अमेरिकी अर्बपति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट राजीनामा दिने बताएका छन्।
अमेजनका अनुसार बेजोस आउने जुलाई १ देखि कम्पनीको कार्यकारी अध्यक्षको भूमिकामा हुनेछन्। अहिले अमेजन वेब सर्भिसका प्रमुख एन्डी ज्यासी नयाँ सिइओ बन्ने भएका छन्।
सिइओ छोडेपछि आफू डे १ फन्ड, द बेजोस अर्थ फन्ड, ब्लु ओर्जिन, द वासिङ्टन टाइम्स र रूचीका अन्य विषयमा केन्द्रीत हुने बेजोसले कर्मचारीहरूलाई दिएको मेमोमा उल्लेख गरिएको छ।
बेजोसले २७ वर्षअघि अमेजन कम्पनी खोलेका थिए। अहिले अमेजनको बजार मूल्य १७ खर्ब डलर पुगेको छ।
मंगलबारमात्रै अमेजनले गत वर्षको आफ्नो आम्दानी घोषणा गरेको थियो। सन् २०२० मा अमेजनले अघिल्लो वर्षको भन्दा ३८ प्रतिशत बढी व्यापार गरेको छ भने २१ अर्ब डलर आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो झन्डै दोब्बर हो।
बेजोसले सिइओ छोड्ने भनेपछि पनि अमेजनको सेयरमा गिरावट आएको छैन।
सिइओ छोडेपछि बजोस अमेजनको व्यापारमा कसरी संलग्न भइरहन्छन् भन्ने हेर्न बाँकी छ। यसअघि ओराकलका ल्यारी एलिसन र माइक्रोसफ्टका बिल गेट्सले सिइओ छोडे पनि कम्पनीमा भने संलग्न भइरहेका थिए।
सिइओ छोडे पनि बेजोस अमेजनका सबैभन्दा ठूला सेयर होल्डर भइरहने छन्।
'म दोहोर्याउँछु, उहाँ जान लाग्नुभएको होइन,’ अमेजनका प्रमुख आर्थिक अधिकृत ब्राइन ओल्साभ्स्की मंगलबार भने,'उहाँ कार्यकारी अध्यक्ष हुन लाग्नुभएको हो। अमेजनको सफल कथाका लागि त्यो झन धेरै महत्वपूर्ण र सक्रिय भूमिका हो।’
बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका थिए। उनी सन् २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे।
यसको मुख्य कारण कोरोनाका बेला बढेको अनलाइन सपिङ हो। लकडाउनले पसल बन्द भएपछि संसारभरि अनलाइन सपिङ बढेको थियो।
केही महिना पहिला बेजोसको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि पुगेको थियो। अहिले उनको सम्पत्ति १८७ अर्ब डलर छ।
बेजोसले सामाजिक सेवामा पनि योगदान गर्ने गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए।