कोरोना कहरले निम्त्याएको लामो लकडाउनले थलिएको औद्योगिक सहर विराटनगरको उद्योगधन्दा पुरानै लयमा फर्कदैंछन्। लामो समय ठप्प प्रायः उद्योगधन्दाले एक–डेढ महिनायता पुरानो लय समातेको उद्योगी बताउँछन्।
यद्यपि फेरि सुरु भएको राजनीतिक किचलो र त्यसले सडकमा निम्त्याएको आक्रोशले भने उद्योगी त्रस्त छन्। पुस ५ पछि सडकमा पोखिएको आक्रोशले उद्योगधन्दामा अवरोधकै स्थिति निम्त्याइहालेको छैन। तर, यसले जुनसुकै बेला त्यो अवस्था ल्याउने जोखिम भने देखिएको उनीहरुको मत छ।
पछिल्लो केही महिनायता औद्योगिक कच्चा पदार्थको आयात बढेको छ। कोरोनाले रोजगारी खोसिएपछि बेरोजगार बनेका मजदुर काममा फर्केका छन्। उद्योग नियमित सञ्चालन भइरहेका छन्। उत्पादन बजार पुग्ने र बिक्री हुने क्रम पूर्ववत अवस्था कायम भएको छ। ‘यी सूचकले उद्योग क्षेत्र पुरानै अवस्थामा फर्केको देखाउँछ’, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सेतोपाटीसँग भने ‘अहिले उद्योगीले उत्पादनमा अवरोध भएको वा समस्या रहेको गुनासो पनि गरेका छैनन्। त्यसैले यहाँको उद्योगधन्दाले लय समातेको देखिन्छ।’
घिमिरेका अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोर र कटहरी औद्योगिक करिडोर क्षेत्रका सबै उद्योग अहिले निर्वाध चलेका छन्। ‘कोरोना बेला बेरोजगार बनेका सबै मजदुरले अहिले काम पाइरहेका छन्’, घिमिरेले भने, ‘त्यसैले उद्योगधन्दाको अवस्था सुधार भएको हो।’
आफैं उद्योगीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार हिउँद उद्योगधन्दाका लागि पनि मुख्य सिजन हो। ‘खासगरी निर्माण सामग्री र त्यसका कच्चा पदार्थाको आयात यहीँ बेला बढ्ने र उत्पादन पनि हुने हो’, राउतले सेतोपाटीसँग भने, ‘अहिले सबै औद्योगिक उत्पादन र खाद्यान्नको माग पनि बढेको छ। यसलाई पहिलेको स्थितिमा ८० प्रतिशत सुधार हो भन्न सकिन्छ।’
कोरोनाकालमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार ६९ प्रतिशत उद्योगधन्दा लकडाउनमा पूर्ण रुपमा बन्द थिए। बाँकी रहेको ३९ प्रतिशत मध्ये ५ प्रतिशत मात्रै पूर्ण रुपमा सञ्चालनमा थिए। ती सबै खाद्यान्न उद्योगहरू थिए। बाँकी ३४ प्रतिशत उद्योगहरु आंशिक रुपमा मात्रै चलेका थिए। ‘सुनसरी-मोरङ औद्योगिक करिडोर र कटहरी औद्योगिक करिडोरमा पनि ठ्याक्कै त्यहीँ अवस्था थियो’, उद्योगी राउतले भने, ‘अहिले उद्योगहरु राम्ररी चल्न थालेका छन्। यो सुखद् संकेत छ।’ तर, पछिल्लो समयमा सुरु भएको राजनीतिक किचलोले चिन्ता बढाएको उनको भनाइ छ। यहाँका दुवै औद्योगिक करिडोरमा खाद्यान्न, निर्माण सामग्री, मेटल , जुट प्लाष्टिक, धागो लगायतका उद्योगहरु छन्।
उद्योग संगठन मोरङको तथ्यांक अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोर र कटहरी औद्योगिक करिडोर गरी १ हजार ७ सय ५० हाराहारी उद्योगधन्दा छन्। ‘साना ठूला यी सबै उद्योग अहिले सुचारू छन्’, संगठनका उपाध्यक्ष राकेश सुरानाले सेतोपाटीसँग भने ‘कच्चा पदार्थको बढेको आयात, उत्पादनको बढ्दो मागले अहिले अवस्थामा सुधार आएको देखिन्छ। तर, लकडाउनका बेला ब्यहोरेको ठूलो क्षतिको भर्पाइ अझै हुन सकेको छैन।’
