नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासमा निजी क्षेत्रलाई योजनाबद्ध तरिकाले परिचालन गर्ने प्रतिबद्धता जनाएको छ। महासंघले भिजन पेपर नै बनाएर आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि परिचालन हुने बताएको छ।
नयाँ कार्यसिमिति निर्वाचित भएको सय दिनका अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेखर गोल्छाले अहिले भिजन पेपरमा छलफल भइरहेको बताए।
'हामी चैतमा हुने साधारणसभा अघि नै भिजन पेपर ल्याउने तयारीमा छौं। अहिले यो कार्यकारिणी समितिमा पेश भइसकेको छ', गोल्छाले भने।
आर्थिक विकासका लागि विभिन्न दश क्षेत्रलाई प्राथमिक क्षेत्र निर्धारण गरी त्यसमै सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयास गर्नुपर्ने गोल्छाको भनाइ छ।
'यदि यसो गर्न सकियो भने आगामी दशकमा नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्न सक्छु उनले भने।
यसका लागि समग्र निजी क्षेत्र एकठाउँमा हुनुपर्ने उनको भनाइ छ। महासंघले निजी क्षेत्रलाई एक ठाउँमा ल्याउनका लागि अन्य प्रतिनिधिमुलक संस्थाहरुसँग सहकार्य गर्ने भएको छ।
गोल्छाकाअनुसार कृषि,सेवा,उत्पादनमुलक उद्योगहरु अबका प्राथमिकता हुने छन्।