पाँच वर्षअघि सजल जोशी स्नातक पहिलो सेमेस्टर पढ्दै थिए। अध्ययनभन्दा बढी साथीसंगीसँग रमाइलो गर्न र घुम्न तम्सन्थे। एकदिन साथीको जन्मदिन मनाउन ठमेल पुगे। पार्किङमा बाइक राखे, हेलमेट त्यहीँ छाडे।
'पार्किङमा बाइकसँगै हेलमेट छाडेको थिएँ,' सजलले त्यो दिनको घटना सुनाए, 'बेलुका फर्कने बेला त हेलमेट थिएन।'
सजलको बसाइ बालकुमारी। झपक्कै साँझ परिसकेको थियो। हेलमेट नभएपछि हिँडेरै घर पुगे।
पार्किङबाट हेलमेट हराउनु काठमाडौंको 'सामान्य' समस्या हो। सजलले जस्तै अर्को हेलमेट लिएर भोलिपल्ट बल्ल बाइक लिन जानुपर्ने बाध्यता छँदैछ।
ठमेलमा झेलेको यो झमेलापछि सजललाई लाग्यो- पसल चहारेर किन्नुपर्ने हेलमेट अर्डर गर्दा भनेकै ठाउँमा आइपुग्ने भए! यस्तो आपतमा हेलमेट डेलिभरी सेवा भए बाइक छाडेर जान पर्थेन।
उनले आफ्नो यो सोच कलेजकी साथी प्रार्थना सांखलाई सुनाए। कलेज अफ म्यानेजमेन्टका विद्यार्थी उनीहरूको भेट 'करिअर क्लब' भएको हो जहाँ प्रार्थना अध्यक्ष थिइन्। क्लबमा विभिन्न व्यावसायिक आइडियामा छलफल हुन्थ्यो।
दुवैबीच 'इमर्जेन्सी हेलमेट डेलिभरी सेवा' पुर्याउन सके धेरै चालकको समस्या सुल्झाउन सकिन्छ भन्नेबारे छलफल चल्यो। अनलाइनबाट यो सेवा सुरू गर्ने योजना बनाए।
'हेलमेटसम्बन्धी काम सुरू गरेकाले नाम पनि हेलमेट्स नेपाल राख्यौं,' सजल भन्छन्।
आपतकालीन अवस्थामा अनलाइनबाट हेलमेट डेलिभरी सेवा सुरू गरेको कम्पनीको अहिले माइतीघर र टेकुमा सोरूमै खुलिसकेको छ। हेलमेट, पन्जा, ज्याकेट, जुत्ता, राइडिङ गियर्सलगायत बाइक/स्कुटर चलाउँदा चाहिने सरसामान कम्पनीले उपलब्ध गराउँछ।
सन् २०१६ मा जम्मा ५० हजार रूपैयाँबाट सुरू कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन आफूहरू धैर्य र लगन साथ लागिपरेको सञ्चालकद्वय बताउँछन्। उनीहरूले अनलाइन सेवा थाल्दा इ-कमर्स अहिलेजस्तो सहज थिएन। तै पनि आँटेर सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत काम थाले। व्यवसाय सुरू गरेसँगै सामाजिक चुनौती पनि झेले।
'अनलाइनबाट हेलमेट कसले किन्ला र?' साथीभाइको प्रश्नले हतोत्साही पार्थ्यो। गरिररहेको कामबाट कमाइ नभएपछि परिवारको किचकिच पनि बढ्यो। सानै उमेरमा व्यवसाय गर्नुभन्दा जागिर खाए हुन्थ्यो भन्थे।
'त्यहीँ माथि छोरी मान्छे यस्तो काममा किन लाग्नुपर्यो भन्ने सोच्नुहुन्थ्यो,' हेलमेट्स नेपालकी प्रबन्ध निर्देशक २४ वर्षीया प्रार्थना सुरूआती क्षण सम्झिन्छिन्, 'पहिले ग्राहकसँग कुरा गर्नुपर्दा समेत निकै समस्या हुन्थ्यो। म केटी भएकाले होला, मेरो कुरा सुन्न गाह्रै मान्थे। बेवास्ता गर्ने। म सेवाका लागि तत्पर भए पनि मलाई सोध्नै हिचकिचाउँथे।'
तर प्रार्थना यी सबै झेल्दै, बुझ्दै डटिरहिन्। धेरैले व्यवसायको जोखिम नलिन भने पनि उनीहरू पछि सरेनन्।
'विस्तार गर्न सके भइहाल्यो, नभए पनि केही त सिकिन्छ भनेर काम थाल्यौं,' उनी भन्छिन्।
छ महिना अनलाइनबाट मात्रै सेवा पुर्याएको हेलमेट्स नेपालको पछि अनामनगरमा सोरूम खुल्यो। त्यही सोरूम दुई वर्षअघि टेकु सरेको हो। अनलाइनबाट र प्रत्यक्ष भेटमा ग्राहकसँग कुरा गर्दा भिन्नै अनुभूति भएको प्रार्थना बताउँछिन्।
भन्छिन्, 'आमनेसामने हुँदा सामानबारे मात्र नभई उहाँहरूका कथा र अनुभव सुन्न पाइन्छ। उहाँहरूको अभिव्यक्तिबाट धेरै बुझ्न पाइन्छ।'
ग्राहक सेवाका लागि हेलमेट्स नेपालमा विभिन्न छ विभाग छन्। कोरोनाअघि ३५ जनाले काम सम्हाले पनि अहिले केही कम छन्। अहिलेसम्म ३५ हजार बढी ग्राहकलाई सेवा पुर्याएको सञ्चालकहरू दावी गर्छन्।
हेलमेट्स नेपालले एजिभी, भेगा, स्टिलबर्ड, केवाइटी जस्ता १८ भन्दा बढी ब्रान्डका हेलमेट बेचिरहेको छ। ब्रान्डअनुसार १५ सयदेखि एक लाख ७० हजार रूपैयाँसम्म पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सजल बताउँछन्।
धेरैले महँगा बाइक-स्कुटर किने पनि हेलमेटलगायत सुरक्षा सामग्रीमा खर्च गर्न हिचकिचाउने सजल बताउँछन्। भन्छन्, 'आफ्नो सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ। विभिन्न चलेका ब्रान्ड नाममा नक्कली सामान बिक्री भइरहन्छ। गुणस्तर बिनाको कमसल हेलमेटले सुरक्षा गर्दैन। त्यसैले सामान किन्दा धेरै ध्यान पुर्याउनुपर्छ।'
हामीकहाँ दुईपांग्रे चलाउनेको संख्या धेरै छ। दुर्घटनामा पर्ने र जोखिम पनि उनीहरूलाई नै बढी। राम्रो हेलमेट लगाउने हो भने धेरै जोखिमबाट बच्न सकिने सजल बताउँछन्, 'राम्रो हेलमेट भए दुर्घटना परिहाले पनि बढी क्षति हुनबाट जोगाउन सक्छ।'
कम्पनीले सडक सुरक्षा सचेतना कार्यक्रम पनि गर्छ। 'प्रोजेक्ट प्रयास', 'राइडर्स फोटो प्रतियोगिता', 'काठमान् डु एन्ड काठमान् डन्ट' उदाहरण हुन्। साथै यहाँबाट हेलमेट लिने ग्राहकको एक लाखदेखि पाँच लाखसम्मको दुर्घटना बीमा कम्पनीले नै गरिदिने पनि सजल बताउँछन्। यो बीमा सेवा एक वर्ष लागू हुनेछ।
हेलमेट्स नेपालले भविष्यमा आफैं उत्पादन गर्ने पनि योजना बनाएको छ।
सञ्चालकद्वय भन्छन्, 'हाम्रा हरेक सामग्रीले सुरक्षा दिऊन् भन्ने हाम्रो लक्ष्य हो।'