गत १६ वर्षदेखि अनुप जंगम काठमाडौंमा 'जब सेन्टर' चलाएर बसेका थिए। निजी कर्पोरेटहरूलाई चाहिएको जनशक्ति आपूर्ति गर्ने उनको पेसा तथा व्यवसाय राम्रै थियो। अझ भनौं बर्सेनि उनको कम्पनीले आपूर्ति गर्ने कर्मचारी संख्या बढिरहेको थियो।
जंगमलाई भने केही समय पहिलेदेखि उही निजी कम्पनीको भ्याकेन्सी ल्याउने, प्रकाशित गर्ने, आवेदन माग्ने, छनौट गर्ने कामबाट सन्तुष्टि हुन छाडेको थियो। उनले केही फरक स्तरोन्नति खोजिरहेका थिए।
'त्यस्तो अपग्रेड के हुनसक्छ भनेर ठ्याक्कै थाहा थिएन। खोज्दै जाँदा आफैंले गरेको काममा अवसर देखेँ,' रोलिङ प्लान कम्पनीका कार्यकारी अध्यक्ष जंगमले भने।
जंगमले आफ्नो व्यवसाय विस्तार गरे। १६ वर्ष कार्यानुभवसँगै प्रविधिको सहायताबाट धेरै क्षेत्रमा फैलिने योजना बनाए। विश्वभरका कर्पोरेट तथा पेसा व्यवसाय जोड्न बनेको सञ्जाल लिंक्डइनको उपयोगिता अनुभव भएका जंगमले स्थानीयस्तरको व्यावसायिक सञ्जाल बनाउने योजना बनाए।
'मेरो सुरूआती योजना कर्मचारी भर्तिको मध्यस्थतता मात्र होइन, एकअर्काबीच रोजगारी सिर्जना तथा उद्दमशीलता प्रवर्द्धनमा प्रविधि उपयोग हुनुपर्छ भन्ने थियो। त्यहीअनुसार काम अघि बढायौं,' उनले भने, 'त्यसको परिणामस्वरूप आएको हो रोलिङ नेक्सस डटकम।'
कर्मचारी आपूर्ति तथा कल सेन्टर चलाइरहेको कम्पनीले सूचना-प्रविधि दुनियाँमा प्रवेश गरेर वृहत् प्ल्याटफर्म बनाएको छ। वेबसाइट माध्यमबाट जागिर भ्याकेन्सी मात्र होइन, सीप शिक्षादेखि दैनिक आवश्यकताका कामदार खोज्नसक्ने बनाइएको छ।
सामान्य जब-साइटमा भ्याकेन्सी हुन्छन्। त्यसमा आवेदन दिनेबाहेक अरू सुविधा हुँदैन। तर रोलिङ नेक्ससमा जागिरमा अन्तर्वार्ता दिनेदेखि लिएर आवश्यक सीप पनि सिक्न सकिने सुविधा भएको कार्यकारी अध्यक्ष जंगम बताउँछन्।
'यसलाई हामीले एकअर्कलाई जोडेर अवसर सिर्जना तथा खोजीको माध्यम बनाएका छौं। बढ्दो प्रविधि प्रयोगबाट सेवाग्राहीलाई लाभ दिन हामीले यसको सुरूआत गरेका हौं,' उनले भने।
यो वेबसाइटमा हाल १३ मोडल छन्, विभिन्न १३ प्रकारका सेवा प्रयोगकर्ताले यहाँबाट लिन सक्नेछन्।
जंगमका अनुसार कम्पनीको प्राथमिक काम जब सेन्टर नै हो, जहाँ विभिन्न कम्पनीमा आवश्यक पदपूर्तिको सूचना हुन्छ। यसमा जागिरको प्रकार, आवश्यक योग्यता तथा आवेदन दिने मितिका बारेमा खुलाइएको हुन्छ। यहाँ गएर आवेदकले जागिर खोज्न वा आफू योग्य भएको ठाउँमा आवदेन दिन सक्छन्। अरू जब-साइटका तुलनामा यो प्ल्याटफर्ममा धेरै सुविधा भएको जंगमको भनाइ छ।
यसको अर्को फिचर हो, टेन्डर। कुनै पनि सार्वजनिक तथा प्राइभेट कम्पनीले वस्तु तथा सेवा खरिद गर्छन्। यसका लागि सबै प्रकारका सेवा दिने तथा लिने कम्पनीलाई एक ठाउँ ल्याएर एकअर्काबीच डिल गर्न सकिने सुविधा यसमा छ।
