सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि भन्दै ल्याइएका चिनियाँ जहाज नउडाउने निर्णय गरिसकेको छ।
गएको साउन १५ गतेदेखि ग्राउन्डेड गर्ने निर्णय गरेको एयरलाइन्सले जहाज व्यवस्थापन(बिक्री वा फिर्ता) लागि सरकारको अनुमति कुरिरहेको छ।
जहाज नउडाउने भएपछि बिक्री तथा भाडामा दिने वा कम्पनीलाई नै फिर्ता गर्नस सकिने बिकल्प एयरलाइन्सको व्यवस्थापनले सुझाए पनि जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनलले भने जहाज फिर्ता नलिने सन्देश नेपाल सरकारलाई दिइसकेको छ।
एकातिर जहाज नचलाउने निर्णय एयरलाइन्सले गरिसकेको छ भने अर्कोतिर चीनले जहाज फिर्ता नलिने स्पष्ट सन्देश बेइजिङस्थित नेपाली दुतावास मार्फत् पठाइसकेको छ।
नेपाल एयरलाइन्सले चीनमा निर्माण भएका यी जहाज सञ्चालन गर्न नसक्ने केही कारण दिएको छ। ६ वटा जहाज चलाउँदा वार्षिक ५० करोड नोक्सानी भएको र भविष्यमा यति धेरै नोक्सानी बेहोरेर जहाज चलाउन नसकिने व्यवस्थापनको तर्क छ।
पटकपटक भएका अध्ययन तथा सिफारिसका आधारमा जहाज व्यावसायिक रुपमा चलाउन सकिने अवस्था नभएको भन्दै एयरलाइन्सले नउडाउने निर्णय गरेको थियो। बीमाको प्रमियम महंगो भएको, पाइलट नभएको, तालिम महंगो, पार्टस समयमै नपाइने जस्ता कारणले गर्दा उडान नसकिने निर्णय गरिएको थियो।
यी र यस्तै कारणले गर्दा यी जहाज उडाउँदा एयरलाइन्सलाई गएको पाँच वर्षमा १ अर्ब ९० करोड नोक्सानी भएको व्यवस्थापनले बताएको छ।
नेपाल एयरलाइन्सका अध्यक्ष तथा जहाज ग्राउन्डेड गर्ने समयमा कार्यकारी अध्यक्ष रहेका सुशिल घिमिरेले भने विभिन्न समयका अध्ययन तथा सिफारिसका आधारमा नचलाउने निर्णय गरिएको बताउछन्।
'चलाउनै नसकिने भनेर सबैले सुझाव दिएपछि हामीले बोर्डबाट ग्राउन्डेड गर्ने निर्णय गरेका थियौं' उनले भने।
व्यवस्थापनले दिएका तर्कहरु स्वयम् एयरलाइन्सकै प्राविधिकहरुले खण्डन गरेका छन्। उनीहरुले व्यवस्थापनले आफूले जहाज चलाउन नसकेको दोष विभिन्न तर्क बनाएर पन्छिन खोजेको आरोप लगाएका छन्।
व्यवस्थापनले दिएको पहिलो आधार बीमा रकमको कुरा गरौं। यसमा उनीहरुले अन्य जहाजको तुलनामा ३५ प्रतिशत महंगो भएको कुरा गरेका छन्।
तर एयरलाइन्सहरुको व्यापारमा दुर्गम क्षेत्रमा उड्ने जहाजहरुको बीमा रकम स्वभाविक महंगो हुने गर्छ। व्यवस्थापनले भने अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुसँग तुलना गरेको छ।
फरक प्रकृतिको जहाजसँग तुलना गरेर व्यवस्थापनले आफ्नो अक्षमता लुकाउन खोजेको इन्जिनियरहरुले आरोप लगाएका छन्।
दोस्रो आधार स्पेयर पार्टस महंगो भनिएको छ। व्यवस्थापनले यसो भने पनि चिनियाँ जहाजमा प्रयोग हुने इन्जिन एटिआर जहाजमा लाग्ने कम्पनीले नै निर्माण गर्ने हो। त्यसैले यसमा लाग्ने अधिकांस पार्टसहरु त्यही प्रकृतिका हुने गर्छन्। तर जहाजको बडी र डिजाइनमात्र चिनियाँ हो। यसमा चीनबाटमात्र ल्याउनुपर्ने भनेको जहाजको बाहिरी भाग र टायरमात्र हो।
चिनियाँ जहाज उडाएर घाटामात्र भयो भन्ने व्यवस्थापनको निष्कर्ष आफैमा अपूर्ण छ। किन भने उसले आफूसँग भएको ट्विनटर उडाएर पनि नाफा गरेको छैन। दुर्गम क्षेत्रमा उडान गर्ने यस्ता जहाजको भाडा सस्तो राख्ने भएकाले नेपाल एयरलाइन्सको आन्तरिक उडान वर्षौदेखि नाफामा छैन।
एयरलाइन्स व्यवस्थापनले अर्को कारण दिएको छ। कि चिनियाँ जहाजबाट सबै ठाउँमा उडान गर्न सकिंदैन भनेर। तर एयरलाइन्स आफैले गरेको परीक्षण उडानबाट नेपालका प्राय सबै हिमाली तथा पहाडी क्षेत्रमा वाइ १२ जहाजबाट उडान गर्न सकिन्छ भन्ने पाइएको थियो।
'त्यस्तै पेलोडको कुरा उठाइएको छ। नेपालका हिमाली तथा पहाडी क्षेत्रमा उडान गर्ने प्राय जहाजहरुमा पेलोड अवरोध हुन्छ। अथवा मौसम तथा तापक्रमको आधारमा कुनै पनि जहाजले कतिजनासम्म यात्रु तथा तौल लिएर उडान गर्न पाउने भन्ने यो व्यवस्था ट्विनटरमा पनि लागू हुन्छ' एयरलाइन्समा वाइ १२ जहाज उडाएका एक पाइलटले भने।
निजी क्षेत्रका एयरलाइन्सले उडाउने ट्विनटरबाट पनि लुक्ला उडान गर्दा १४ जनासम्म यात्रु बोक्छन् भने भने चिनियाँ जहाजको पनि लगभग त्यस्तै हुन्छ। बढीमा एकजना यात्रुकोमात्र फरक पर्ने प्राविधिकहरुको भनाइ छ।
त्यस्तै इन्धन महंगो लाग्ने तथा सञ्चालन खर्च बढी हुने निष्कर्ष निकालिएको छ। यहाँनेर पनि व्यवस्थापनले तुलना नै गलत गरेको छ।
एमए ६० जहाज र ट्विनटरको तुलना गरेर इन्धन खपत लागत निकालिएको हो। ट्विनटर र वाइ १२ को इन्धन खपतमा खासै फरक नभएको वाइ १२ जहाजका प्रशिक्षक पाइलटसमेत रहेका फिजोनाथ नेपालीले जानकारी दिए।
'इन्धन तथा अन्य कुराको लागत ट्विनटरजस्तै हो। त्यो भन्दा खासै फरक छैन। यो कुरा म आफैले देखेको छु' नेपालीले सेतोपाटीसँग भने।
उडाउने प्रयास नै भएन
सरकारबीमा सम्झौता हुँदासमेत पनि नेपालमा चिनियाँ जहाज ल्याउनुहुन्न भन्ने पाइलट तथा इन्जिनियरहरुको सुझाव थियो। यद्यपी प्राविधिकहरुलाई गराइएको सम्भाव्यता अध्ययनबाट चिनियाँ जहाजबाट नेपालमा उडान सम्भव हुने उल्लेख गरिएको थियो। तर उक्त समितिले जहाज ल्याउन सिफारिस भने गरेको थिएन।
राजनीतिक तहबाट भएको सम्झौताको आधारमा चिनियाँ जहाज आएपछि नेपाल एयरलाइन्सले यी जहाज उडाउने कुनै पनि चेष्टा गरेन।
जसरी अहिले पाइलट अभाव तथा तयार पार्न महंगो भएको भन्ने व्यवस्थापनले तर्क गरेको छ। तर एयरलाइन्सले कुनै बेला पर्याप्त पाइलट तथा प्रशिक्षक पाइलट तयार पारेको थियो।
नेपाल एयरलाइन्स भित्रको व्यवस्थापकीय राजनीति तथा भद्रगोलका कारण कुनै पनि पाइलट जोगिन सकेनन्। भएका पाइलट पनि अहिले भने जेट उडाउने ठाउँमा गइसकेका छन्।
सन् २०१५ मा एयरलाइन्सले वाइ १२ जहाज उडाउनका लागि भन्दै ६ जना क्याप्टेन तथा ८ जना को पाइलट तयार पारेको थिए। नयाँ प्रविधिको जहाज त्यसमा पहिलोपटक आउँदा सुरुमै पर्याप्त पाइलट हुने भएन।
जेनतेन जनशक्ति सन् २०१५ मै तयार भएको थियो। ६ जना क्याप्टेनमध्येबाट तीन जनालाई प्रशिक्षक पाइलट बनाउने भन्दै एयरलाइन्स व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको थियो। तर तत्कालिन व्यवस्थापनमा रहेका अपरेशन विभाग प्रमुखले दुईजनालाई पाखा लगार एकजनालाईमात्र तालिममा पठाए।
जुन क्याप्टेनलाई उनले तालिममा पठाए उनी ग्रिनकार्डधारी थिए। उनी तालिम सकेर नेपाल आएपछि सरकारले ग्रिनकार्डधारीलाई सेवाबाट हटाउने नियम ल्याएपछि उनले राजिनामा दिए।
उनले राजिनामा दिएपछि नयाँ पाइलट उत्पादनको प्रक्रिया रोकियो र व्यवस्थापनले थप प्रशिक्षक पाइलट उत्पादनको कुनै योजना नै बनाएन।
प्रशिक्षक पाइलट आफैसँग भएको समयमा पनि उसले थप पाइलट उत्पादन गरेन। उल्टै भएका क्याप्टेनहरुलाई राजनीतिक भनसुनको आधारमा जेट जहाज उडानका लागि बढुवा गरियो।
वाइ १२ जहाज उडाउने भन्दै नियुक्त गरिएका पाइलटहरुलाई बढुवा गर्दै जाने अर्कोतिर नयाँ उत्पादन पनि नगर्ने व्यवस्थापकीय प्रवृत्तिका कारण पछिल्लो समय जनशक्ति अभाव हुँदै गयो।
'समग्रमा गएको पाँच वर्षमा नेपाल एयरलाइन्स आफैले पाइलट उत्पादनका लागि कुनै पनि प्रयास नगरेको कुरा भने पक्का हो तर नयाँ प्रविधिको जहाजका लागि जनशक्ति अभाव भयो भनेर उडान रोक्नु नै गलत हो' प्रशिक्षक पाइलटसमेत भएका नेपालीले भने।
यद्यपी पछिल्लो समय महंगो भनिको पाइलट तालिम नेपालमै सस्तोमा हुने व्यवस्था भएको र जनशक्ति उत्पादन सहजै हुनसक्ने अवस्था भएपनि जहाज ग्राउन्डेड गर्ने निर्णय भएको नेपालीले बताए।
'हो पहिले चीनमा तालिम गराउँदा महंगो थियो। एयरबसको भन्दा पनि महंगो थियो। तर पछिल्लो समय हामीले नेपालमै तालिमको व्यवस्था मिलाएका थियौं' उनले भने।
कवाडीको भाउमा जानसक्छन् जहाज
नेपाल एयरलाइन्सले चिनियाँ जहाज नउडाउने घोषणा गरेसँगै यसको व्यवस्थापनमा लागिसकेको छ।
तर जहाज अब कवाडी हुनसक्छन्। उडिरहेका जहाज बिक्री नै गरेपनि त्यसको मूल्यांकन ग्राउन्डेड जहाजको तुलनामा फरक हुन्छ।
यद्यपी अहिले पनि जहाजको एयरवर्दिनेसका लागि मर्मतसम्भार गरिरहेको नेपाल एयरलाइन्सका अध्यक्ष सुशिल घिमिरेले जानकारी दिए।
नेपाल एयरलाइन्सले चिनियाँ जहाज ल्याएदेखि सञ्चालन गर्नका लागि जे प्रयास गर्नुपर्ने थियो। त्यस्तो कुनै पनि मेहनत गरेको देखिएको छैन।
भएका ट्विनटर जहाज पनि सञ्चालन नगरी बसेको एयरलाइन्सले चिनियाँ जहाजमात्र नचलाएको होइन। चारओटा जहाज भएका तारा एयर, समिट तथा सीता एयरले दुर्गममा जसरी उडान गरिरहेका छन् नेपाल एयरलाइन्ससँग पनि तीनवटा त ट्विनटर जहाज पनि छन्। तर उडान र नाफा ती जहाजको पनि भएको छैन।
नेपाल एयरलाइन्सको व्यवस्थापनमा बस्नेहरुको असक्षमताका कारण नयाँ जहाजको परीक्षण नै हुन नपाइ ग्राउन्डेड भइसकेका छन्।
जहाज उडान नसकेको कुरा त नेपाल एयरलाइन्स आफैले निकालेको प्रष्टिकरणबाट थाहा हुन्छ। जनशक्तीको अभाव भनेको वाइ १२ मा थियो।
क्याप्टेन नेपाली नेपाल एयरलाइन्स आफूले जहाज उडान प्रायस नै नगरेपनि निजी क्षेत्रलाई दिएर लागत उठाउनुपर्ने बताउछन्।
एयरलाइन्सका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल भने आफू आउनुअघि नै ग्राउन्डेड गर्ने निर्णय भएकाले त्यसमा आफूले थप कुनै पनि निर्णय लिनसक्ने अवस्थामा नभएको बताउछन्। आर्थिक भार पर्ने भएकाले सरकारको जस्तो निर्णय आउछ त्यसलाई कार्यान्वयन गर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ।
'अहिलेसम्म हामीले जहाज व्यवस्थापनका लागि विभिन्न विकल्पसहित सरकारसमक्ष अनुमितका लागि प्रस्ताव गरेका छौं। यसमा सरकारले अनुमति दिएमा सोहीअनुसार काम गर्छौं। हैन उडाउ भन्यो भने त्यहीअनुसार फेरि काम गर्नुपर्छ' उनले भने।