प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै पेट्रोलियमदेखि फलाम, तामा, फोस्फोरस लगायत खनिज पदार्थ उत्खननका काम अघि बढेको बताएका छन्।
यस्ता खनिज पदार्थ उत्खननले भविष्यमा देश आत्मनिर्भर हुने उनले दाबी गरे।
'दैलेखमा पेट्रोलियम उत्खनन गर्न सर्वे, अनुसन्धान भइरहेको छ। त्यहाँबाट हामी पेट्रोेल, डिजेल निकाल्दैछौं। हामीले नवलपुरको धौवादीमा विशाल फलाम खानी भेट्टाएका छौं। त्यहाँबाट फलाम र स्टिल उत्पादन गर्न परीक्षण भइसकेको छ। अब हामी त्यहाँबाट फलाम र स्टिल उत्पादन गर्न थाल्ने छौं,' उनले भने।
उनले तनहुँ र पर्वतको खानीबाट निस्कने फलामले त्यससँग सम्बन्धित उद्योग, कलकारखानाहरू फस्टाउने बताए। त्यस्तै, जाजरकोटमा तामा र बैतडीमा फोस्फोरस खानी फेला परेको उल्लेख गर्दै यसबाट रासायनिक मल उत्पादन गरेर कृषिको उत्पादकत्व बढाउने उनले बताए।
ओलीले भाषणमा भनेजस्तै के हामीले तेल, फलाम लगायत खनिज पदार्थ उत्खननमा उल्लेख्य प्रगति हासिल गरेका छौं त? यी क्षेत्रमा कहाँ के भइरहेको छ?
हामीले यसबारे खानी तथा भूगर्भ विभागसँग कुरा गरेका छौं। विभागले विभिन्न ठाउँमा खनिज पदार्थ उत्खननको काम जारी रहे पनि अहिलेसम्म कुनै आयोजनाले ठोस रूप नलिएको जनाएको छ।
पेट्रोलियम उत्खनन
नेपालमा लामो समयदेखि पेट्रोलियम पदार्थ उत्खननको हल्ला चल्दै आएको छ। विगतमा खानी विभागबाटै पटक-पटक पेट्रोलियम अन्वेषण गर्न विदेशी कम्पनीहरूलाई अनुमति दिइएको थियो। त्यसरी अनुमति पाएका कतिपय कम्पनी सामान्य अनुसन्धानबाटै बाहिरिए भने कतिले नमूना संकलन गरेर सम्भाव्य नभएको रिपोर्ट दिए। अनुमति पाएका केही कम्पनी त कामै नगरी बाहिरिएका उदाहरण पनि छन्।
ओलीले भाषणमा उल्लेख गरेको दैलेखमा भने चिनियाँ कम्पनीबाट पेट्रोलियम अन्वेषण भइरहेको छ। यो अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारबीच २०७४ साउनमा सम्झौता भएको थियो। ओली सरकार आउनुअघि नै सुरू यो अन्वेषणमा यसअघिभन्दा बढी प्रगति भएको खानी विभागको भनाइ छ।
विभागका प्रवक्ता जयराज घिमिरेका अनुसार, चिनियाँ कम्पनीले पेट्रोलियम पदार्थ अन्वेषणका लागि सतहको नमूना (सर्फेस स्याम्पलिङ) लिनुका साथै त्यहाँको भौगर्भिक अध्ययन गरिसकेको छ। यी दुवै अध्ययनको प्रयोगशाला परीक्षण रिपोर्ट भने अहिलेसम्म विभागमा नआइपुगेको घिमिरेले बताए।
अध्ययनको रिपोर्ट आएपछि मात्र दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यताबारे थाहा हुने उनको भनाइ छ।
'सर्फेस स्याम्पलिङ र सिस्मिक सर्भेले त्यहाँ पेट्रोलियम पदार्थको सम्भाव्यता छ कि छैन भन्ने थाहा दिन्छ। यसको रिपोर्ट अहिलेसम्म हामीकहाँ आइपुगेको छैन,' घिमिरेले सेतोपाटीसँग भने, 'चिनियाँ कम्पनीले दोस्रो चरणको काम गर्न आउँछु भनेकाले सकारात्मक संकेत भने देखिएको छ।'
