पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालालाई यतिबेला भ्याइ–नभ्याइ छ। उनको व्यस्तता व्यवसायमा नभई मत माग्नमा केन्द्रित छ।
बिहानदेखि बेलुकासम्मै घरदैलो अभियान चलाएका नारायण संघको नेतृत्वका लागि प्यानलसहित मतदाताको घरदैलोमा पुगेका छन्।
संघमा उद्योगतर्फकी उपाध्यक्ष बिन्दु कोइरालाको दैनिकी पनि नारायणको जस्तै व्यस्तता छ।
पोखरा उद्योग वाणिज्य संघको यही पुस २४ र २५ गते ३३ औं महाधिवेशन हुँदैछ। त्यही महाधिवेशन मार्फत संघको अध्यक्षका लागि बिन्दु र नारायण प्यानल बनाएरै चुनावी मैदानमा होमिएका हुन्। उनीहरु दुबै समूहले जित आफ्नो समूहको पक्का भएको बताउँदै आएका छन्।
नारायणको समूहबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका पवनकुमार प्रजापति भने मनोनयन दर्ता गरेकै दिन निर्वाचित भए। उनका विरुद्ध विन्दु प्यानलले उम्मेदवार उठाएनन्, प्रजापतिलाई नै समर्थन दिए। अरु व्यवसायीले पनि उम्मेदवारी नदिएपछि प्रजापति निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै, संघको कर्पोरेट सदस्यमा हर्कबहादुर अधिकारी र हरिहर सापकोटा पनि निर्विरोध निर्वाचित भएका छन्। संघको औद्योगिकतर्फका सदस्यमा हिरामणि पण्डित पनि निर्विरोध निर्वाचित भएको संघले जनाएको छ।
उनीहरुको विरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि निर्विरोध हुन पुगेको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले जानकारी दिए।
बाँकी पदका लागि भने दुबै पक्षले उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन्। नारायण कोइरालाको प्यानलबाट वरिष्ठ उपाध्यक्ष प्रजापति निर्विरोध भइसकेका छन् भने अन्य उम्मेदवारहरुमा बाणिज्यतर्फका उपाध्यक्षमा अर्जुन पोखरेल,
उद्योगतर्फको उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन्।
यस्तै सदस्यहरुमा कुमारीमुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, रामेश्वरी अधिकारी, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला छन्।
यस्तै, विन्दु कोइराला प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुङ्गाना र उपमहासचिवमा धर्मराज बास्तोला उम्मेदवार बनेका छन्। विन्दुको प्यानलले वरिष्ठ उपाध्यक्षमा प्रजापतिलाई समर्थन दिइसकेको छ भने उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको छैन। उद्योगतर्फको उपाध्यक्षमा २ जनाको उम्मेदवारी परिसकेकाले प्यानलबाट उम्मेदवारी नदिएको विन्दु प्यानलको भनाइ छ।
संघको अधिवेशनमा विन्दुको प्यानलबाट सदस्यको उम्मेदवार बन्नेहरु पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्की छन्। यो समूहले १० जना खुला सदस्य रहनेमा ४ जना मात्र उम्मेदवार उठाएको छ भने वस्तुगत र एसोसिएट्समा उम्मेदवार उठाएको छैन।
व्यवसायीको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको यसपटकको अधिवेशनमा प्रत्यक्ष रुपमा राजनीतिक पार्टीको समर्थन देखिएको छैन। अघिल्लो अधिवेशनमा नेपाली काँग्रेस र नेकपाको समर्थनमा छुट्टा–छुट्टै प्यानल थिए। यसपटक सोझै समर्थन नदेखिएको उद्योगी व्यवसायीले बताएका छन्।
अध्यक्षका उम्मेदवार बनेका नारायण कोइरालाले अधिवेशनमा दलहरुको साथ र समर्थन नखोजेको दाबी गरे। ‘उद्योग वाणिज्य संघमा पार्टीको झण्डा बोकेर जान हुँदैन’, उनले भने, ‘व्यवसायी कुनै पार्टीको हुँदैन, समर्थन गर्नुपर्यो भनेर हामी कुनै पार्टीमा गएका छैनौं।’
