दैनिक १५ हजार जना आइपुग्ने न्यूरोड टेबहाल सडक हिजोआज पुरानै लयमा फर्किएको छ। सडक माथिमाथि रंगीन छाताहरू झुन्ड्याएपछि यहाँ हुन थालेको मान्छेको भिड अंग्रेजी नयाँ वर्षपछि साम्य भएको हो।
कोरोना महामारीपछि संकटा क्षेत्रको भित्री बजारमा व्यापार बढाउने उद्देश्यसहित टेबहाल सडकमाथि रंगीचंगी छाताहरू राखिएको थियो। मुख्य बजार न्यूरोडको छेवैमा रंगीविरंगी छाता र बाटो दखेपछि टिकटक बनाउने र फोटो खिच्नेको भिड लाग्यो।
टेबहाल सडकको नाम रातारात 'अम्ब्रेला स्ट्रिट' भयो। भाइरल रोड समेत भनिन थालिएको संकटा क्षेत्रको यो सडक घुम्न जोरपाटी, नारायणटार, कलंकीदेखि, साँगासम्मका मान्छे आउन थालेका थिए।
संकटा क्लबले गरेको यो कामको नतिजा भने सोचेजस्तो आएन। वडा कार्यालय र स्थानीय व्यापारीको सहयोगमा क्लबले व्यापारिक चहलपहल बढाउन रहर गरेर छाता राखेका थिए। तर व्यापारमै असर पर्नेगरी अनावश्यक भिड बढाउने माध्यम बन्यो। अहिले छाता हटाएपछि उनीहरूलाई राहत भएको छ।
'मानिसहरू आऊन्, व्यापार बढोस् भनेका थियौं। मान्छे त आए, व्यापार बढ्नुको साटो भिड बढ्यो। सवारीसाधन छिर्नै मुश्किल। साना-ठूला सबै व्यापारीलाई अप्ठ्यारो वातावरण सिर्जना भयो,' क्लबका सचिव आशिषमान सिंहले भने, 'भिड थाम्न सकिएन, त्यसैले अंग्रेजी नयाँ वर्षपछि छाता हटायौं।'
भिडकै कारण छाता राख्नुअगाडि नियमित आउने ग्राहक पनि कम भएको उनको भनाइ छ। व्यापारीले पनि होहल्ला र घुइँचोबाट राहत पाएको महसुस गरेका छन्।
छाता हटेपछि यहाँ इलेक्ट्रोनिक्स सामान व्यापार गर्दै आएका सत्यनारायण तिवारीलाई त 'कानमा तेल हाले झैं' भएको छ। ठेक्का वा अर्डरमा काम गर्ने उनी बाटोमा मान्छे हिँडेको भरमा आफ्नो व्यापार नहुने बताउँछन्।
'व्यापार मान्छे आएर बढ्ने, नआएर घट्ने होइन। इलेक्ट्रोनिक्स सामानको व्यापार नयाँ घर बन्दा मात्रै बढ्छ,' उनले भने, 'मान्छेको भिडले हैरान पारेको थियो। छाता राखेरै रहेछ। हिजोआज मलाई त शान्त भएको छ।'
रंगीन छातामुनि फोटो-भिडिओ खिच्न आउनेहरू भने अचेल निरश भएर फर्किनुपरेको छ। फोटो खिच्नै भनेर बालाजुबाट न्यूरोडसम्म आएका समिर श्रेष्ठ र उनका साथी छाता हटेकामा दुखी देखिन्थे।
बाँकी रहेका ३०–४० छातामुनि भए पनि फोटो लिँदै उनले भने, 'फोटो खिच्न भनेर आएको, छाता नै हटिसकेछ। अब यसैमा भए पनि खिच्नुपर्यो। यसै फर्किनु त भएन नि।'
यहाँ पहिले चार सय बढी छाता थिए। अहिले सडकका दुईतिर एक-एक लहरमा मात्रै राखिएको छ। यति छाता राख्दा समस्या नभएको र हेर्दा राम्रै देखिएकाले नझिकिएको क्लबले बताएको छ। साथै बाँयातिर राखिएका फूलका गमला पनि यथास्थानमै छन्।
संकटा क्षेत्रको बजार र व्यापार विस्तारै पुरानै लयमा आउन थालेकामा क्लबका सचिव सिंह सन्तोक मान्छन्।
'कोरोनापछिको अवस्थाजस्तो सुनसान छैन। न पहिलेजस्तो अचाक्ली भिड छ। यतिबेलाको चहलपहल सन्तोषजनक छ,' उनले भने, 'कामदारहरू व्यस्त भएकाले पहिले पूरै छाता झिक्न सकिएन। अहिले हेर्दा, दुई लाइन मात्रै राख्दा त्यति समस्या नहुने रहेछ।'
तीन लाख रूपैयाँभन्दा बढी खर्चेर हालिएका ती छाता अहिले स्टोरमा राखिएको सिंहले जानकारी दिए। साथै छाता राख्ने योजना र यसले सिर्जना गरेको उतारचढावले पाठ सिकाएको उनी बताउँछन्।
'छाता हाम्रो नौलो प्रयोग थियो। ठाउँ हेरी काम गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेका छौं। अब काम गर्दा अझै विचार पुर्याउने छौं,' आगामी योजनाबारे बताउँदै सिंह भन्छन्, 'अहिल्यै नयाँ योजना बनेको छैन तर केही न केही सिर्जनात्मक काम गर्नेछौं।'
क्लबले टेबहालकै बौद्ध स्तुपनजिकै आकर्षक ढंगमा पुराना टायर पुनः प्रयोग गरी सजाएको छ। रंगीन छातामुनि फोटो खिच्न आउनेहरू अचेल तिनै रंगीन टायरलाई पृष्ठभूमि बनाएर फोटो खिचिरहेका भेटिन्छन्।