दोस्रो चरणको काम भनेको 'ड्रिलिङ' हो। ड्रिलिङ गरेपछि मात्र त्यो ठाउँमा साँच्चिकै पेट्रोलियम छ कि छैन, कस्तो खालको पेट्रोलियम छ र त्यसको अनुमानित भण्डरण कति हुनसक्छ भन्ने जस्ता कुरा पत्ता लाग्ने उनले बताए। यो काम सुरू गर्न पनि पहिलो चरणको अध्ययन रिपोर्ट आउनुपर्छ।
'ड्रिलिङबाट पेट्रोलियम छ भन्ने पत्ता लागे पनि व्यावसायिक रूपमा उत्खनन गर्न आर्थिक सम्भाव्यता छ कि छैन भनेर फेरि अध्ययन गर्नुपर्छ। त्यसपछि मात्र काम अघि बढ्नेछ,' घिमिरेले भने।
फलाम र तामा
नवलपुरको धौवादीमा चिनियाँ कम्पनीले नै फलाम खानीको प्रारम्भिक अध्ययन गरेको हो। प्रारम्भिक अध्ययन रिपोर्टअनुसार प्राविधिक रूपमा फलाम उत्खनन गर्न मिल्ने देखिएको विभागले जनाएको छ।
फलाम बन्छ कि बन्दैन भनेर चीनको रसायन प्रयोगशालामा जाँच गर्दा सकारात्मक नतिजा आएको चिनियाँ कम्पनीले नेपाल सरकारलाई जानकारी गराएको छ। तर, व्यावसायिक रूपमा उत्खनन गर्न सकिन्छ कि सकिँदैन र त्यसको आर्थिक सम्भाव्यता कस्तो हुन्छ भनेर अझै यकिन भएको छैन।
फलाम खानीबारे खानी तथा भूगर्भ विभागले नौ वर्षअघि नै अध्ययन गरेको थियो। विभागको अध्ययनपछि मात्र त्यहाँ फलाम रहेको पाइएको थियो। सरकारले त्यसपछि व्यावसायिक उपयोगिताबारे अध्ययन गर्न चीन सरकारसँग सहकार्य गरेको हो।
यसबाहेक बाग्लुङ र गोरखामा तामा उत्खननका लागि विभागले अध्ययन गर्ने योजना बनाएको छ। पहिले नै त्यस्ता क्षेत्रमा तामा उत्खनन भएको प्रमाण पाइएकाले सम्भाव्यना अध्ययन गर्न विभागले तयारी गरेको हो। त्यसबाहेक अरू काम भने अहिलेसम्म भएको छैन।
फोस्फोरस उत्खनन
विभागले बझाङ र डोटीमा फोस्फोरस उत्खनन गर्न केही वर्षदेखि सतह अध्ययन गर्दै आएको थियो। उक्त क्षेत्रमा फोस्फोरस उत्खननको सम्भावना हुनसक्ने अनुमान गरिएको थियो।
त्यही अनुमानका आधारमा विभागले दुई वर्षअघि त्यहाँको भूसतहबाट नमूना संकलन गर्यो। यसबाट उक्त क्षेत्रमा १५ प्रतिशतजति फोस्फोरस हुनसक्ने देखियो। 'त्यसपछि हामीले त्यहाँको अवस्थाबारे ड्रिलिङ गरेर हाम्रै प्रयोगशालामा परीक्षण गरेका थियौं, जसबाट सम्भाव्यता घटेर गएको छ,' घिमिरेले भने।
घिमिरेका अनुसार ड्रिलिङबाट लिइएको नमूना परीक्षण रिपोर्टअनुसार त्यो क्षेत्रमा फोस्फोरसको सम्भावना १० प्रतिशत हाराहारी मात्र देखिएको छ। विभागले अब उक्त नमूना अरू प्रयोगशालामा पठाएर फेरि परीक्षण गर्ने तयारी गरिरहेको छ।
विभागको पछिल्लो अध्ययनअनुसार ती क्षेत्रमा फोस्फोरस पाइए पनि व्यावसायिक उत्खननको सम्भावना हुँदैन। बीस प्रतिशतभन्दा माथिको सम्भावना देखिएपछि मात्र व्यावसायिक उत्खनन गर्न सकिने अधिकारीहरू बताउँछन्।