कम्पनी बैंकभन्दा केही फरक हुन्छन्। बैंकले सर्वसाधारणको निक्षेप लिएर ऋण दिन्छन्, लगानी गर्छन्। लाखौं सर्वसाधारणको निक्षेप हुने भएकाले नेपाल राष्ट्र बैंकले कडा नियमन पनि गर्छ। तर वैकल्पिक लगानीका स्रोत यस्ता कम्पनीले भने परिपक्व लगानीकर्ता वा साझेदार (पार्टनर) हरूको पैसा लिन्छन्।
यही पैसा व्यवसाय विस्तार गर्न आवश्यक अरू कम्पनीमा लगानी गर्छन्। यसका लागि बैंकको जस्तो नियमन हुँदैन।
'यिनीहरू कम्पनीकै रूपमा सञ्चालन हुन्छन्। तर लिमिटेड पार्टनरबाट जेनरल पार्टनरमा गएपछि भने धितोपत्र बोर्डले बनाएको नियमनमा बस्नुपर्छ,' एसोसिएसनका संस्थापक अध्यक्ष तथा पूर्व बैंकर सुमन जोशीले भने।
यस्ता प्राइभेट इक्विटी कम्पनी अरू कम्पनीजस्तै सरकारी नियममा रहेर दर्ता हुन्छन् जहाँ कम्पनी दर्ता हुँदाका पार्टनरले रकम लगानी गर्छन्। यसरी सबैको लगानीबाट भएको कम्पनीको कुल रकम उनीहरूले व्यवसायमा लगानी गर्छन्।
त्यसरी गरेको लगानीको निश्चित समयसीमा हुन्छ। सामान्यतया यो समय सातदेखि पन्ध्र वर्ष हुन्छ। यो समयपछि उनीहरू लगानी भएको कम्पनीबाट बाहिरिन्छन्। जतिबेलासम्म उनीहरूको लगानी व्यवसायमा हुन्छ, सेयर लगानीकर्ताकै रूपमा रहन्छन्। बाहिरिँदा उनीहरूले आफ्नो लगानी र त्यसको मुनाफा पनि पाउँछन्।
'नेप्सेमा सूचीकृत भएको सेयर सार्वजनिक भयो भने यस्ता कम्पनीले गरेको सेयर लगानी प्राइभेट हुन्छ,' जोशीले भने।
यसलाई यसरी बुझौं।
मानौं, इक्विटी कम्पनीले साझेदारबाट उठाएको ४० लाख रूपैयाँ कुनै व्यवसायमा लगानी गर्यो। साझेदारसँग दस वर्षका लागि भनेर संकलन गरेको पैसा दसै वर्षका लागि व्यवसायमा लगानी हुन्छ। दस वर्षमा व्यवसाय फस्टायो। सेयर मूल्यका आधारमा कम्पनीद्वारा लगानी भएको रकम बढेर दुई करोड भयो। अब व्यवसायबाट निस्किँदा इक्विटी कम्पनीले मुनाफासहितको यही दुई करोड लिन्छ। यदि व्यवसाय घाटामा गयो र ४० लाख लगानीको सेयर मूल्य बीस लाख भए बीस लाख नै लिने भयो।
प्राइभेट इक्विटी एसोसिएसनका सिइओ आश्विन जोशीका अनुसार कम्पनीले सामान्यतया आफ्नो कमिसनबापत अन्तिममा पाएको कुल रकमको बीस प्रतिशतजति राख्छ। र, साझेदारलाई मुनाफासहित लगानी फिर्ता दिन्छ।
इक्विटी कम्पनी र लगानी भएको व्यवसायबीच कस्तो कारोबार हुने भन्ने सम्झौतामा भर पर्छ। यदि सम्झौतामा वार्षिक लाभांश लिने भनिएको भए सोहीअनुसार निश्चित प्रतिशत लाभांश कम्पनीले लिन्छ। तर यस्तो कारोबार खास चल्तीमा छैन। किनकी इक्विटी कम्पनीको अवधारणा व्यवसाय बढाउने हो, न कि मुनाफा मात्र आर्जन गर्ने।
नेपालमा अहिले १० वटा जति कम्पनीले करिब एक अर्बभन्दा बढी करिब ४० कम्पनीमा लगानी गरिसकेका छन्। बजारमा यसबारे जानकारी अभाव हुँदा परिपक्व हुन सकेको छैन।
हामीकहाँ अहिले दुई प्रकारले प्राइभेट इक्विटी कम्पनी सञ्चालनमा छन्।
पहिलो, कम्पनीका पार्टनरले पुँजी जम्मा गरेर कम्पनीमा लगानी गर्ने।
दोस्रो, विदेशी कम्पनी तथा विकास वित्त प्रवाह गर्ने संस्थाहरूको पुँजी ल्याएर लगानी गर्ने।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले समेत नेपालमा यस्तै कम्पनी स्थापना गरेर काम गरिरहेको छ। दुवैप्रकारका कम्पनीले नेपालमा अहिले काम गरिरहेको जोशीले जानकारी दिए।
तत्कालका लागि नेपालको सन्दर्भमा कम्पनीहरूले व्यवसाय विस्तारका लागि मात्र लगानी गरिरहेका छन्। सोच र आइडियामा लगानी गर्ने आदर्श अवधारणा भए पनि हाम्रो बजार परिपक्व नभइसकेकाले अहिले चलिरहेकै व्यवसाय विस्तारमा मात्र लगानी गरिरहेका छन्।
कुनै पनि उद्यम गरिरहेको व्यवसायीले विस्तारका लागि पुँजी अभाव महशुस गरेमा र बैंकको ऋणबाट पनि टाढा महशुस गरेको खण्डमा उसले यस्तै कम्पनीमा सम्पर्क गर्न सक्छ। यसरी जाँदा इक्विटी कम्पनीले उसको व्यवसायको प्रकृति, बजार अवस्था, भविष्यमा हुन सक्ने नाफा-नोक्सान हिसाब गर्छ। इक्विटी कम्पनीले चित्त बुझाएको खण्डमा उक्त व्यवसायमा लगानी गर्छ।
एउटा कोष व्यवस्थापकका रूपमा रहने यस्ता इक्विटी कम्पनीले आफ्नो जोखिम र प्रतिफल विश्लेषण गरेर लगानी गर्छन्।
यसरी लगानी गर्दा आवश्यकताअनुसार व्यावसायिक परामर्श तथा आवश्यक परेमा व्यवस्थापकीय सहायता पनि दिइने नेपाल प्राइभेट इक्विटी एसोसिएसनका संस्थापक अध्यक्ष सुमन जोशीको भनाइ छ।
नेपालमा पछिल्लो समय विभिन्न क्षेत्रका व्यवसायीहरू इक्विटी कम्पनीका सम्पर्कमा आउन थालेका छन्। विशेषगरी सूचना प्रविधिमा आधारित व्यवसायीको आकर्षण देखिएको जोशीको भनाइ छ।