चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउनदेखि माघ मसान्त)सम्म मुलुकको व्यापार घाटा ७ खर्ब ३७ अर्ब पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा ०.७ प्रतिशतले घटेको हो। कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समीक्षा अवधिको ब्यापार घाटामा कमी देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो। ७ महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले वृद्धि भई ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले बढेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।
यस अवधिमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ।
त्यस्तै ७ महिनामा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ। अमेरिकी डलरमा ६.७ प्रतिशतले रेमिट्यान्स बढेर ४ अर्ब ८१ करोड पुगेको छ।
सात महिनासम्मको अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ।
शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ।