नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनमा चिनीको मौज्दात सकिँदै गएको छ। आयातका लागि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि मौज्दात सकिँदै गएको हो।
कर्पोरेशनसँग हाल १ हजार टन चिनी मौज्दात रहेको कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए।
‘दशैं अघिदेखि हामीले अर्थमा ३० हजार टन चिनी आयातका लागि निवेदन दिएको हालसम्म स्वीकृति दिएको छैन,’ उनले सेतोपाटीसँग भने।
मौज्दात रहेको चिनी बजारको मागअनुसार कहिले सकिन्छ भन्ने थाहा नभएको उनको भनाइ छ।
उनकाअनुसार कर्पोरेशनले दशैंअघि नै ५० हजार टन चिनी आयात गर्न अर्थसँग स्वीकृत मागेको थियो।
अर्थले सो समयमा २० हजार टन चिनी ल्याउन स्वीकृति दिएको थियो। कर्पोरेशनले त्यही चिनी अहिलेसम्म बेच्दै आएको छ।
कर्पोरेशनले चिनी, रासायनिक मल, नुन, ग्यास लगायतका खाद्य वस्तु बिक्री वितरण गर्दै आएको छ।