दुनियाँको सात आश्चर्य ठाउँ पुग्न मन छ? अमेजनको जंगल नि? कि समुद्रभित्रको संसारमा माछा र जलपरीसँग फोटो खिच्न मन छ?
यी ठाउँमा फोटो खिचेको अनुभव लिन अब हजारौं खर्चेर विदेश धाइरहनुपर्दैन। काठमाडौंकै एक संग्रहालयमा प्रत्यक्ष अनुभव गर्दै विभिन्न 'पोज' मा खिच्न सकिन्छ।
काठमाडौं मलमा थ्रीडी संग्रहालय 'आर्ट इन प्याराडाइज' खुलेको छ। मलको पाँचौं तलामा रहेको आर्ट इन प्याराडाइज नेपालकै पहिलो थ्रीडी संग्रहालय भएको सञ्चालकहरू बताउँछन्। यहाँ कोरिएका चित्र झट्ट हेर्दा सामान्य लाग्नसक्छ। तर यहाँ फोटो, भिडिओ खिचाएर हेर्नुस्, थ्रीडी चित्रको भिन्नता आफैं पत्ता लाग्नेछ।
यहाँ नौ थ्रीडी सेक्सनसँगै एउटा फोरडी र एउटा ३६० डिग्री भ्यू सेक्सन छ। सांस्कृतिक, संसारका सात आश्चर्य, फ्यान्टासी वर्ल्ड, अमेजन जोन, हिमाली भेग, जलीय तथा ध्रुवीय क्षेत्र, एक्वारियम वाकवे र समुद्रको गहिराइ अनुभूति थ्रीडीमा पाउन सकिन्छ।
फोरडीमा हिमश्रृंखलाको अनुभव पाउन सकिन्छ। हिमालमै पुगेको अनुभव दिन यहाँको तापक्रम -४ डिग्रीसम्म पुर्याइन्छ। फिँजको मद्दतबाट 'हिउँ' पनि पारिन्छ। यो सेक्सनमा हिमालको टुप्पोमा पुगेर झन्डा फहराउँदै फोटो र भिडिओ खिचाउन सकिन्छ।
दुनियाँको सात आश्चर्य ठाउँ, अमेजन जंगल, काल्पनिक फेरिल्यान्डदेखि समुद्रभित्रको संसार हामी 'आर्ट इन प्यारडाइज' प्रवेश गरेसँगै अनुभव गर्न पाउनेछौं।
'हामीमध्ये धेरैलाई घुमफिर मनपर्छ। तर समय र आर्थिक अभावका कारण इच्छा टार्न बाध्य हुन्छौं,' आर्ट इन प्याराडाइजका सह-सञ्चालक लाक्पा छिरिङ शेर्पा भन्छन्, 'अब एकै ठाउँबाट संसार डुलेको अनुभूति पाउन सकिन्छ।'
लाक्पा होटल व्यवसायी हुन्। उनीसहित पर्यटन क्षेत्रकै पाँच साथी प्रदीप शर्मा, तोपनाथ सापकोटा, कुल तामाङ र भीम पराजुली यसका सह-सञ्चालक हुन्। उनीहरूले आर्ट इन प्याराडाइजको योजना सन् २०१९ मै बनाएका थिए।
टोलीले यो अवधारणा थाइल्यान्डस्थित 'आर्ट इन प्याराडाइज'बाट पाएका हुन्। सह-सञ्चालक प्रदीप र भीम झन्डै दुई वर्षअघि थाइल्यान्ड पुगेका थिए। त्यही बेला उनीहरू त्यहाँको आर्ट इन प्याराडाइज घुमे। त्यही अवधारणा नेपाल भित्र्याएर थ्रीडी संग्रहालय खोल्ने योजना बुने। भ्रमण वर्षका लागि यसको तयारी भए पनि काम तीव्र थिएन।
यसबीच कोरोना महामारी र लकडाउनले होटल र पर्यटन व्यवसाय धरापमा पर्यो। यस्तो अवस्थामा उनीहरूले बुझे, 'एउटै व्यवसायको भर गरेर हुँदैन। आम्दानीको वैकल्पिक श्रोत आवश्यक पर्छ।'
