नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सरकारले पहल लिएर लगानीको वातावरण बनाएमा निजी क्षेत्र आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताएका छन्।
जलेश्वर उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ढकालले निजी क्षेत्र रोजगारी सृजना, राजश्व संकलन तथा भौतिक पूर्वाधार निर्माणमा सँधै अगाडि रहेको र सरकारले थोरै मात्र पनि सकारात्मक वातावरण बनाउने हो भने यसले आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताए।
जिल्ला/नगर तहका स्थानीय व्यवसायीहरुले भोगेका समस्या एकै किसिमका रहने गरेका र सानो प्रयासले पनि धेरै समस्याहरु समाधान गर्न सकिने बताउँदै ती समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले पहल उनको भनाइ छ।
ढकालले स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै स्थानीय व्यवसायीहरुले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न आवश्यक रहेको बताए।
“स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उनले भने।