व्यावसायिक घराना शंकर समूहले पोखरामा वेलनेस होटल निर्माण गर्ने भएको छ।
निर्माण सामग्री तथा अटोमोबाइल क्षेत्रमा सफल व्यावसायिक घराना शंकर समूहले हस्पिटालिटी क्षेत्रमा थप लगानी गर्ने भएको हो।
समूहले पोखरामा वेलनेस होटल बनाउनका लागि जग्गा खरिद गरिसकेको छ। होटल निर्माणका लागि डिजाइन तथा अन्य तयारीका काम भइरहेको समूहका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जानकारी दिए।
वेलनेस होटलका लागि ३० रोपनी जग्गा खरिद गरिएको उनले जानकारी दिए।
शंकर समूहले बनाउने यो होटल धेरै ठूलो नहुने तर उच्च मूल्यको सेवा दिनेगरी निर्माण हुने छ। 'प्रिमियम सेगमेन्टका ग्राहकलाई लक्षित गरेर परियोजना निर्माण हुने छ। धेरै मूल्य तिरेर राम्रो सेवा लिने ग्राहकका लागि यो होटल निर्माण हुने छ' अग्रवालले सेतोपाटीसँग भने।
हाल ठूला तारे होटलहरुले नै वेलनेस सेवा दिएर वेलनेस होटलको नाम दिइरहेका छन्। थोरै संख्यामा मात्र वेलनेस होटलहरु खुलेका छन्।
वेलनेस केन्द्रित भएर खुलेको र पोखराको लोकेसनले गर्दा धेरैको रोजाइमा पर्नेगरी सञ्चालनमा ल्याइने अग्रवालले जानकारी दिए।
'अहिले कतिपय नेपालीहरु गुणस्तरीय वेलनेसका लागि विदेश जान्छन्। कयौं विदेशीहरु अरु देशमा जान्छन्। हामीले विश्वकै राम्रो सेवा पाइने ठाउँको जस्तै सेवा पोखरामा दिन खोजेका छौं' उनले भने।
यो परियोजनामा १ अर्ब रुपैयाँ लगानी हुने अग्रवालको अनुमान छ।
स्टिल, सिमेन्ट र अटोमोबाइल क्षेत्रमा लगानी तथा व्यापार गरिरहेको यो समूहले काठमाडौंमा पाँचतारे होटल निर्माण गरिरहेको छ। हिल्टन होटलको फ्रेन्चाइजी ल्याएर काठमाडौंमा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा रहेको समूहले हस्पिटालिटी क्षेत्रमै लगानी थप गरेको हो।