चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन्।
आफ्नै क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट छनोट गर्दै आएको छ।
यो फोरम सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्वारा स्थापित हो।
यसले विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ।
फोरममा १२० भन्दा बढी मुलुकका १४ सय सदस्य/पूर्वसदस्य छन्।
यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्चुन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूतलगायत छन्।
हरेक वर्ष विश्वभरबाट छानिएका हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ। यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन्।
फोरममा छनोट भएपछि निर्वाण चौधरीले यस्तो मञ्चमा सहभागी हुन पाउँदा गर्व लागेको बताए। उनले यो ब्याचका मेधावी सदस्यहरूसँगको अन्तर्क्रियाबाट धेरै कुरा सिक्ने बताए।
फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्ने बताइएको छ।