बाराको सिमरामा सञ्चालन गर्ने भनिएको गार्मेन्ट प्रोसेसिङ जोन सुरु नभइ असफल भएको छ। सरकारले तयारी पोशाक उद्योगलाई सहजीकरण तथा प्रबर्द्धनका लागि सुरु गर्न खोजेको उक्त आयोजना असफल भएको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीहरु उद्योग राख्न तयार नभएको बताएको छ। उक्त क्षेत्रमा सबै उद्योगका लागि आयोजना खुला गर्ने निर्णय गरेसँगै गार्मेन्ट विशेष क्षेत्रका रुपमा सुरु गरिएको आयोजना असफल भएकोछ।
तयारी पोशाक उद्योगलाई एकै ठाउँमा ल्याएर त्यहाँबाट उत्पादन लागत न्यून बनाउने तथा निर्यातका लागि सहज हुने विश्वासका साथ यो आयोजना सुरु गरिएको थियो। तर, निजी क्षेत्र नै जान अनिच्छुक देखिएको सरकारी दाबी छ।
सेज प्राधिकरणका निर्देशक सुन्दर थापाले दर्ता गर्न आउन आफूहरुले सूचना जारी गर्दा कुनै पनि उद्योग नआएपछि गार्मेन्ट जोनको अवधारणलाई रद्ध गरिएको बताए।
'हामीले उद्योगलाई आउनका लागि आव्हान गरेका थियौं। त्यसमा उहाँहरुले रुची देखाउनु भएन। त्यसैले अब सबैका लागि खुला गरिएको छ', उनले भने।
निजी क्षेत्रले भने सरकारले आफूहरुको सरोकार सम्बोधन नगरेकोले नगएको बताएको छ।
नेपाल तयारी पोशाक संघका अध्यक्ष चन्डी अर्याल ले सरकारले उद्योगीका कुरै नसुनेको गुनासो गरे। ‘आफूले ल्याएकै नीति कार्यान्वयन हुनुपर्छ भन्ने सरकारको सोच भएकाले उद्योगीहरु जान तयार नभएका हुन्’, उनले भने।
उनकाअनुसार मुख्तया तीन कारणले उद्योगीहरु जान इच्छुक भएनन्। ती हुन्ः महंगो भाडा, पुरानो उद्योग सार्न नपाइने नियम, सहयोगी उद्योगलाई पनि राख्न नदिने नियम।
'हामीले विभिन्न मागहरु सरकारलाई राखेका थियौं। तर सेज प्राधिकरणले कुनै पनि सुनुवाइ गरेन। तयारी पोशाक उद्योगलाई प्रबर्द्धन गर्ने इच्छा नै उहाँहरुको देखिएन', उनले भने।
सरकारले उक्त क्षेत्रमा जाने उद्योगले नयाँ उद्योग लगाउनुपर्ने भनेको थियो। उद्योगीहरुले भने पहिलेकै उद्योग तथा मेसिनले काम नगरिरहेको अवस्थामा नयाँ मेसिन खरिद गर्नु कुनै पनि उद्योगीको रोजाइ नहुने बताउँदै आएका थिए।
सेज प्राधिकरणले सेजको अवधारणा नै नयाँ लगानी तथा उद्योग आकर्षित गर्ने भएको भन्दै पुरा उद्योग स्थानान्तरण गर्न नदिने व्यवस्था गरेको छ।
त्यस्तै प्राधिकरणले ल्याएको अर्को नीति थियो, गार्मेन्ट प्रोसेसिङ जोनमा तयारी पोशाकका उद्योगमात्र खुल्ने। जसमा टाँगदेखि रंग भर्नेजस्ता उद्योग तथा सेवाहरु खोल्नका लागि अनुमति दिइएको थिएन।
'त्यहाँ कुनै पनि उद्योगी कपडामात्र सिलाएर कसरी सस्टेन हुनसक्छ? सरकारमा बस्ने मान्छेको यति विचार थिएन कि? तयारी पोशाक उद्योग भनेको कपडामा रंग भर्ने पनि हो भनेर। तर उहाँहरु आफ्नै अडानमा रहनुभयो',अर्यालले सेतोपाटीसँग भने।
करिब दशक पहिले नेपालबाट धेरै निर्यात हुने तयारी पोशाक पछिल्लो समय खस्किएको छ। अहिले नेपालबाट उच्च निर्यात हुने पाँच वस्तुमा पर्ने तयारी पोशाक उद्योगको प्रबर्द्धनमा सरकारको चासो नभएको उद्योगीहरुको आरोप छ।
उद्योग सञ्चालनका लागि वा खारेज गर्दा पनि आफूहरुसँग एक बचन सल्ला नगर्नुले सरकारको नियमत प्रष्ट भएको अर्यालको भनाइ छ।
सेज प्राधिकरणका अधिकारीहरु भने पछिल्लो समय तयारी पोशाकको व्यापार राम्रो नभएकाले सरकारले अन्य आर्थिक क्षेत्रकै मोडालिटीमा चलाउन खोजेको बताउँदै आएका छन्।
'अहिलेको समयमा तयारी पोशाकको व्यापार त्यति धेरै राम्रो छैन। यसका लागि कमन सेजको अवधारणा (दुवै उद्योग राख्न मिल्ने)मा जाँदा फाइदा पनि हुन्छ होला', प्राधिकरणका निर्देशक थापाले भने।'