संसारभर कार रेन्टल (भाडामा) सेवा दिँदै आएको कम्पनी 'सिक्स्ट' को सेवा नेपालमा बन्द भएको छ। जर्मन बहुराष्ट्रिय कम्पनी सिक्स्टको फ्रेन्चाइजी ल्याएर नेपालमा सेवा सञ्चालन गर्दै आएको नाइन नेपाल प्रालिले सिक्स्टको सेवा बन्द गरेको हो।
कोरोना महामारी सुरू भएपछि सेवा नचलेको र ऋण तथा सहुलित नपाएका कारण सेवा बन्द भएको नाइन नेपालका प्रबन्ध निर्देशक रवीचन्द्र सिंहले सेतोपाटीलाई जानकारी दिए।
सन् २००९ देखि सिक्स्टको फ्रेन्चाइजी ल्याएर नेपालमा सेवा सुरू भएको थियो। सुरूका सात वर्ष खासै मुनाफामा नरहेको यो सेवा पछिल्ला चार वर्षदेखि राम्रैसँग चलेको थियो।
'सोचेजस्तो व्यापार हुन नसके पनि कम्पनी आफ्नो सञ्चालनका लागि योग्य हुँदै गएको थियो। तर कोरोना महामारीले व्यापार ठप्प पारिदियो। अब भने हामीले थेग्न नसक्ने भयौं,' सिंहले भने, 'आम्दानी बिनाको कम्पनीलाई ऋण मात्र लिएर चलाउन नसक्ने निष्कर्षमा पुगेपछि हामीले सेवा बन्द गरेका हौं।'
कोरोनापछि सरकारले बजेटबाट घोषणा गरेको सहुलियत तथा मौद्रिक नीतिले दिएका सुविधाका लागि प्रयास गरे पनि आफूहरूले नपाएको उनको भनाइ छ। अनि सेवा निरन्तरता दिनुभन्दा बन्द गर्नेतिर आफूहरू अघि बढेको उनले बताए।
कम्पनीसँग हाल २२ वटा आफ्नै गाडी छन्। सेवा सञ्चालनमा रहँदा भने कम्पनीले मागका आधारमा भाडामा लिएर सेवा दिँदै आएको थियो।
निजी रूपमा कार भाडामा दिने यो कम्पनीले विदेशी पर्यटकका लागि सेवा लक्षित गरेको थियो। नेपाल आएका विदेशी पर्यटक तथा पाहुना, निजी व्यावसायिक प्रतिष्ठान र सेवा लिन चाहने जो कोही स्थानीयलाई लक्षित गरी यसको सेवा सुरू भएको थियो।
नाइन नेपालले सिक्स्टको नामबाट नेपालमा सेवा दिन विभिन्न चल्तीका ब्रान्ड र मूल्यका कार किनेको थियो।
विमानस्थलमा पहुँच नपाइ बन्द भयो सिक्स्टः
विदेशी पर्यटकलाई सेवा दिने मख्य लक्ष्य कम्पनीको थियो। कम्पनीका प्रबन्ध निर्देशक सिंहकाअनुसार यसरी मुख्य लक्ष्य राख्दा व्यवसाय फस्टाउने दुई सम्भावना थिए।
'पहिलो यसको ग्लोबल प्यासेन्जर नेटवर्क थियो/छ। जसबाट संसारका अन्य देशमा यसको सेवा लिइरहेका पर्यटकले नेपालमा पनि सेवा लिनसक्ने थिए। दोस्रो, यसका आफ्नै ग्राहक हुन्छन् जसले संसारभर यसको सेवा लिँदा पाएका विभिन्न सुविधा तथा विश्वासनीयताका कारण नेपालमा पनि चल्छ भन्ने हाम्रो विश्वास थियो,' सिंहले भने।
तर व्यवसाय ठिकठाक मात्र चल्यो, सिंहको विश्वास वास्तविकतामा परिणत हुन पाएन। यसको प्रमुख कारण पर्यटकीय सेवाको मुख्यद्वार विमानस्थलभित्र यो सेवाले पहुँच नै नपाउनू भएको उनले बताए।
'हामीले विगत १२ वर्षमा त्यही प्रयास गर्यौं। हामीलाई यात्रु ल्याउन र छोड्न विमानस्थलको पहुँच मागिरह्यौं। हाम्रो कुरा कसैले सुनेन। एउटा प्रमुख सेग्मेन्टका विदेशी यात्रु हामीले गुमायौं,' सिंहले गुनासो पोखे।
विमानस्थलमा रहेको ट्याक्सी व्यवसायीको सिन्डिकेट तोड्न असफल भएको सिंहको अनुभव छ।
'हामीले व्यापारको मुख्य केन्द्र नै विमानस्थल बनाउन खोजेका थियौं। संसारको जुनसुकै ठाउँबाट पनि बुकिङ गरेर आउन सकिने यसको सुविधा थियो। तर हामीलाई त्यहाँ जानै दिइएन,' उनले भने।
एउटा ग्लोबल ब्रान्डको नेपाली बजारबाट बहिर्गमन भएको छ। भविष्यमा अरू कम्पनीले फेरि फ्रेन्चाइजी ल्याउनसक्ने सम्भावना भने कायमै छ। तर ग्लोबल नेटवर्क भएका सेवा बन्द हुनु त्यति राम्रो नभएको सिंहको बुझाइ छ।
'हामीले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत अहिलेसम्म पर्यटनलाई मान्दै आएका छौं। पर्यटनका लागि यस्ता ग्लोबल चेन भएका सेवा बढीभन्दा बढी चाहिन्छन्,' उनले भने, 'यसले संसारभर नेपालको विश्वासनीयता बढ्छ। तर दु:खको कुरा सरकारले ख्यालै गर्दैन।'
महामारीका कारण कयौं कम्पनी तथा सेवा संसारभर विस्थापित भइरहेका छन्। नेपालमा पनि नाम चलेका र नचलेका व्यवसाय विस्थापित भए। सरकारले विस्थापनबाट बचाउन सहुलियत तथा राहत घोषणा गरे पनि त्यसको उपयुक्त कार्यान्वयन हुन सकेको छैन।