चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको ब्यापार घाटा ६ खर्ब नाघेको छ।
लकडाउनका बेला ह्वात्तै घटेको ब्यापार घाटा हाल क्रमिक रुपमा उकालो लागेको छ।
यद्यपि गत वर्षको तुलनामा ब्यापार घाटा ५.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय स्थितिअनुसार कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो। वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ।
कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई ६० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो।
वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ।
साउनदेखि पुस मसान्तसम्मको रेमिट्यान्स गत वर्षकाे साेही अवधिमा भन्दा ११.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.६ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ। समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो।
शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ।