एसजी समूह अन्तर्गतको फिट इन्डष्ट्रिजले नेपालमै उत्पादन गरेको इनर्जी बार बजारमा ल्याउने भएको छ।
उद्योगले बजारमा चकलेट ल्याउन लागेको हो। यसमा विभिन्न फ्लेभर हुने उद्योगका अध्यक्ष सुगम घिमिरेले जानकारी दिए।
कन्फेक्सनरीमा नेपालमा यस्तो उत्पादन पहिलोपटक हुन थालेको उनको दाबी छ।
‘यो चकलेट हो। यसमा खाद्यान्न मिसाएर बनाइन्छ। यस्तो उत्पादनमा नेपालमा पहिलोपटक भएको हो,’ उनले भने।
फिट बार नामबाट बजारमा आउने यस्तो चकलेट पहिलो चरणमा तीन स्वादमा आउने घिमिरेले जानकारी दिए। उनका अनुसार फिटबार मह, पिनट, कफी स्वादमा आउने छ।
आगामी दिनमा उद्योगको क्षमता विस्तार गर्दै अरु फ्लेभर तथा क्याटोगोरीका उत्पादन थप गर्दै जाने घिमिरेलेको भनाइ छ। प्रोटिन बिस्कुट, जुस जस्ता उत्पादन थप गर्दै जाने उनले बताए।
नेपालको आन्तरिक इन्धन बजारमा अग्रणी रहेको यो ग्रुपको पहिलो एफएमसिजी उत्पादन हो। एसजीले हालसम्म इन्धन, जलविद्युत उत्पादन, अटोमोबाइल, चिया र कन्स्ट्रक्सनमा काम गर्दै आएको छ।
एसजीले यो उद्योग कोरोना महामारी सुरु भएपछि सुरु गरेको हो। अन्य व्यापार डाउन भएको समयमा लगानी विस्तारका रुपमा यो उद्योग रोजिएको घिमिरेले जानकारी दिए।
पाँच महिनामै तयार भएको यो उद्योगमा हालसम्म ५ करोड लगानी भएको उनको भनाइ छ।
नेपालमा पछिल्लो समय यस्तो चकलेटको बजार बढ्दै गएको तर अहिलेसम्म विदेशबाट आयातमात्र भएकाले स्वदेशमै उत्पादन गर्न खोजिएको उनको भनाइ छ।
‘हाम्रो पहिलो ध्यान भनेको अहिले विदेशबाट आइरहेका यस्तै उत्पादनको बिकल्प दिने हो। विस्तारै अरु उत्पादन पनि हामी थप गर्दै आयात प्रतिस्थापनमा सहयोग गर्छौ,’ उनले भने।