उनका अनुसार उद्योगीहरुको ठूलो आकारको पैसा कोरोनाकालमा बजारमा फँसेको छ, जसले उनीहरुलाई पुरानो अवस्थामा फर्काउन दिइरहेको छैन।
उद्योगी र तिनका छाता संस्थाको दाबीलाई भन्सारको तथ्यांकले पनि पुष्टि गर्छ। विराटनगरस्थित रानी भन्सारको तथ्यांक अनुसार पछिल्लो एक डेढ महिनायता औद्योगिक कच्चापदार्थको आयात कोरोनाकाल अघिकै अवस्थामा पुगेको छ। केही सामान त त्यसबेला भन्दा बढी आयात भएका छन्। ‘एक डेढ महिनायता औद्योगिक कच्चा पदार्थको आयात ह्वात्तै बढेको छ’, रानी भन्सारका सूचना अधिकृत सन्तोष यादवले भने, ‘कच्चा पदार्थको आयात बढ्नुको अर्थ यहाँका उद्योगधन्दाहरु राम्ररी सञ्चालन भएका छन् भन्ने प्रमाण हो।’
भन्सारको तथ्यांक अनुसार यहाँबाट आयात हुने मुख्य औद्योगिक कच्चापदार्थहरु मध्ये एमएस विलेट हो। फलाम उद्योगहरुले प्रयोग गर्ने मुख्य कच्चा पदार्थ यसको आर्थिक वर्ष २०७६–७७ को साउनदेखि पुससम्मको अवधिमा ९ करोड ३० लाख ४२ हजार केजी आयात भएको थियो। यो त्यसबेलाको कुरा हो, जतिबेला नेपालमा कोरोनाको केस देखिएको थिएन। चालु आर्थिक वर्ष २०७७–७८ को त्यही अवधिमा एमएस विलेटको आयात उही अनुपातमा भएको छ। यसपटक ६ महिनामा ९ करोड २९ लाख ६४ हजार ७ सय ४० केजी आयात भएको छ। सूचना अधिकृत यादवका अनुसार यसको ठूलो हिस्सा मंसिरयता मात्रै आयात भएको छ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पर्छ भटमासको तेल। यसको कच्चापदार्थ पनि विराटनगर भन्सारबाटै बढी आयात हुन्छ। यसको आयात त गतवर्षभन्दा पनि बढेर भएको छ। अघिल्लो वर्षको ६ महिने अवधिमा भटमासको तेलको कच्चापदार्थ २ करोड ५२ लाख ७४ हजार ४० केजी आयात भएको थियो। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा यसको आयात दोब्बरभन्दा बढीले वृद्धि भएको छ। यसपटक साउनदेखि पुस मसान्तसम्मको अवधिमा ४ करोड ७० लाख ४१ हजार ५ सय ४० केजी आयात भएको छ। यसले पहिलेभन्दा भटमासको तेल उद्योग झनै तीव्र रुपमा सञ्चालित भएको देखाउने भन्सारको भनाइ छ।
निर्माण सामग्री र धातुजन्य उद्योगहरु मात्रै होइन, खाद्यान्न उद्योगका कच्चा पदार्थको आयात पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा २ करोड ९५ लाख ११ हजार ७ सय ४९ केजी मकै आयात भएको थियो। यसपटक सोही अवधिमा ११ करोड ७६ लाख १८ हजार ५ सय ८७ केजी आयात भएको छ। मकै कुखुराको दाना बनाउने काममा प्रयोग हुने गरेको छ।
त्यसो त उत्पादित सामग्रीको निर्यात पनि यो अवधिमा बढेको छ। अघिल्लो वर्षको साउनदेखि पुसभित्रको समयमा भटमासको प्रशोधित तेल विराटनगरबाट १ करोड १९ लाख ७५ हजार २ सय ३८ केजी निर्यात भएको थियो। कोरोना कहर सुरु हुनु अघिको त्यसबेलाको दाँजोमा यसपटक तीन गुणा बढी निर्यात भएको छ। चालु आर्थिक वर्षको सोही अवधिमा भटमासको तेल ३ करोड ३४ लाख ९० हजार ९ सय ८१ केजी निर्यात भएको छ।
भन्सारको तथ्यांक अनुसार यसरी धेरै निर्यात हुने सामानको सूचीमा सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, झोला, जीआइ वायर, चाउचाउ, नुडल्स, तामाका सीट, पिना, सनपाटको धागो जस्ता सामग्री छन्। निर्वाध रुपमा उद्योगहरु सञ्चालन हुँदा यो उत्साहजनक सूचक देखिएको उद्योगीहरु बताउँछन्।