नेपालका तीन ठूला व्यावसायिक घरानाको लगानीमा नयाँ सिमेन्ट उद्योग खुलेको छ। निर्माण सामग्री उत्पादन गर्दै आएका व्यावसायिक घरानाले संयुक्त लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन्।
स्टिल, सिमेन्ट उत्पादन गर्दै आएका शंकर समूह, अम्बे समूह र गोल्छा अर्गनाइजेसनको संयुक्त लगानीमा खुलेको सिमेन्ट उद्योगले उत्पादन सुरू गरिसकेको छ।
उद्योगले अहिले उत्पादन सुरू गरिसकेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए।
'माघदेखि उद्योगबाट क्लिंकर उत्पादन सुरू भइसकेको छ', अग्रवालले सेतोपाटीसँग भने। सिरहाको कर्जन्हा नगरपालिकामा रहेको उद्योगबाट उत्पादन भएको सिमेन्ट छिट्टै बजारमा पुग्ने उनको भनाइ छ।
दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगमा हालसम्म १५ अर्ब लगानी भएको छ। दोस्रो चरणमा बजारको मागका आधारमा क्षमता विस्तार गरिने अग्रवालले जानकारी दिए।
उद्योगमा लगानी गरेका तीनै घराना आफैंले निर्माण सामग्रीको उत्पादन गर्दै आएका छन्। शंकर समूहले जगदम्बा सिमेन्ट उत्पादन गर्दै आएको छ भने अम्बे समूहले अम्बे सिमेन्ट उत्पादन गर्दै आएको छ।
यो दुबै समूहको सयुक्त लगानीमा रिद्धीसिद्धी सिमेन्ट पनि छ। यही रिद्धीसिद्धी सिमेन्टले गोल्छा समूह अन्तर्गतको सिके गोल्छासँगको सहकार्यमा सौर्य सिमेन्ट उद्योगको स्थापना गरेको हो।
निर्माण सामग्रीको उत्पादनमा अनुभव तथा बजार सञ्जाल ठूलो भएकाहरूले नयाँ परियोजना सुरू गर्दा राम्रो प्रतिफल आउने विश्वासमा यो उद्योग स्थापनाको अवधारणा अघि बढेको अग्रवालले बताए।
उदयपुरको चुनढुंगाको गुणस्तर नेपालकै राम्रो भएकाले यसले बजार पनि राम्रो लिने र यसबाट सबैलाई हित हुने अग्रवालको विश्वास छ।
सौर्य सिमेन्टको चुनढुंगा खानी उदयपुरको कटारी नगरपालिका आहलेमा छ।
राम्रो चुनढुंगाकै कारण उदयपुर सिमेन्ट उद्योगको सिमेन्टको माग बजारमा सधैं उच्च छ। यद्यपि यो सरकारी स्वामित्वको उद्योगले मागअनुसारको उत्पादन गर्न सकेको छैन।
सौर्य सिमेन्टको उद्योग स्थापनाको काम सन् २०१८ मा सुरू भएको थियो।