निर्माण व्यवसायमा अग्रणी रहेको कालिका समूहले काठमाडौं उपत्यकामा नयाँ अपार्टमेन्ट परियोजना सुरु गर्ने भएको छ। २०७२ सालको भुँइचालोपछि सुस्ताएको सामूहिक आवास क्षेत्रमा कालिकाले नयाँ परियोजना सुरु गर्ने भएको हो।
काठमाडौंको नक्साल क्षेत्रमा अपार्टमेन्ट बनाउनका लागि जग्गा खरिद गरिसकेको कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक निकोलस पाण्डेले जानकारी दिए।
साझेदारीमा सञ्चालन हुने यो अपार्टमेन्ट परियोजनाका लागि कालिका समूहले रोयल स्टेट नामको कम्पनी दर्ता गरिसकेको छ। कम्पनी दर्ता भएर अहिले डिजाइनको क्रममा रहेको पाण्डेले जानकारी दिए।
डिजाइन तयार भएपछि आवास निर्माण अनुमतिका लागि प्रक्रिया सुरु गरिने उनको भनाइ छ। सरकारले अनुमति दिएपछि निर्माण सुरु हुने छ।
६० युनिट हुने अपार्टमेन्ट लोकेसनका कारण पनि प्रिमियम हुने छ। आधुनिक तथा सुरक्षित निर्माण, सुविधाका कारणले उच्च वर्गका उपभोक्ता लक्षित हुने कम्पनीको विश्वास छ।
यो परियोजनाका लागि जग्गासहित झन्डै २ अर्ब लगानी हुने पाण्डेको अनुमान छ।
भुँइचालोपछि अग्ला भवनमा बस्न मान्छेहरु डराउने अनुमानकै कारणले नयाँ परियोजना सुरु नभएको बुझेका पाण्डे सुरक्षाको प्रत्याभुति दिनका लागि पनि पहिलो परियोजना सुरु गर्न लागिएको बताउँछन्।
'मान्छेमा अग्ला घरको भयमात्र छ। तर वास्तविकता भुँइचालोका कारण कुनै पनि हाइराइज बिल्डिङमा मानवीय क्षति भएन। सुरक्षा र सुविधाका कोणबाट पनि यस्तो आवास उपयुक्त हुन्छ भनेर हामी विश्वास दिलाउछौँ',उनले भने।
जनचेतना फैलाउन सकिएमा अपार्टमेन्टको माग अहिले पनि रहेको उनको विश्वास छ।
निर्माण क्षेत्रमा लामो अनुभव भएको कालिका समूह आफैंले बनाउने परियोजनामा भवनलाई सुरक्षित बनाउन अत्याधिक प्रविधिको प्रयोग गर्ने पाण्डेको भनाइ छ।
'हामीसँग अनुभव पनि छ। हामी अहिलेको समयमा उपलब्ध सबैभन्दा राम्रो र सुरक्षित प्रविधिको प्रयोग गर्छौं। यसबाट हामी ढुक्कका साथ उपभोक्तालाई कन्भिन्स गर्नसक्छौँ', उनले भने।
कालिका समूह अन्तर्गतको कालिका कन्स्ट्रक्सन नेपालको क वर्गको निर्माण कम्पनी हो।
नेपाल बाहिरसमेत निर्माणको काम गर्दै आएको यसले नेपालमा सडक, पुल, भवन, सिंचाइ, जलविद्युतलगायत निर्माणका क्षेत्रमा काम गर्दै आएको छ।
निर्माण क्षेत्र बाहेक यो समूह आफैंले जलविद्युतमा पनि लगानी गरेको छ। निर्माण सामग्रीको उत्पादनमा समेत लगानी विस्तार गरेको कालिकाका लागि रियलस्टेट व्यापार यो पहिलो हुने छ।