जमिनभन्दा करिब डेढ मिटर माथि सिमेन्टको वाल लगाइएको छ। त्यसको वरिपरि हरियो जालीले बेरिएको छ। छानो प्लाष्टिकको छ।
त्यसभित्र छ वटा पानी ट्याङ्की बनाइएका छन्: १४ घनमिटरका चार वटा र ७ घनमिटरको थप दुइटा। ती सबै पोखरीका बीचमा मानिस ओहोर-दोहोर गर्न मिल्ने बाटो छ।
मोटर चलिरहेका छन्। पोखरीमा पानीको फोहरा उठिरहेका छन्। फोहोराले पोखरी आकर्षक देखिन्छ। त्यहाँ घरिघरि पानीको तापक्रम मापन हुन्छ।
यो दृष्य दाङको घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित एक माछा पोखरीको हो। यहाँ जमिनमुनि हैन, जमिन माथि सिमेन्टको पोखरी बनाएर माछा पालिएको छ। यसरी माछा पाल्ने प्रविधिलाई बायोफ्लक (जमिन नबिगारी गरिने माछा पालन) भनिन्छ।
१४ घनमिटरका पोखरीमा दुई हजारका दरले र ७ घन मिटरको पोखरीमा एक हजारका दरले माछाका भूरा राखिएको छ। ती भुरा राम्रैसँग हुर्किरहेका छन्।
डाइनामिक मल्टी बिजनेस दाङ प्रालिका अध्यक्ष मोहन केसीका अनुसार यो प्रविधिबाट जिल्लामै पहिलो माछा पालन गरिएको हो।
यो इन्डोनेसियामा लोकप्रिय प्रविधि हो। छिमेकी भारतमा पनि यही प्रविधिमा माछा पालन भइरहेको छ। पछिल्लो समय चितवनमा पनि एक जनाले नयाँ प्रविधिबाट माछा पालन सुरू गरेका छन्।
केसीका अनुसार यो विधिबाट एक वर्षमा तीन पटकसम्म माछा पाल्न सकिन्छ। बढी चिसो हुने हुँदा मंसिर, पुस र माघ माछाको लागि अफ सिजन मानिन्छ। त्यसैले पोखरीभित्र मोटर चलाइरहनु पर्छ। पोखरीमा राखिएका फ्लक स्टोनबाट पानीका फोहरा (फोका) निस्किरहन्छन्। त्यसले पानीमा भएको एमोनियालाई अक्सिजन दिने र पानीमा अक्सिजन पुर्याउन मद्दत गर्छ।
त्यही फ्लक माछाले खाने गर्छ। पानीमा एमोनिया बढेपछि माछा मर्छन्। यो प्रविधिबाट माछा पाल्दा ७० प्रतिशतमात्रै दाना दिए पुग्ने अध्यक्ष केसीले बताए।
'थप ३० प्रतिशत खाना अक्सिजनका कारण हरित वनस्पति पानीमै विकास भएर त्यही माछाको लागि खाना हुन्छ,' केसीले भने।
यी पोखरीमा गत मंसिरमा मात्रै माछा राखिएको हो। कम तापक्रम हुने हुँदा यो सिजनमा माछाले खाना पनि कम खाने र यसको वृद्धि विकास पनि अपेक्षाकृत रूपमा हुँदैन।
अहिले नैनी र रहु जातको माछा पोखरीमा हालेको र फागुनमा पंगास जातको माछा पनि राख्ने केसीले सुनाए। पंगास जातको माछा छिटो हुर्किने र छिटो बिक्री गर्न मिल्ने माछा हो।
सिमेन्ट पोखरीमा सबै जातको माछा पाल्न सकिने भए पनि कालो जातको पंगास माछा पाल्न झनै राम्रो मानिने अध्यक्ष केसीले दाबी गरे। कालो जातका माछाले पानीभन्दा बाहिरबाट पनि अक्सिजन लिने हुँदा त्यो बढी सफल हुने ठानिन्छ।
‘हामीले यहाँ परीक्षणका लागि सबैभन्दा अप्ठेरो जातको मानिने माछाबाट सुरू गरेका छौं,’केसीले भने ‘ यो सफल भयो र हामी पंगासमा गयौं भने झनै सफल हुनेमा ढुक्क छौं।’
