घरेलु तथा साना उद्योगहरुलाई सहज ऋण उपलब्ध गराउनका लागि उद्योगी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच समुन्वय हुने भएको छ।
कोरोना महामारीले थलिएका साना उद्योगीलाई सजिलै ऋण उपलब्ध गराउनका लागि दुई संस्थाबीच एउटा अध्ययन कार्यदल बनाउने सहमति भएको छ।
बिहीबार भएको छलफलबाट गठन भएको उक्त कार्यदलले घरेलु तथा सना उद्योगीलाई सजिलै ऋण उपलब्ध गराउने बिकल्पबारे सुझाव दिने छ।
त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको नीतिअनुसार नै ऋण दिनका लागि आएका समस्या समाधानका लागि पनि उक्त कार्यदलले पहल गर्ने छ।
महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स संघका अध्यक्ष भुवन दाहालसमेतको सहभागिता भएको उक्त सहमतिअनुसार यो कार्यदललाई जिल्लास्तरमा पनि विस्तार गरिने छ।
नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृत्ति सर्बेक्षणको प्रतिवेदन २०७७ अनुसार असारसम्म ६३.६ प्रतिशत संचालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरुमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन् ।
यस्ता उद्योगलाई सजिलो बनाउनका लागि राष्ट्र बैंकले विभिन्न सहुलियतको घोषणा गरेको थियो। तर पछिल्लो समय बैंकहरुले उक्त घोषणा कार्यान्वयनमा अनिच्छा देखाएको गुनासो आइरहेको छ।