राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर धरानमा सुविधासम्पन्न पुस्तक डिपार्टमेन्ट स्टोर खुलेको छ।
गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा मङ्गलबारबाट सञ्चालनमा आएको गतिशील शिक्षा डिपार्टमेन्ट स्टोरमा सबै तह र सबै विधाका ५ सय भन्दा प्रकारका पुस्तकहरू उपलब्ध छन्।
२५ लाखको लगानीमा सञ्चालनमा आएको डिपार्टमेन्ट स्टोरमा पुस्तकसँगै स्टेशनरी, खेलकुद र संगीतका सामाग्रीहरू पनि एकै छानामुनी पाइन्छ। यस्तै विभिन्न टेक्निकल कलेज र स्कुलमा आवश्यक पाठ्यपुस्तक तथा टेक्निकल सामाग्रीहरू पनि डिपार्टमेन्ट स्टोरबाट खरिद गर्न सकिने भएको छ। यस्तै कम्प्युटर, ल्यापटप तथा यसका पार्टपूर्जाहरू पनि स्टोरमा उपलब्ध हुनेछन्।
धरानमा तत्काल उपलब्ध नभए माग गरेको केहि दिन भित्रमै ग्राहकलाई पुस्तक उपलब्ध गराउने सञ्चालक तीर्थराज भण्डारीले जानकारी दिए।
डिपार्टमेन्टले निकट भविष्यमा विद्यार्थीका लागि शान्त वातावरणमा अध्ययन गर्ने ‘स्टडी रुम’ को व्यवस्था गर्ने बताइएको छ।
विशेष गरेर एमबिबिस, बिई लगायतका विद्यार्थीको माग भएकाले ‘स्टडी रूम’ सञ्चालनको तयारी गरेको भण्डारीले बताए ।
उनले सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तर्गत विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने बताए। उनले विद्यार्थीहरुलाई अध्ययन गर्दै रोजगारी गर्न चाहनेलाई कामको पनि व्यवस्था गर्ने जानकारी दिए।
निकट भविश्यमा विभिन्न ठाउँमा शाखा विस्तारको योजना बनाएको डिपार्टमेन्ट स्टोरले केही दिनमै विराटचोकमा पहिलो शाखा सञ्चालनमा ल्याउने सञ्चालक भण्डारीले जानकारी दिए।
यसैबिच मंगलबारबाट सात दिने पुस्तक प्रदर्शनीसमेत सुरू भएको छ।
प्रदर्शनीमा विभिन्न साहित्यिक, ज्ञानमुलक तथा विभिन्न विधाका पुस्तक राखिएका छन्। एक हप्तासम्म चल्ने प्रदर्शनीमा स्कुल, क्याम्पस तथा विभिन्न आयोगका ५०० भन्दा बढी बिधाका पुस्तक राखिएका छन्।
प्रदर्शनीमा पुस्तक किन्ने ग्राहकले २० प्रतिशतसम्म छुट पाउने डिपार्टमेन्टका सञ्चालक तीर्थराज भण्डारीले जानकारी दिए।