पछिल्लो समय लकडाउन भएपछि संसारभर काम गर्ने शैलीमा परिवर्तन आएको छ। घरबाटै सम्भव हुने कतिपय काम अफिस नगई हुन थालेका छन्। सूचना-प्रविधि क्षेत्रमा पहिलेदेखि हुने यस्तो रिमोट वर्किङ प्रवर्द्धन गर्न रोलिङ नेक्ससमा 'फ्रि-ल्यान्सर' फिचर छ। यसमा घरबाटै काम गर्नेहरू सूचीकृत हुन सक्छन्। र त्यस्तै काम गर्ने मान्छे चाहिएका प्रयोगकर्ताले त्यहीँबाट लिन सक्छन्।
कोरोनाका कारण परिवर्तन भएको र व्यापक प्रयोगमा आएको अर्को कुरा अनलाइन सिकाइ हो। यही कुरा रोलिङ नेक्ससले पनि ल्याएको छ। जंगमका अनुसार वेबसाइटमा 'इभेन्ट' सेक्सनमा गएर कुनै पनि प्रयोगकर्ताले आफूलाई चाहिएको सीप सिक्न तथा क्षमता भएकाले प्रशिक्षण दिन सक्नेछन्।
'पेसागत सीप सिक्न चाहने तर कक्षामा उपस्थित हुन असम्भव हुनेहरू तथा सीप भएका तर भौतिक रूपमा दौडधूप गर्न कठिन हुनेका लागि यो माध्यम झनै उपयुक्त हुनेछ। यसमा प्रशिक्षण दिने तथा सीप लिन चाहनेका लागि अवसर छ,' जंगमले भने।
'भर्चुअल जब फेयर' का साथै रोलिङ नेक्ससले भर्चुअल सीप परीक्षण तथा परीक्षा सञ्चालन सुविधा पनि दिने छ। वेबक्यामको माध्यमबाट कठिन 'डिटेक्टिङ' प्रविधि प्रयोग गरी यस्तो परीक्षण सञ्चालन हुने जंगम बताउँछन्। विभिन्न कलेजले प्रवेश परीक्षा सञ्चालन गर्न, आन्तरिक सीप परीक्षण तथा अन्य परीक्षण गर्न यो उपयोगी हुने उनको विश्वास छ।
यसमा अवसर, सिकाइसँगै इ-कमर्श फिचर पनि छ। 'रोलिङ बजार' नाम दिइएको यसमा नेपाली र सानो स्केलमा उत्पादित तर बजार पहुँच नपाएका उत्पादन राखिने जंगमले बताए।
रोलिङ नेक्ससले श्रमिक आपूर्ति तथा उनीहरूका लागि अवसर सिर्जना गराउन विशेष काम गरिरहेको छ। यसमा नेपालभरका विभिन्न सीप भएका श्रमिक आबद्ध गराएर उनीहरूलाई ठाउँअनुसार अवसरको जानकारी दिने तथा श्रमिक आवश्यक भएका उद्दमी तथा व्यवसायीलाई सहज हुनेछ।
'नेपालको जुनसुकै ठाउँमा भएकाले यसमा आबद्ध भएपछि उसको सीप तथा क्षेत्रको जानकारी हुन्छ। त्यस्ता उपलब्ध श्रमिकको जानकारी हाम्रो सिस्टममा हुन्छ। त्यसरी सीपअनुसार संख्या उपलब्ध भएपछि आवश्यकता भएका उद्योगीले श्रमिक सहजै खोज्न सक्छ,' जंगमले भने।
रोलिङ नेक्ससले विदेशमा रहेका नेपाली लक्षित सुविधा पनि दिएको छ। विदेशमा काम गरिरहेकालाई नेपाल आएपछि आफूले पाउने अवसर तथा व्यवसायका लागि आइडिया दिने प्ल्याटफर्म आफूहरूले दिएको जंगमको भनाइ छ।
सरकारी तथा गैरसरकारी संस्था, वित्तीय संस्था, व्यवसायीका प्रतिनिधिमूलक संघ-संगठनसँगको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई काउन्सिलिङ दिइने उनले बताए। मोबाइल एप्लिकेसनसमेत भएको रोलिङ नेक्ससमा जोडिन वेबसाइट तथा एप खोलेर रजिष्टर हुनुपर्छ। आफूलाई चाहिएको सेक्सनमा गएर निर्देशनअनुसार दर्ता भएपछि सेवा लिन सकिन्छ।