पंगास जातको माछा ल्याउन भारत नै पुग्नुपर्छ।
‘जिल्लामा पहिलो पटक भित्र्याएको प्रविधि सफल भयो भने त अब हामीले मात्रै हैन, हरेक मानिसले आफ्नो घरको छतमा पनि माछा पाल्न सक्नेछन्,’ केसीले भने।
पालेको माछा चैतको अन्तिम वा वैशाखसम्म बिक्रीका लागि तयार हुने उनको अनुमान छ।
‘हामी हालसम्म सफल नै छौं,’ केसीले भने, ‘यो अफ सिजन, जाडो सिजनमा पनि हामीले पोखरी भित्रको टेम्प्रेचर मेन्टेन गर्न सफल भएका छौं।’
माघको जाडोमा बाहिरको तापक्रम ५ डिग्री सेल्सियसमात्रै हुँदा पनि पोखरीभित्रको तापक्रम १४ डिग्री नघटेको उनले बताए।
अध्यक्ष केसीका अनुसार तापक्रम ११ डिग्रीभन्दा तल झरे माछा मर्न थाल्छन्। २० डिग्री भन्दा माथि तापक्रम भएमा मात्रै माछाको वृद्धि विकास राम्रोसँग हुन्छ।
चिया गफमा जन्मिएको प्रालि
डाइनामिक मल्टी बिजनेसका अध्यक्ष केसीका अनुसार प्रालिमा अहिले ३० जना शेयर सदस्य छन्। उनीहरू विभिन्न पेशा व्यवसायमा संलग्न छन्। कोही सरकारी जागिरे, कोही सहकारी, कोही व्यापारी र कोही बैंकमा काम गरिरहेकाहरू मिलेर प्रालि जन्माएका हुन। उनीहरू सबै प्युठानबाट दाङ बसाइँ सरेर आएका हुन्।
‘प्युठानीहरूले केही गरेका छन् है भनेर देखाउने सोचले हामीले सुरुवात गरेका हौं,’ केसीले भने, ‘अहिले ३० जना सदस्य छौं र भविष्यमा हामी जुन ठाउँमा यो बिजनेस लानेछौं, त्यही ठाउँका मानिसलाई पनि शेयर सदस्य बनाउने सोचाइ छ।’
केही फाइदा त्यस्ता नयाँ शेयर सदस्यलाई दिने र केही कम्पनी व्यवस्थापनकै लागि छुट्याउने गरी साविक राप्तीका ५ जिल्लामा प्रालि विस्तार गर्ने योजना रहेको अध्यक्ष केसीले बताए।
चिया खाने क्रममा गफैगफमा यो प्रालिको अवधारणा विकास भएको केसीले बताए।
प्युठानबाट बसाइँ सरेर दाङमा झरेका व्यक्ति आपसमा चिया खाँदा भेट हुँदा केही गर्ने उद्देश्यले सुरूमा दुई जना बीचमा कुरा चल्यो। त्यसपछि समूह बन्यो। पैसा संकलन हुन थाल्यो।
अलिअलि रकम जम्मा हुन थालेपछि उनीहरूका व्यापार गर्ने सोच पलायो। व्यापार अध्ययन गर्ने उद्देश्यले समूहका ४-५ जना साथी कपिलवस्तु, रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, चितवनलगायत विभिन्न ठाउँमा पुगे। त्यसरी भ्रमण गर्नुपूर्व उनीहरूले सुरूमा व्यवसायिक रूपमा कालिज पाल्ने सोच बनाएर निस्किएका थिए।
ती ठाउँ घुमेर आएपछि बिजनेस गर्ने खाका उनीहरूले तयार पारे। त्यसै क्रममा उनीहरूले भारतमा पालिएको बायोफ्लक (जमिन नबिगारी गरिने माछा पालन) माछा पालनबारे युट्युब हेरे।
त्यसरी माछा पाल्दा के हुन्छ? भनेर छलफल गरे।
फेरि साथीहरू मिलेर पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली कञ्चनपुर र डडेल्धुरासम्मको भ्रमण गरे। त्यहाँको व्यापारको सम्भाव्यता अध्ययन गरे। भारतको उत्तर प्रदेशस्थित बारबंकीमा पुगे। त्यहाँका माछा फर्म हेरे। त्यसपछि उनीहरू बायोफ्लक प्रविधिबाट माछा पाल्ने निर्णयमा पुगे।
उनीहरू चितवन गए र बायोफ्लक प्रविधिबाट गरिएको माछा पालन हेरे। माछा पाल्न आवश्यक सामान के-के हुन र कहाँ पाइन्छन् भनेर सोधि खोजी गरे। नेपालगञ्ज, भैरहवामा ती सामानबारे खोजी गरे। कतै पाएनन्।
पसलमा नभेटिएपछि अनलाइन सपिङमार्फत् मगाए। ‘दराज’ले ती सामान बाहिरी देशबाट ल्याइदियो।
बट्टाईदेखि राँगा पालनसम्म
केसीको समूहले झन्डै तीन बिगाहा जग्गामा व्यवसाय थालेको छ। मध्य भागमा ६ सय बोट सुन कागती रोपेका छन्। गत असारमा कागती रोपिएका हुन। अर्कोतर्फ कागतीको नर्सरी पनि तयार पारिएको छ।
दुई सयभन्दा बढी झापाली मालभोग केरा रोपेका छन्। गत साल उनीहरूले केरामा राख्न ९० हजारको मल किनेका थिए। अब उनीहरू बिरुवालाई चाहिने मलका लागि राँगा पालिरहेका छन्।
हाल दश वटा राँगा छन्। अरू दश वटा राँगा पाल्न गोठ तयार हुँदै छ। फागुनमा थप दश वटा राँगा थप्ने योजना रहेको केसीले बताए। भविष्यमा राँगाको संख्या ५० पुर्याउने उनीहरूको लक्ष्य छ।
उनीहरूले ती राँगाका लागि दूधे जातको उच्च प्रोटिन युक्त घाँस पनि रोपेका छन्। केही जग्गामा आलु र मकै खेती पनि गरेका छन्। यसअघि उनले त्यो आसपासको जग्गामा मकै फलाएर बिक्री गरिसकेको अध्यक्ष केसीले जानकारी दिए।
साढे ३ सय बढी बट्टाई पनि पालिएको छ। हाल प्यारेन्ट बट्टाई मात्रै पालिरहेका उनीहरूले त्यहाँ ह्याचिङ मात्रै गर्ने र उत्पादित बट्टाईका बच्चा बाहिर लगेर पाल्ने योजना बनाएका छन्।
फाट्टफुट्ट रूपमा बट्टाई पनि बेचिरहेका छन्। बट्टाईको अण्डा गोटाको ७ रुपैयाँ र जोडी बट्टाईको साढे तीन सयमा बेचिरहेको केसीले बताए।
एक सय बढी प्यारेन्ट हाँस पनि पालेका छन्। ती पनि अण्डा र बच्चा उत्पादन गर्ने उद्देश्यले पालिएको हुन्।
लोकल कुखुरा पाल्ने तयारीका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ। कड्कनाथ कुखुरा पाल्ने योजना रहेको अध्यक्ष केसीले जानकारी दिए।
जाडोमा कुखुरा नहालेको र अब फागुनमा खोरमा कुखुरा हाल्ने तयारी भइरहेको उनले बताए। त्यसका लागि बाँकेको खजुरामा कुखुरा विकास फर्ममा कडकनाथ कुखुरा बुक गरिसकेको केसीले जानकारी दिए।
झन्डै ३ बिगाहा जग्गा वार्षिक प्रतिकठ्ठा ३ हजार ५ सय रुपैयाँ दरले दश वर्षका लागि भाडामा लिएका छन्। ३० जना मिलेर एक करोड लागतमा प्रालि सञ्चालनमा आएको अध्यक्ष केसीले जानकारी दिए।
‘आसपासका जग्गा धनीहरूसँग पनि कुरा भइरहेको छ,’ अध्यक्ष केसीले भने ‘हामी दाङको अन्य ठाउँमा पनि यो विस्तार गर्ने छौं।’
यो ठाउँलाई उत्पादन केन्द्रको रूपमा विकास गर्ने र यहाँ उत्पादित कुनै पनि वस्तु बाहिर राखेर व्यवस्थापन र विस्तार गर्ने योजना उनीहरूको छ।
सबै तस्बिर : नारायण खड्का/सेतोपाटी।