विगत ८ वर्षदेखि सञ्चालित 'ट्रेड संसार'को व्यवसाय कोरोना महामारीका कारण खस्कियो। यसले ग्राहकलाई विभिन्न सामग्री उपलब्ध तथा वितरण सेवा पुर्याउँदै आएको छ।
प्रिन्टिङ सेवाबाट भर्खरै गार्मेन्ट व्यवसायमा होमिएको ट्रेड संसारको नयाँ मेसिन र जनशक्ति बढाउने सोच थियो। तर महामारीका कारण योजना खलबलियो। लकडाउनले काम झनै शून्य रह्यो।
'लकडाउन खुलेसँगै धेरथोर काम सुरू भयो। तर सोचे झैं मेसिन थप्ने, जनशक्ति बढाउने आँट आएन। ऋण लिएर योजना अघि बढाउने सोचै थिएन,' ट्रेड संसारका प्रमुख कार्यकारी अधिकृत सञ्जु रायमाझीले भने।
यस्तैमा नबिल बैंक र अनलाइन बजार दराजको संयुक्त रूपमा 'सारथी' कार्यक्रम सुरू भएको सञ्जुले चाल पाए। सो साझेदारीअन्तर्गत दराज अनलाइन सपिङ बजारमार्फत व्यापार गर्ने साना तथा मझौला उद्यमले नबिल बैंकबाट सहुलियत दरमा विभिन्न कर्जा सुविधा उपयोग गर्न सक्ने भनिएको छ।
ट्रेड संसारले सन् २०१८ मध्यबाट दराजमार्फत सामग्री बिक्री गर्दै आएको छ। सोही वर्षदेखि ट्रेड संसार गार्मेन्ट व्यवसायमा सक्रिय भएको हो। यहाँबाट सर्ट, टि-सर्ट, ज्याकेट लगायत लुगा बनाइन्छ। सन् २०११ बाटै अनलाइन व्यवसाय सुरू गरेको ट्रेड संसारले झन्डै ६ वर्ष प्रिन्टिङको काम गर्यो जसअन्तर्गत कप प्रिन्ट, सामग्रीतिर प्रिन्ट गर्थ्यो। अहिले प्रिन्टिङको काम अन्य विक्रेतासँगको सहकार्यमा भइरहेको सञ्जुले बताए।
'दराजसँग सहकार्यमा काम हुँदै थियो। सारथीबारे सुनेपछि हाम्रो व्यवसाय उँभो लगाउन ऋण लिने सोचेँ। भनिएको प्रक्रियाहरू पूरा गरेँ,' सञ्जु भन्छन्, 'र अन्ततः सहुलियत ब्याजदरमा हामीले सबभन्दा पहिले ऋण पायौं।'
कर्जा लिएसँगै उनीहरूले नयाँ मेसिन थपेका छन्। पहिले ५ जना कर्मचारी थिए, अहिले १२ जना पुर्याएका छन्।
'कर्मचारीहरूलाई तलब दिन पहिलेजस्तो गाह्रो छैन। कामको गति पनि बढेको छ,' सञ्जुले कर्जा लिएपछि भएको सहजतामा भने, 'ट्रेड संसारले वार्षिक ७ प्रतिशत दरले ब्याज लिएको हो। अरू ऋणले डुबे भन्छन्, मेरो कायापलट भयो।'
ट्रेड संसारले जस्तै ‘रूरू टिसर्ट', 'बालकुमारी प्रा.लि. ट्रेडर्स', 'गाउँघर अर्गानिक स्टोर'लगायत कम्पनी एवम् संस्था पनि सारथी योजनामार्फत ऋण लिने प्रक्रियामा छन्। यस योजनाअन्तर्गत कुनै पनि साना तथा मझौला उद्यमहरू (स्मल एन्ड मिडियम साइज्ड इन्टरप्राइजेज- एसएमई) ले ५ देखि ७ वर्षसम्मका लागि ऋण लिनसक्ने नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज बस्नेतले बताए।
'सारथी अन्तर्गतको सबै ऋण व्यावसायिक ऋण हुन्। यो बर्सेनि नवीकरण गर्नुपर्छ,' बस्नेतले भने। एसएमई तथा लघुवित्त प्रमुख बस्नेतका अनुसार पहिलो चरणमा उनीहरूले झन्डै सय उद्यम र कम्पनीसँग कुरा गरे। जसमध्ये दस कम्पनीले ऋण प्राप्त गरिसकेका छन् र बीस कम्पनीको प्रक्रिया चलिरहेको छ। योजनाअन्तर्गत एक करोड रूपैयाँसम्मको एसएमई कर्जा लिन सक्नेछन्।
महामारीका कारण आइपरेको आर्थिक संकटले साना तथा मझौला उद्यममा गम्भीर प्रभाव पारेको छ। यस्तोमा सारथी योजनाद्वारा दराजमा सक्रिय विक्रेतालाई ऋण उपलब्ध गराएर उनीहरूको व्यवसायमा स्थिरता ल्याउन मद्दत पुर्याउने लक्ष्य बैंक र दराजले राखेको छ।
सारथी कार्यक्रम साना तथा मझौला उद्यमको योग्यतामा आधारित हुन्। दराजमा बिक्रेताको कारोबार अनुसार तीन श्रेणीमा बैंकले कर्जा उपलब्ध गराउनेछ।
'यसरी अनलाइन व्यवसायहरूसँग जोडेर बैंकलाई पनि अर्ध-डिजिटल हिसाबमा अघि बढाउँदैछौं,' बस्नेत भन्छन्, 'बैंकिङ भनेको भौतिक उपस्थितिमा मात्र हुने होइन। यो ढंगले हामी दिगो हिसाबले बैंकिङ सेवा पुर्याउन सक्छौं।'
दराजसँगको सहकार्यमा यो योजना ल्याउनुको अर्को पनि कारण भएको उनी बताउँछन्, 'ऋण भन्नेबित्तिकै धेरै ब्याजदरमा पैसा चलाउने भन्ने बुझ्न थालियो। व्यवसायका लागि एकअर्कासँग सापटीमा पैसा चलाइरहेका देख्छौं। तर सहुलियत ब्याजदरमा ढुक्क भएर ऋण लिन सकिन्छ भन्ने अहिलेको व्यावसायिक मनसाय भएका नयाँ जमातलाई बुझाउन जरुरी छ। दिगो व्यापारको लागि कर्जा लिनु राम्रो हो।'
बस्नेतका अनुसार यो वित्तीय पहुँच र व्यवसायिक विस्तारका लागि समेत उचित साबित हुन सक्छ।
सारथीका निम्ति नबिल बैंकका उप-प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र दराज नेपालका प्रबन्धक निर्देशक लिनो अलरिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
'यो कार्यक्रम नेपालमा डिजिटल बजार विकासका लागि निकै महत्वपूर्ण हुनेछ। हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईलाई विभिन्न लगानी कार्यक्रममार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पुर्याउनु हो,' नबिल बैंकका उप-प्रमुख कार्यकारी अधिकृत शाक्यले भने।
यसैबारे दराजका प्रबन्ध निर्देशक लिनो भन्छन्, 'यो नेपालमै पहिलो क्रेडिट स्कोरिङमा आधारित एक नौलो समाधान हो।'
लामो समयदेखि उक्त विषयमा छलफल भइरहेको तर कोरोना महामारीपछि साना-मझौला उद्यममा परेको प्रभावलाई ध्यानमा राख्दै कार्यक्रम सुरू गरेको उनीहरूको भनाइ छ।
सारथी कार्यक्रम अन्तर्गत साना-मझौला बिक्रेताले निम्न फाइदा पाउन सक्ने बैंकले जनाएको छः
- पूर्ण कागजात पेश गरेको ७२ घण्टामै कर्जाको निर्णय
- न्यून ब्याजदर
- ऋण प्रशासनिक शुल्कमा छुट (दराजमा बिक्रेताको कारोबार अनुसार)
- विभिन्न एसएमई आवश्यकता पूरा गर्न बनाएको विशेष प्रकारका कर्जाहरू।
यो योजना अन्तर्गत ऋण लिएका ट्रेड संसारका प्रमुख कार्यकारी अधिकृत सञ्जु अहिले व्यवसाय अगाडि बढ्नेमा ढुक्क सुनिन्छन्। महामारीका कारण व्यापार धरापमा परेका बेला उकास्न सहुलियत ऋण सहयोगी भएको उनो भनाइ छ।