सन् २००९ मा ललितपुरको झम्सिखेलमा 'विज्डम बुक्स एन्ड अरोमा सप' खोल्दा विपीनकुमार औदिच्यसँग पैसा थिएन। थियो त केवल १४ वर्ष किताब पसलमा काम गरेको अनुभव। अनि ती अनुभवले जोडिदिएका मान्छेहरू।
उनले चिन्जानका एजुकेसनल बुक हाउस, रत्न किताब पसल, बज्र, प्याराडाइज, मण्डला बुक्स लगायत पसल चहारे। त्यहाँका संस्थापक भेटे र प्रस्ताव राखे– मलाई किताब दिनुहोस्, बेचेपछि पैसा तिर्नेछु।
आफूले चिनेका मान्छे चाहिने त्यस्तै बेला हो। पहिले कामबाट विश्वास पनि बटुलेका थिए। सबैले दिएका किताब ल्याएर १२ वर्षअघि उनले पसल खोले। त्यो बेलाको हिम्मत सम्झिँदै भन्छन्, 'व्यवसाय डुब्ला भन्ने डर त थियो। तर भाग्य मेरो बलियो रहेछ।'
सबैले ठमेल र जमललाई केन्द्रमा राखेर किताब व्यवसाय गरिरहेको त्यो समयमा उनले झम्सिखेल रोजे। कुपन्डोल बस्ने उनले पर्यटकीय केन्द्र बनिरहेको झम्सिखेलको बजार अध्ययन गरिरहेका थिए।
११ वर्ष झम्सिखेलबाट पुल्चोक जानेबाटो छेउमा रहेको विज्डम एक वर्षयता भनीमण्डल चोक सरेको छ।
'विज्डम' को अर्थ ज्ञान। उनलाई अलिअलि अध्यात्मतर्फ रूचि थियो। सँगै पसल छिर्नेले केही ज्ञान लिएर गएको महशुस गरून् भन्ने चाहना पनि।
विपीनका भाइहरू धुपबत्तीको व्ययसाय गर्थे। त्यसलाई पनि जोडेर उनले 'विज्डम बुक्स एन्ड अरोमा सप' बनाए। यहाँ हातले बनाएका साबुन, मैनबत्तीहरू पाइन्छ। त्योबाहेक सजावटका सामान, हातले बनेका ब्याग, पश्मिना सलहरू र नेपालमै बनेका अन्य सामग्रीहरू उपलब्ध छ।
भारत, कानपुर घर भएका उनले नेपाललाई कर्मभूमी बनाउनुको कारण थियो, ठमेलस्थित पिलग्रिम्स बुक्ससँगको चिनाजानी। ४३ वर्षीय विपीनले यो व्यवसाय सुरू गर्नुअघि १४ वर्ष पिलग्रिम्समा काम गरेका थिए।
१८–१९ वर्षका हुँदा उनी भारतमै बिएससी पढ्दै थिए। भविष्यमा एयरफोर्समा डाक्टरी काम गर्ने सपना थियो। तर जब उनी घुम्न नेपाल आए, यहाँको वातावरणले तान्यो। यतै रत्तिए। यहाँ रत्तिएर मात्र टिक्न मुश्किल थियो, पिलग्रिम्समा काम पनि थाले। पछि किताबको बासनामै रमाए। उताको पढाइ छुट्यो, डाक्टर बन्ने सपना पनि।
सन् २००८ मा उनले काम छाडी भारतमै गएर बिहे गरे। उतै बस्ने नसोचेका होइनन्। तर जब जिम्मेवारी बढ्न थाल्यो उनी अलमल परे। भारतमै काम गरौं भन्ने ठाने। तर भारतभन्दा नेपालको वातावरणमै बढी घुलेका र बुझेका उनले कर्मभूमि नेपाललाई नै बनाउने सोचे। अनि आफ्नै किताब पसल खोल्ने योजनासहित नेपाल आए।
तर योजना भएर मात्रै कुनै व्यवसाय गर्न सकिन्छ? पैसा चाहिन्न?
