बुद्ध एयरले जहाज थपेपछि उडान संख्या विस्तार गरेको छ। एयरलाइन्सले आजदेखि दैनिक सय उडान गरेको जानकारी दिएको छ।
जहाज थप भएसँगै सबैभन्दा धेरै यात्रु बोक्ने बुद्धले पहिलोपटक दिनमा ६ हजार यात्रुलाई सेवा दिएको जानकारी गराएको छ।
जहाज थप भएसँगै बुद्धले काठमाडौं बाहिरका विमानस्थलबाट बिहानै उडान गर्ने योजना बनाएको छ। विराटनगर, भैरहवा र जनकपुरबाट बुद्धले बिहानै उडान गर्ने तालिका बनाएको छ। बुद्धले ती विमानस्थलमा एउटा जहाज राति पार्किङ गर्ने छ। तीन विमानस्थलबाट बिहानको पहिलो उडान बुद्धको हुने छ।
९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज भएको बुद्ध एयर आन्तरिक उडानमा पचास प्रतिशतभन्दा बढी बजार हिस्सा छ।
कोरोना महामारीका कारण जारी लकडाउनपछि खुलेको हवाइ उडानमा यात्रुको आकर्षण देखिंदै आएको छ। अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य घटेको, अन्य प्रशासनिक खर्च पनि कटौति भएका कारण स्वभाविक रुपमा भाडा सस्तो भएकाले यात्रुको आकर्षण बढेको एयरलाइन्सहरुले बताउँदै आएका छन्।
कोरोना संक्रमणको जोखिमका कारणले गर्दा पनि धेरैको रोजाइ जहाज भएको उनीहरुको तर्क छ।
बुध्दले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ ।