पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण वैदेशिक लगानी प्रतिबद्धता घट्दै गएको हो।
नेपालमा सबैभन्दा बढी लगानी गर्ने चिनियाँ लगानीकर्ता हुन्। पहिला चीनमै कोरोना भाइरस देखिएकाले नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष असर परेको छ।
कोरोना भाइरसले करिब आधा वर्ष आम्दानीको स्रोत बन्द हुँदा आर्थिक स्थिति कमजोर भई लगानीकर्ताले नयाँ लगानी गर्न सकेका छैनन्।
चालू आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा २५ अर्ब २६ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।
विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ३१ वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्। गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा यो साढे ३ अर्बले घटी हो।
गत आवको साउनदेखि माघसम्ममा २८ अर्ब ४१ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विदेशी लगानी गत वर्षको तुलनामा केही घटेको विभागका महानिर्देशक जीवलाल भुषालले बताए।
‘गत वर्षको तुलनामा केही घटेको हो तर अहिले नै वैदेशिक लगानी प्रतिबद्धता घट्यो भन्न मिल्दैन,’ उनले भने, ‘अहिले हामी आर्थिक वर्षको बीचमा छौं। हामीसँग पाइपलाइनमा थुप्रै प्रोजेक्ट बाँकी छ। थप लगानी आउने सम्भावना छ।’
आर्थिक वर्षको अन्त्यसम्मा गत आवको जति लगानी आउने उनी बताउँछन्। ‘कोभिडको खोप पनि आइसक्यो। अब पहिलाको जस्तो लगानी गर्न डराउनु पर्ने अवस्था छैन,’ उनले भने।
चालू आवको साउनदेखि माघसम्म विभागमा दर्ता भएका १ सय ३१ उद्योगमध्ये सबैभन्दा बढी लगानीको आकर्षण क्षेत्र पर्यटन बनेको छ। पर्यटनमूलक उद्योगका लागि ७८ वटा उद्योग दर्ता भएका छन्।
विगतका वर्षहरूमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो।
अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएको पर्यटनमूलक क्षेत्रमा आएको उद्योग दर्ताको संख्याले देखाउँछ। त्यस्तै, दोस्रोमा सेवामूलक परियोजनामा ३१, कृषिमा २, ऊर्जामूलकमा १, सूचना तथा सञ्चारमा ५ र उत्पादनमूलक क्षेत्रका १३ परियोजनामा वैदेशिक लगानी प्रस्ताव आएको छ।
जसमा ठूला उद्योग ३, मझौला ३ र साना उद्योग १२५ वटा छन्। यी उद्योग सञ्चालनमा आए ४ हजारभन्दा बढीले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ।
कति देशले गरे लगानी
विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्ममा १३ वटा देशबाट लगानी प्रस्ताव आएको छ।
सबैभन्दा बढी चीनले १ सय ४ वटा परियोजनामा १८ अर्ब १६ करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेको छ।
त्यस्तै, अमेरिकाले ५ वटा परियोजनामा १ अर्ब ५७ करोड, भारतले ५ वटा परियोजनामा ३८ करोड ६० लाख रूपैयाँ बराबरको लगानी प्रस्ताव गरेको छ।
बेलायती लगानीकर्ताले ४ वटा उद्योगका लागि १६ करोड रूपैयाँ लगानी प्रस्ताव गरेको छ। त्यस्तै बेल्जियम, मेक्सिको, साउथकोरिया र नेदरल्याण्डका लगानीकर्ताबाट २/२ उद्योगका लागि लगानी प्रस्ताव आएको छ।
आइल्याण्ड, चीन (ताइवान), मलेसिया र पोल्याण्डका लगानीकर्ताबाट एउटा उद्योगका लागि लगानी प्रस्ताव आएको छ।