शून्यबाट सुरू गरेका विपीन भन्छन्, 'आइडियाभन्दा बढी गर्ने इच्छा हुनुपर्छ। मान्छेले योजना त कति धेरै बनाउँछन्, तर काम गर्दैनन्। पैसाभन्दा इच्छा, इमानदारिता र आफूमा विश्वास हुनुपर्छ। काम सानो, ठूलो भन्ने पनि हुँदैन। आफ्नो सय प्रतिशत दिनुपर्छ।'
पिलग्रिम्समा काम गरेकाले होला, विज्डम पुग्दा अलिअलि पिलग्रिम्स पुगेजस्तै लाग्छ। यहाँ आउने ग्राहकले पनि भन्छन् रे, 'सेकेन्ड पिलग्रिम्स।'
'तपाईं जस्तो वातावरणमा हुर्किनुभयो त्यसको असर दिमागमा बस्ने रहेछ। त्यहाँ काम गर्दै किताबमा मोह बसेको थियो, त्यो ठाउँसँग पनि,' उनले भने, 'मान्छेले पिलग्रिम्सजस्तै भन्दा मलाई खुसी लाग्छ।'
दुई तले भवनमा रहेको विज्डममा उनले नेपाली, अंग्रेजी र अन्य विदेशी भाषाका आख्यान, गैर–आख्यान, क्लासिक, आत्मकथा, अध्यात्म, इतिहास, बालबालिका लगायत हरेक विधालाई धेरै–थोरै जम्मा गरेका छन्। यहाँ तपाईं घुमीघुमी किताब खोज्न सक्नुहुन्छ।
कसैले किताब नपाए उनले खोजीखोजी ल्याइदिएर पनि ग्राहकको विश्वास बटुलेका छन्। लकडाउनअघि होम डेलिभरी सुरू गर्न लागेका थिए। अब कोरोना अवस्था सामान्य भएपछि त्यो सुविधा पनि मिल्ने उनी बताउँछन्। बिस्तारै किताब किन्न गाह्रो हुने र विद्यार्थी तथा चाडपर्वलाई लक्षित गरेर समयसमयमा 'सेल' लगाउने पनि उनको योजना छ।
यहाँ टाढा-टाढादेखि किताब खोज्दै आउनेहरू छन्। लेखक रवि थापा, श्रद्धा घले, निरञ्जन कुँवर, प्रकाश शायमी र कलाकारहरू पनि आउने विपीन बताउँछन्। यो उनले ग्राहकलाई दिएको विश्वास हो।
केही दिन मात्र भयो, उनले यस्तै आफ्ना नियमित ग्राहकका लागि नयाँ सुविधा थपेका छन्- 'किताबसँगै चिया-खाजा'।
अचेल क्याफे र पढ्ने वातावरणको संस्कृति बढ्दै गएको समयमा उनी पनि यसमा मिसिएका हुन्। हुन त यो योजना पोहोरकै हो। तर लकडाउनका कारण विज्डमले काम अगाडि बढाउन सकेन। अहिले भने यहाँ 'विज्डम भेज कर्नर' सुरू भइसकेको छ।
विशेषगरी, यहाँ आउने नियमित ग्राहक र पढ्ने शान्त वातावरण खोजिरहेकालाई यो सुविधा लक्षित छ। यहाँ बसेर पढ्न पाइन्छ, भोक लागे अन्त जान नपरोस् भनेर त्यहीँ बनाइएको शाकाहारी खाजा खान सकिन्छ। मेनुमा समोसा, पुरी, परौठा, इड्ली, तरकारी लगायत परिकार छन्। चिया र कफी त भइहाल्यो।
'मेरो पहिलादेखिकै सपना थियो, ढिलै भए पनि पूरा भयो,' विपीनले भने, 'यहाँ धेरै मान्छे आएर हुल होओस् भन्ने होइन, तीन–चार जना पढ्ने मान्छे आए पुग्छ।'
