नेपाल चेम्बर अफ कमर्सले उद्योग व्यवसाय दर्ता प्रक्रिया सहज पारिदन माग गरेको छ।
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरुसँगको भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग तथा व्यवसाय दर्तामा रहेको झन्झटिलो प्रक्रिया अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका थिए।
“उद्योग तथा व्यवसाय सञ्चालन गर्न सरकारका फरकफरक निकायमा दर्ता गर्न दौडनुपर्ने अवस्था अन्त्य नगरी औद्योगिकरण तथा उद्यमशीलताको विकास हुँदैन”, उनले भने “दर्ता र कर लिने काम एकद्वार प्रणालीबाट नहुँदा व्यवसायीहरूले अनावश्यक झन्झट बेहोर्नुपरेको छ।”
संघीय, प्रदेश तथा स्थानीय तहका फरकफरक निकायहरूमा दर्तादेखि करसम्मको प्रक्रियाले गर्दा व्यवसायीहरू मारमा परेकाले सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन गर्ने सरकारको निर्णयमा आशातीत प्रगति नहुँदा उद्योगी व्यवसायीहरूलाई यसले उत्साही बनाउन नसकेको उनले बताए।
छलफलमा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारका नीति नियम तथा कानुनबीच तादाम्यता मिलाएर व्यवसायिक वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए।