भारतीय व्यवसायीहरुले नेपालमा पछिल्लो समय लगानी तथा व्यापार बढीरहेको प्रतिक्रिया दिएका छन्। परम्पारगत छिमेकी मुलुक भएकाले पनि पछिल्लो समय भारतीय निजी लगानी नेपालमा बढीरहेको र यो अझै बढ्ने उनीहरुको विश्वास छ।
भारतीय वाणिज्य एंव उद्योग महासंघ (फिक्की) मा आबद्ध व्यवसायीहरुले नेपालका आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अबका दिनमा लगानी तथा व्यापारको आकार बढ्ने बताएका हुन्।
कोरोना भाइरस महामारी पछिको अवस्थामा नेपालमा लगानीको आवश्यकता अझै बढेको र विगतदेखि लगानी गरेका भारतीय व्यवसायीलाई पनि सहज अनुभव हुने भएकाले लगानीको वातावरण मजबुत बन्नुपर्ने उनीहरुको भनाइ छ।
साझा निजी लगानीबाट दक्षिण एसियामै आर्थिक प्रगति गर्नसकिने सम्भावना भएकाले नेपाल लगायतका अन्य मुलुकका सरकारले राजनीतिक तहमा एकरुप धारणा बनाउनुपर्ने उनीहरुको भनाइ थियो।
फिक्की साउथ एसिया क्षेत्रिय परिषदका अध्यक्ष एवं महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका मनोज चुगले पानी र उर्जामा लगानी बढ्नसक्ने बताए। उर्जाको क्षेत्रमा हालैमात्र पूर्वाधारमा ठूलो लगानी भएको र भविष्यमा यो क्षेत्र लगानीका लागि उपयुक्त भएको उनको भनाइ छ।
लगानी तथा व्यापार क्षेत्रमा भारत नेपालका लागि ठूलो स्रोत भएको र भारतीय व्यवसायीहरु नेपालमा लगानी गर्न सदैव इच्छुक रहेको एस ट्राक्टर तथा कन्स्ट्रक्सन इक्यूपमेन्टका सीओओ अशोक अनन्थरमनको भनाइ छ।
उर्जा, पूर्वाधार तथा औद्योगिक उत्पादनमा लगानी गर्नका लागि भारतीय व्यवसायी अझै उत्सुक भएको व्यवसायीहरुको धारणा थियो। यद्यपी आधुनिक व्यापारका लागि वित्तीय सेवा लगायतका पूर्वाधारको निर्माण हुनुपर्नेमा उनीहरुको जोड थियो।