पठन संस्कृति प्रवर्द्धन गर्न आफूले यो सुविधा थपेको उनी बताउँछन्। यहाँ बसेर पढ्न पैसा लाग्दैन। खाजा खान भने तोकिएको रकम तिर्नुपर्छ। कोही ग्राहक दिनभर बस्ने योजनाले जाँदैछ भने बिहानै त्यहाँ भएमध्ये खाजाबाट आफूलाई मनपर्ने अर्डर गर्न पनि सक्ने विपीनले जानकारी दिए।
पढ्ने ठाउँमा हरेक क्षेत्रका सीमित किताब पनि राखिनेछन्। त्यसको पैसा तिर्नुपर्दैन। तर त्यहाँ भएबाहेक किताब भने पसलबाटै लिएर जानुपर्छ। किताब च्यातिने, खानेकुरा पोखिने डर भएकाले त्यसको पैसा लाग्नेछ।
विपीनले आफ्नो पसल बढाउने उद्देश्यले यो काम सुरू गरेका होइनन्। उनलाई लाग्छ, सकेजति पसल विस्तार भइसक्यो। अब यसैलाई सुविधा सम्पन्न गरेर ग्राहकलाई राम्रो सेवा दिने हो।
उनको आशा छ– ग्राहक आएपछि सन्तुष्ट भएर जाऊन्।
करिब दुई–तीन सय किताबबाट सुरू गरेका विपीनसँग अहिले कति किताब छन्, उनैलाई हेक्का छैन। चाँडै किताबको डिजिटल रेकर्ड राख्ने सोचमा छन्। तर यसबीच किताब चोरी होला भन्ने डर एउटा किताब बेच्ने मान्छेलाई कति लाग्दो हो?
'दैनिक काम गर्दा कुन किताब कहाँ छ भन्ने दिमागमै बसेको हुन्छ,' उनले भने, 'कसैले लिएर गयो भने त्यो उसको समस्या हो, मेरो होइन। किताब चोरेर पढ्यो भने नि ठीकै छ। तर सस्तोमा नबेचोस्।'
डाक्टर बन्ने सपनाबाट किताब बेच्न थालेका विपीनलाई कुनै गुनासो पनि छैन। बरू किताबले दिएको सफल्ता र सन्तुष्टीमा रमेका छन्।
किताब व्यवसायीसम्मको यात्रा पिलग्रिम्सले जोडिदिएको भए पनि उनको पारिवारिक माहोलले अप्रत्यक्ष रूपमा उनलाई यसमा जोडेको रहेछ। उनका हजुरबुवा मुम्बईमा प्रकाशक थिए। घरैमा पुस्तकालय भएकाले किताबसँग नजिक थिए। तर त्यहाँ संस्कृत, हिन्दी र अरू भाषामा लेखिएका हस्तलिखित ग्रन्थ धेरै थिए।
५० पैसा भाडामा चाचा चौधरी, ट्विंकल कमिक्स किनेर पढेको उनी अझै सम्झिन्छन्। पछि कोर्सका किताबको भारले बाहिरी किताबबाट टाढिँदै गएका थिए। आखिरमा किताबसँगै ठोक्किए। फुर्सदमा अचेल पसलकै किताब पढ्न पाएका छन्।
किताब पढ्नु, अनौठो दुनियाँमा पुग्नु। नयाँ शब्द, समुदाय चिन्नु। ज्ञान बढाउनु। उनी भन्छन्, 'किताब पढेर कुनै घाटा हुँदैन। हामीले पढेका, सिकेका कुरा हामीलाई कतै न कतै व्यवहारमा उपयोगी भएर आउँछन्।'
आफूजस्तै किताबलाई व्यवसाय बनाउन चाहनेलाई उनी सुझाव पनि दिन्छन्, 'इमान सबभन्दा ठूलो कुरा हो। त्योसँगै तपाईं आफ्नो कामसँग रमाउनुपर्यो। झन् किताबलाई माया गर्नु त मुख्य कुरा हो।'