महामारीले सिकाएको पाठले लामो समयदेखि योजनामा रहेको संग्रहालयले साकार रूप पाएको लाक्पा बताउँछन्। सह-सञ्चालकहरूबाहेक यतिबेला आर्ट इन प्याराडाइजमा नौ जना कर्मचारी छन्। उनीहरूले आगन्तुकलाई संग्रहालय घुमाउँछन्, फोटा र भिडिओका खिच्न पोज दिन सिकाउँछन्।
यहाँ मार्केटिङ क्षेत्र सम्हालिरहेका सोनाम ज्याङ्बू शेर्पा यस प्रकारको संग्रहालयले राजधानीमै आन्तरिक र बाहिरी पर्यटन व्यवसाय बढाउन मद्दत पुर्याउने बताउँछन्। संग्रहालयमा थ्रीडी चित्र बनाउन थाइल्यान्डबाटै चार जना चित्रकारको टोली बोलाइएको पनि सोनामले जानकारी दिए।
'नेपालमा थ्रीडी चित्रकार नभएका होइनन्। तर हामीले सम्झौतामा काम गरेकाले उतैबाट बोलायौं,' सोनामले विदेशी चित्रकार बोलाउनुको कारण खुलाउँदै भने। यहाँको चित्र सबै हातैले बनाइएका हुन्।
झन्डै ४५ दिनमा ती चित्रकारले थ्रीडी चित्रकला बनाइसके। तर सबै पूर्वाधार तयार गर्न झन्डै एक वर्ष लाग्यो। योजनाअनुसार काम भइरहेका बेला लकडाउन भइदियो।
'काम सुरू गरेको तीन महिनापछि लकडाउन भयो, दुई महिना सबै रोकियो,' सह-सञ्चालक लाक्पाले भने। लकडाउन खुलेसँगै उनीहरूले तीव्र गतिमा काम थाले। आज शुक्रबारदेखि आधिकारिक रूपमा सार्वजनिक हुँदै आर्ट इन प्याराडाइज खुलेको छ।
यहाँको थ्रीडी सेक्सनमा एकपटकमा ६० जनासम्म र फोरडी सेक्सनमा १५ जनासम्म अटाउने क्षमता भएको सोनाम बताउँछन्।
'तर यहाँ आउनुअघि प्रि-बुकिङ गर्नुपर्छ। तालिकाअनुसार आगन्तुकलाई एक घन्टासम्म घुमाउँछौं,' उनले भने। सात हजार पाँच सय स्क्वायरफिटमा फैलिएको आर्ट इन प्याराडाइज घुम्न कम्तीमा एक घन्टा लाग्छ। यहाँ १५० भन्दा बढी पोजमा फोटो खिच्न सकिने सोनाम बताउँछन्।
उनका अनुसार आर्ट इन प्याराडाइज प्रवेश गर्न प्रतिव्यक्ति पाँच सय रूपैयाँ लाग्छ। पाँच वर्षमुनिका बालबालिकालाई २० प्रतिशत छुट छ भने दस जनाभन्दा बढीको समूहमा आउनेलाई पनि विशेष छुट दिइन्छ। आफ्नो व्यक्तिगत क्यामरा र स्मार्टफोन नभए थप शुल्कसहित त्यहीँका फोटोग्राफरबाट फोटा खिचाउन सकिन्छ।
आर्ट इन प्याराडाइज सञ्चालकहरूका अनुसार उनीहरू अझै परीक्षण चरणमै छन्। अझै संग्रहालयमा आगन्तुकको प्रतिक्रिया र मागअनुसार परिवर्तन र सुधारका काम बाँकी छ।
'हामी अझै विभिन्न परीक्षण गर्दैछौं। कसरी थ्रीडीको उत्कृष्ट अनुभव दिन सक्छौं भन्ने बुझिरहेकै छौं,' उनीहरूले भने।
तस्विर/भिडिओः निशा भण्डारी र सुसन चौधरी