विदेशी पर्यटकलाई नेपाल आउन सरकारले अझै सजिलो बनाउने भएको छ।
चार महिनाअघि नै अन्तर्राष्ट्रिय उडान खुला भए पनि विदेशीलाई नेपाल प्रवेशका लागि कडाइ कायमै राखिएको थियो। तर पछिल्लो समय विश्वभर खोप लगाउने काम भइरहेको र अरू देशमा पनि विदेशीलाई स्वागत गर्न थालिएको भन्दै सरकारले नेपालमा पनि खुकुलो नीति ल्याउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशीलाई नेपाल प्रवेश गर्न सहज बनाउने तयारी गरिरहेको छ। विदेशीका लागि नेपालमा अनअराइभल भिसा खोल्ने, क्वारेन्टिन बस्नैपर्ने नीतिमा परिवर्तन गर्ने तथा भ्याक्सिन सर्टिफिकेटलाई विशेष प्राथमिकता दिनेगरी प्रोटोकल बनाउन लागिएको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिए।
पछिल्लो समय देशभित्रै पनि ठूला सभा सम्मेलन तथा आन्दोलन भइरहेको, क्रमशः जनजीवन सामन्य हुँदै गएकाले विदेशी पर्यटकका लागि मात्र कडाइ गर्दा व्यवसाय चौपट हुने तथा श्रमिकको बिचल्ली हुने भन्दै खुकुलो बनाउन खोजिएको मन्त्रालयले प्रष्ट पारेको छ।
अहिले कुनै विदेशी पर्यटक नेपाल आउन ७२ घण्टा अघिको पिसिआर नेगेटिभ रिपोर्ट चाहिन्छ र नेपाल आएर सात दिन क्वारेन्टिन बस्नुपर्छ। त्यसपछि नेपालमा परीक्षण गरेर नेगेटिभ देखिएपछिमात्र सीमित क्षेत्रमा घुम्न जान पाउने व्यवस्था छ।
यो नीति परिवर्तन गर्दै मन्त्रालयले कोरोना भाइरसविरूद्ध खोप लगाएको प्रमाण भएका कुनै पनि विदेशीलाई नेपाल आएर क्वारेन्टिन नबसी घुम्न दिने प्रस्ताव मन्त्रिपरिषदमा लिने तयारी गरेको छ।
'हामीले भ्याक्सिन सर्टिफिकेट भएका विदेशीलाई क्वारेन्टिन नबसे पनि हुने प्रस्ताव लिँदैछौं। मन्त्रिपरिषदबाट निर्णय भएपछि यो नियम लागू हुन्छ,' मन्त्री ढकालले भने।
त्यस्तै ७२ घण्टा अघिको पिसिआर नेगेटिभ रिपोर्ट भएको कुनै पनि विदेशी पर्यटन नेपाल आएर परीक्षण गरेमा फेरि नेगेटिभ आएपछि क्वारेन्टिन नबसी घुम्न पाउने प्रस्ताव पनि लिन लागिएको उनको भनाइ छ।
छिमेकी मुलुक चीन तथा भारतमा ठूलो संख्यामा एकैपटक भ्याक्सिन लगाउने कार्यक्रम चलिरहेकाले नेपालले पर्यटकलाई खुकुलो गरेपछि पर्यटक बढ्ने मन्त्री ढकालको विश्वास छ।
यसअघि नेपाल पर्यटन बोर्डले पर्यटकका लागि बनाइएको प्रोटोकल परिमार्जन गर्न मन्त्रालयलाई सुझाव दिएको थियो।
उत्साहित व्यवसायी
विदेशी पर्यटकलाई नेपाल प्रवेश सम्बन्धि प्रोटोकल खुकुलो बनाउने सरकारी कदमबाट पर्यटन व्यवसायी उत्साहित भएका छन्। आफूहरुले विगत लामो समयदेखि राख्दै आएको माग सरकारले सुनुवाइ गर्न लागेको भन्दै उनीहरूले स्वागत गरेका छन्।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा)का निवर्तमान अध्यक्ष सिएन पाण्डेले सरकारी कदम स्वागतयोग्य भएको बताए।
'यो हामीले लामो समयदेखि माग गर्दै आएका थियौं। अब सरकारले औपचारिक निर्णय गरेपछि नेपालको पर्यटन पुनरागमन हुनसक्छ' उनले भने।
पछिल्लो समय खोलिएका गन्तव्यहरुमा पर्यटकको आगमन बढेकाले नेपालमा पनि खुलेपछि आवागमन बढ्ने उनको विश्वास छ। पछिल्लो समय भारतीय नागरिकका लागि खुकुलो भएसँगै काठमाडौं, पोखरा र चितवनका होटलको सञ्चालन क्षमता बढ्दै गएको उनको भनाइ छ।
'कोरोनापछि प्रोटोकल बनाएर खोलिएका देशहरु माल्दिभ्स, श्रीलंका जस्ता देशमा पर्यटक आगमन बढिरहेको छ। व्यवसाय राम्रो हुँदै गएको छ। नेपालमै पनि पछिल्लो समय भारतीयहरु आउन थालेपछि केही राम्रो हुँदै गएको छ। त्यसैले अब खोल्न ढिला गर्न हुँदैन', पाण्डेले भने।
कुटनीतिक पहल गरेर विशेषगरी छिमेकी मुलुकसँग उनीहरुका नागरिकलाई नेपाल आउन खुकुलो बनाइदिने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ।