काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको नेपाल एयरलाइन्सले अझै पाँच वर्षका लागि निरन्तरता पाएको छ।
सेवा प्रवाहका लागि नेपाल एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी पाँच वर्षका लागि सम्झौता नवीकरण गरिदिएको हो।
खुला प्रतिस्पर्धाको आधारमा सेवा सञ्चालन अनुमति दिनुपर्ने माग उठे पनि राष्ट्रिय ध्वजावहाक भएका कारण नेपाल एयरलाइन्सलाई नै निरन्तरता दिइएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले नेपाल एयरलाइन्सलाई थप पाँच वर्षका लागि सेवा सञ्चालन अनुमति दिइएको बताए। सम्झौता नवीकरण गरे पनि राजश्व बाँडफाँट भने पुरानै रहने छ।
कोरोना महामारीको मारमा एयरलाइन्स परेको भन्दै पहिलेकै दरमा सम्झौता नवीकरण गरिएको क्षेत्रीले जानकारी दिए। नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीबाट १५ प्रतिशत प्राधिकरणले लिँदै आएको छ। पछिल्लो समय प्राधिकरणले आफूले पाउने हिस्सा बढ्नुपर्ने बताउँदै आएको थियो।
प्राधिकरणले निर्माणाधीन पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई नै दिने भएको छ।