उनले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको प्रभाव चिर्न आफूले उम्मेदवारी दिएको बताए। ‘धेरै व्यवसायी मर्कामा हुनुहुन्छ, उहाँहरुलाई राहत चाहिएको छ’, उनले भने, ‘सरकारसँग लविङ गरेर हामी व्यवसायीलाई राहत दिलाउँछौं।’
उनले पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा समेत योगदान दिएको भन्दै आफू निर्वाचित भए त्यस्ता अभियानलाई पनि निरन्तरता दिने बताए। पोखरा महानगरले सडकमा पार्किङ शुल्क लगाएको भन्दै त्यसले व्यवसायीलाई असर पारेकाले हटाउन पहल गर्ने समेत उनको प्रतिवद्धता छ।
पोखरा उद्योग वाणिज्य संघमा आफू २०६३ सालदेखि नै लागेको भन्दै नारायणले यसअघि गरेको कामको मुल्याङ्कन गरेर व्यवसायीले नै आफूलाई अध्यक्षमा उठाएको दाबी गरे। ‘पोखरेली व्यवसायीले मलाई मत दिनुहुन्छ’, उनले भने, ‘मेरो जित सुनिश्चित छ।’
यता, अर्को बिन्दु कोइराला नेतृत्वको प्यानलले आफूहरु मात्रै कुनै दलमा आवद्ध नभएको स्वतन्त्र भएको दाबी गरेको छ। विन्दुको प्यानलबाट वाणिज्यतर्फ उपाध्यक्षका उम्मेदवार बनेका सोवित पौडेलले अब राजनीतिक भन्दा पनि व्यवसायीको हकहित गर्ने स्वतन्त्र व्यवसायी नेतृत्वमा आउनुपर्ने बताए।
‘राजनीतिक रंग नमिसिएको हाम्रो स्वतन्त्र प्यानल हो’, उनले भने, ‘पार्टीगत रुपमा जानु भन्दा पनि व्यवसायीको हकहित गर्ने स्वतन्त्र व्यवसायी नेतृत्वमा जानुपर्छ भनेर हामीले उम्मेदवारी दिएका हौं।’
पोखरा उद्योग वाणिज्य संघको साख पछिल्लो समय खस्किएको भन्दै उनले आफूहरुको प्यानल निर्वाचित भएमा साख जोगाउने बताए। संघले शौक्षिक र व्यवसायिक क्षेत्रमा धेरै काम गरेको भन्दै पौडेलले युवा उद्यमीलाई समेट्ने समयसापेक्ष प्यानल आफूहरुको भएको दाबी गरे।
कोरोना भाइरसको महामारीका कारण व्यवसाय नै तहस नहस भएको भन्दै उनले सरकारले राहत दिन आफूहरुले समन्वय गर्ने बताए। कोरोनाका कारण साना व्यवसायीले व्यवसाय नै छाडेर विदेश जानुपर्ने अवस्था आएकाले व्यवसाय जोगाउन पनि आफूहरुको प्यानलले जित्नुपर्ने पौडेलको भनाइ छ।
‘व्यवसायीमा घर भाडादेखि पार्किङ, कर लगायतका क्षेत्रमा समस्या छन्, हामी राज्य र व्यवसायीबीचको पुल बनेर सघाउँछौं’, उनले भने, ‘व्यवसायीका समस्याहरुको समाधान गर्न हामीले उम्मेदवारी दिएका हौं।’ पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवार बनेकी विन्दु कोइराला निर्वाचित भएमा उनी संघको पहिलो महिला अध्यक्ष हुनेछिन्।
संघको अधिवेशन तयारी अन्तिम चरणमा पुगको अध्यक्ष दामु अधिकारीले बताए। अधिवेशनमा केही सीमित व्यवसायीलाई मात्र बोलाउने र उद्घाटन सत्र फेसबुक, युट्युब लगायत सामाजिक संजालबाट लाइभ गर्ने तयारी गरेको अधिकारीले बताए।
‘कोरोना महामारीमा धेरै भिडभाड गर्न भएन’, उनले भने, ‘हामी बन्द सत्र पनि जुम मार्फत चलाउँछौं।’ उनका अनुसार पोखरा उद्योग वाणिज्य संघमा अहिले ३ हजार २ सय जना साधारण सदस्य छन्।
अधिवेशनको दोस्रो दिन नया नेतृत्व चयनका लागि हुने निर्वाचनलाई पनि सुरक्षित बनाएको अध्यक्ष अधिकारीले बताए। ‘निर्वाचनका लागि पोखरा प्रदर्शनी केन्द्रमा ३ वटा बुथ बनाउँछौं’, उनले भने, ‘भौतिक दुरी कायम राखेर मतदान गर्न मिल्ने निर्वाचन तालिका बनाएका छौं।’