काठमाडौंमा ठिकठाक 'चियावाला' चलाइरहेका फिल्म निर्देशक गणेशदेव पाण्डे जब जन्मथलो बुटवल पुगे, धेरैले हतोत्साहित गर्दै भनेछन्, 'हेर! कस्तो सुनसान ठाउँमा चिया पसल खोल्न लागेका होला? काठमाडौंमा कमाएको पैसा पनि डुबाउने भयो।'
उनी बुटवलको निमचोकमा तीन महिनाअघि चिया पसल खोल्ने हठ बोकेर गएका थिए। काठमाडौंमै नयाँ 'आउटलेट' खोल्ने सोचका साथ विभिन्न ठाउँ चहारे पनि संजोग बुटवलमा जुरेको थियो।
त्यहाँको सुनसान बस्तीमा चिया पसल खोल्ने भन्दा उनको परिवारले नै भने, 'बरू बुटवलकै मुख्य चोकमा खोलेको भए हुने। यता त चल्न नि गाह्रो होला!'
गणेश भने ढुक्क थिए, 'मलाई जे रमाइलो लाग्छ, त्यही गर्छु। अनि जे गर्छु त्यो खत्रै हुन्छ।'
नभन्दै दुई साताअघि लगभग चकमन्न ठाउँमा खुलेको नयाँ 'चियावाला' अहिले बुटवलसँगै आसपासका चोक र ठाउँका मान्छेलाई पनि आकर्षण बनेको छ। चियाको फरक-फरक स्वाद त छँदैछ, तीनतले परम्परागत शैलीको घरले पनि मान्छेलाई तानेको छ।
काठमाडौं र बुटवल चोकतिरका साथीभाइले पनि सोध्न थालेका छन्, 'ओहो! त्यति राम्रो घर कसरी फेला पारेको?'
भिडिओ च्याट गर्दै गणेशले हामीलाई निमचोकको चियावालाको 'भर्चुअल टूर' गराए। सँगै घर अनि त्यस ठाउँसँग जोडिएका इतिहास पनि खोले।
यो घर पुनर्निर्माण भएको ६२ वर्षअघि हो। तर यहाँ करिब दुई सय वर्षअघि नै पुरानो घर भएको घरवालाहरू बताउँछन्। यो पाल्पाका मास्केहरूको घर हो, जो बुटवलमा पहिले कपडा व्यापार गर्थे। भारत, पहाडदेखि आएका व्यापारीलाई उनीहरूले बस्ने र खाने व्यवस्था मिलाइदिन्थे। लडाइँका फौजीहरूलाई रासन-पानी पनि पुर्याउँथे।
सहर फराकिलो हुँदै जाँदा अन्य ठाउँमा व्यवसाय विस्तार हुन थाल्यो, यो घर जिर्ण हुँदै गयो।
त्यसैले पछिल्लो पुस्ताका घरधनी सन्जीव मास्के यस्तो मान्छेको खोजीमा थिए, जसले घर प्रयोगसँगै संरक्षण पनि गरोस्। त्यही बेला गणेशले चियावाला खोल्ने प्रस्ताव अघि बढाए।
बुटवल गणेशको जन्मथलो। प्रत्येकपटक पुग्दा उनी सहरको कोलाहलबाट केही टाढा एकान्त खोज्दै डुलिरहन्थे। फोटा खिच्ने सोख उनको पहिल्यैदेखि हो। डुल्ने र क्यामरामा दृश्य कैद गर्ने क्रममै उनको नजर यो घरमा परेको थियो।
'कोही पनि नबस्ने भएपछि घरले रेखदेख पाएको थिएन। दस दिन लगाएर मर्मत गरेँ, रंगाएँ,' गणेशले भने, 'हामी यसमा पुरानो शैली नै देखियोस् भनेर सजग थियौं। त्यहीअनुसार बनायौं।'
त्यहाँ उनले पुराना शैली अनि माटोका बत्तीहरू, काठले बनेका ट्रे, काठकै कुर्सी लगायत पुरानो 'थिम' मा जाने सामग्री राखेका छन्। भुइँ भने सफा गर्न सजिलो होस् भनेर सिमेन्टबाट परिवर्तन गरेर मार्बल हाले। त्यहीँको एक भित्तामा आफूले बनाएका तीन फिल्म 'मालतीको भट्टी', 'मञ्जरी' र 'गाँजाबाजा' मध्ये 'गाँजाबाजा' को पोस्टर र आफूलाई मन परेका अन्य फिल्मका पोस्टर सजाएका छन्।
भिडिओ च्याटमा उनले घरको छत देखाउँदै भने, 'त्यो बेला पनि यति अग्लो छत बनाउने सोचाइ कसरी आएको होला? त्यसमा पनि सबै काठले सिँगारिएको। यहाँको डिजाइन, आर्किटेक्ट सबै बलियो अनि दीर्घकालीन सोचका साथ बनेको जस्तो देखिन्छ।'
भिडिओमा हेर्दा चियावाला आसपासका अरू घर साना छत भएका सानै थिए। त्यहाँको बस्ती सुनसान थियो, फाट्टफुट्ट मान्छे पनि देखिन्थेनन्। बरू उनको चियापसलमै बढी भिड थियो। बस्ती देखाइरहँदा चोकमा उभिएको निमको रूखतिर केन्द्रित गर्दै गणेशले भने, 'यही निमको बोटले ठाउँको नाम निमचोक भएको रहेछ।'
निमचोक नाम भएको यो बस्ती पहिले यस्तो सुनसान थिएन। कुनै समय व्यापारको केन्द्रविन्दु थियो।
गणेशका अनुसार यहाँका मान्छे पहाडतिरबाट घ्यू लिएर आउँथे, खारेर भारतमा बेच्थे। त्यही बेचेर आएको पैसाले भारतबाट नुन, तेल लगायत घरायसी सामानसँगै लत्ताकपडा ल्याउँथे र यहाँ बेच्थे। पहाडतिरका मान्छे फेरि त्यही सामान किन्न यहाँ आउँथे। त्यसैले त बटौली बजार भनेर प्रसिद्ध थियो।
तिनाउ नदीवारि अहिलेको बुटवल (खस्यौली) मा भने ठूल्ठूला ढुंगा र बगर थियो। पछि त्यहाँको ढुंगा पन्छाइयो अनि घरहरू बन्न थाले, राजमार्ग आयो। विस्तारै खस्यौली अर्थात् बुटवल चोक गुलजार भयो, बटौली सुक्यो।
बटौलीमा व्यापार गर्नेहरू खस्यौली सर्न थाले। त्यही मुख्य सहर बन्यो र त्यसैलाई बुटवल भन्न थालियो।
त्यहाँको इतिहास बताउँदै गणेशले भने, 'हाम्रो पुरानो पसल पनि बुटवलकै अमरपथमा थियो।'
बुटवलमा गणेशका बुवा घनश्यामले सानो काठको टंकीमा चिया पसल सुरू गरेका थिए। गणेश त्यही पसलमा जन्मिए। उनका अनुसार बुटवलको केन्द्रमै रहेको त्यो पसलको चिया निकै प्रख्यात थियो। दूध, चिनी र चियापत्ति मात्र हालेको 'असली' चिया बनाउन गणेशले बुवाबाटै सिके।
पसलमा लेखिएको 'सन् १९५६ देखि सञ्चालित' को अर्थ भने हजुरबुवा यज्ञप्रसादको पालादेखि हो। गणेशले चियावाला सञ्चालन मितिलाई हजुरबुवाको पालादेखि नै जोडेका हुन्।
उनका हजुरबुवा पहाड घर स्याङ्जा, कारिकोटको एउटा पसलमा काम गर्थे। त्यो गाउँघरको सामान्य पसल थियो। दिनभर त्यहाँ बस्दा उनलाई चियाको तलतल लाग्न थालेछ। त्यहीँ एक कुनामा चिया पकाउन सुरू गरे। विस्तारै त्यो चिया यति लोकप्रिय भएछ, अरू मानिस त्यो बाटो हिँड्दा उनीकहाँ चिया खान थालेछन्। हुँदाहुँदा पछि चिया पसल नै खोले।
त्यही पुर्ख्यौली पेसालाई सम्मान दिन गणेशले दुई वर्षअघि काठमाडौंको बागमती करिडोर, आलोकनगरमा चियावाला खोलेका हुन्। त्यसलाई अहिले उनकै परिवारका अन्य सदस्यले चलाइरहेका छन्।
यता आफू जन्मेकै ठाउँमा पनि पसल खोल्न पाउँदाको खुसी साट्दै भन्छन्, 'मलाई जहिले पनि यहाँ केही गरौं भन्ने सोच थियो। अहिले चियावाला खोल्न पाउँदा घर आइरहने बहाना थपिएको छ।'
पसलमा चियाका 'रेसेपी' काठमाडौं चियावालाकै हुन्- घनश्याम, मेरो खुसी चिया, रोयल चिया, मदर टी (विथ लभ), इलाम चिया, ग्रीन टी, तुलसी, रोज, ब्लुमिङ टी लगायत चियाका विभिन्न स्वाद छन्। चियाको मूल्य घनश्यामको ४० रूपैयाँदेखि ब्लुमिङ टीको आठ सय रूपैयाँसम्म छ। चिया पियक्कडलाई लक्ष्य गरिएकाले यहाँ कोल्ड ड्रिंक्स लगायत अन्य पेय पाइन्न। बरू चियाकै साथी बिस्कुट, पाउरोटी, ओट मिल, कर्न फ्लेक्स, नमकिन लगायत पाइन्छ।
चिया घनश्याम भने गणेशले बुवाकै नामबाट राखेका हुन्। घरकै नजिक पसल भएकाले बुवा बेलाबखत यहाँ टहलिन आउँछन्। मधुमेह भएकाले चिनी नभएको चिया खान्छन्। कहिलेकाहीँ आफ्नै नामको चिया ग्राहकले मगाउँदा दंग पर्दा हुन्।
'छोराले मेरो नाममै चियाको नाम राखेको छ भनेर बुवालाई खुसी लाग्छ होला। तर उहाँलाई त्यो कुरा भन्न अनि देखाउन आउँदैन,' गणेशले बुवाको स्वभाव बताए।
चिया पारखीहरू अचेल खोजीखोजी चियावाला आउन थालेका छन्। सुनसान बस्तीमा फेरि चहलपहल हुन थालेको त्यहाँका वडाध्यक्ष महेन्द्र लिगल पनि स्विकार्छन्।
चियावाला खुलेपछि त्यस ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन एउटा इँटा थपिएको बताउँदै वडाध्यक्षले भने, 'हामीले चुनाव लड्दा घोषणापत्रमा त्यो ठाउँ प्रवर्द्धन गरेर पर्यटक भित्र्याउने भनेका थियौं। यस्तो ठाउँमा पनि सम्भावना छ है भनेर चियावाला अहिले उदाहरण बनेको छ।'
महेन्द्र यहाँको ठाउँलाई सेनहरूले विकास गरेको बताउँछन्। यही बाटो हुँदै पृथ्वीनारायण शाह पनि हिँडेका थिए। नजिकै जीतगढी किल्ला छ, जहाँ कर्नेल उजीर सिंहले लडेर अंग्रेजहरूलाई धपाएका थिए। त्योसँगै युद्ध संग्रहालय, मठ–मन्दिरहरूको संरक्षण गर्ने, पुराना घर मौलिक शैलीमा बनाउने र रोजगारी अवसर बढाउने योजना रहेको उनी बताउँछन्। उनले वडा नम्बर एकका पाँच ठाउँमा वाइफाइ पनि सित्तैमा दिएका छन्।
'यहाँका मान्छेलाई चियावालाले गर्दा हौसला पुगेको छ। सायद उनीहरू अब फेरि व्यवसाय गर्न हौसिन्छन् होला,' उनले भने।