काठमाडौंमा पाँचतारे होटल म्यारियट सञ्चालन गरिरहेका शशिकान्त अग्रवालले थप नयाँ होटल निर्माण गर्ने भएका छन्।
अग्रवालले अन्तर्राष्ट्रिय चेनबाटै चलाउने गरी नयाँ होटल निर्माण सुरू गरेका हुन्। काठमाडौंको कमलादीमा होटल निर्माण गरिने अग्रवालले बताए। यसमा करिब दुई अर्ब लगानी हुने अनुमान गरिएको छ।
अग्रवालका अनुसार होटल दुई रोपनी क्षेत्रफलमा बन्नेछ। होटल निर्माणका लागि डिजाइन तथा अन्य सरकारी अनुमतिको काम सकिएको छ। आगामी सातादेखि निर्माण सुरू हुने छ।
म्यारियट इन्टरनेसनलको सेलेक्ट क्याटेगोरीको ब्रान्ड मोक्सीको चेनबाट नयाँ होटल सञ्चालन हुने अग्रवालले जानकारी दिए।
यो समूहले यसअघि सञ्चालन गरिसकेका दुवै होटल म्यारियट इन्टरनेशनलकै चेन हुन्। यसअघि डिलक्स क्याटेगोरीको म्यारियट र सेलेक्टकै अर्को फेयरफिल्ड म्यारियट सञ्चालनमा छन्।
मोक्सी युवावर्ग लक्षित होटल हुने उनको भनाइ छ।
'यसको अवधारणा नै रमाइलो तथा मनोरञ्जन हो। ठमेलको वातावरणमा बस्न चाहने तथा बढी खर्च गर्न खोज्ने ‘हाइ इन्ड ब्याक-प्याकर्स’ लक्षित हुने छ,' अग्रवालले भने।
मोक्सीमा अहिलेका अरू होटलजस्तो रिसेप्सन हुँदैन। गेटबाट प्रवेश गर्नेबित्तिकै बार हुन्छ।
यसअघिका होटल नै चरम आर्थिक संकटमा छन्। तर पनि नयाँ होटल बनाउने बेलासम्म नेपालको बजार पुनरागमन हुने र त्यस्तो अवस्थामा मोक्सीले राम्रो बजार पाउने अग्रवालको विश्वास छ।
'कोरोना प्रभावले अहिले पुराना होटल नराम्रोसँग प्रभावित भएका छन्। नयाँ आउने सम्भावना पनि छैन। तर केही समयपछि मान्छेले खर्च गर्ने ठाउँ त खोज्छ। त्यस्तोमा एउटा नयाँ अवधारणा होटलको रूपमा मोक्सी आउँछ,' उनले भने।
कोरोना विरुद्धको भ्याक्सिन आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका छन्। देखिनेगरी यसको प्रभाव अहिले नै नपरे पनि व्यवसायीहरु उत्साहित हुन थालेका छन्।
अब पाँच वर्षपछिको बजारका लागि नयाँ लगानी गर्न लागेको अग्रवालको भनाइ छ।
'मेरो हजुरबुवाले जहिले पनि हिउँदमा मात्र इनार खन्नुपर्छ भन्नुहुन्थ्यो,' उनले भने, 'ठिक यसरी नै मैले होटलमा लगानी गरेको हुँ। होटल निर्माण हुनेबेलासम्म बजार धेरै राम्रो भइसकेको हुन्छ।'
समूहको काठमाडौंमा यो तेस्रो होटल हुने छ। समूहले काठमाडौं बाहिरका मुख्य सहरमा पनि बिजनेस होटल निर्माण गर्ने योजना बनाएको छ।
मोक्सीमा १०१ कोठा हुने छन्। स्विमिङ पुलसहितका पाँचतारे होटलमा हुने सबै पूर्वाधार भए पनि यसले पाँचतारे सेग्मेन्ट भने लिने छैन।