नेपालको सबभन्दा ठूलो स्पिनिङ मिल (धागो उत्पादक) रिलायन्सले नयाँ प्रविधि भित्र्याएको छ। सबभन्दा धेरै धागो उत्पादन तथा विदेशमा निर्यात गर्दै आएको यो कम्पनीले नयाँ प्रविधि ल्याएको हो।
गुणस्तरीय धागो उत्पादन तथा लागत न्यूनीकरण गर्न सहयोगी हुनेगरी नयाँ प्रविधि ल्याइएको रिलायन्सका अध्यक्ष पवन गोल्यानले जानकारी दिए।
'नेपालमा त हामीले पहिलोपटक नै ल्याएका हौं। भारतमा पनि यो सर्वव्यापी भइसकेको छैन,' गोल्यानले भने।
स्थापनाको २५ वर्षसम्ममा दस अर्ब रूपैयाँ लगानी भइसकेको यो उद्योगमा नयाँ प्रविधि भित्रिएसँगै क्षमता पनि विस्तार भएको छ। पहिलाको क्षमतामा २० प्रतिशत विस्तार भएको गोल्यानले जानकारी दिए।
कोरोनाकालमा पनि घाटामा नगएको यो उद्योगले गत वर्ष सात अर्बको धागो निर्यात गरेको थियो। उद्योगमा नयाँ प्रविधि तथा लगानी विस्तारको योजना भने पहिलेकै हो। यो प्रविधि भित्रिएपछि नेपाली कपडा उद्योग तथा रिलायन्सकै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढ्ने गोल्यानको भनाइ छ।
नयाँ भित्रिएको जापानी प्रविधिले परम्परागत शैलीभन्दा फरक तरिकाबाट धागो उत्पादन गर्छ। यसले गुणस्तरीय कपडा उत्पादनमा सहयोग गर्ने उनको भनाइ छ।
'अहिलेसम्मको हाम्रो प्रविधि परम्परागत शैलीकै मेसिनरी रूपान्तरण थियो। यो नयाँ प्रविधिले एयरप्रेसरबाट धागो बनाउने काम गर्छ,' गोल्यानले भने।
यसरी उत्पादन भएको धागोमा भुवा नआउने उनको दाबी छ। अहिलेसम्मको प्रविधिबाट उत्पादित धागो, विशेषगरी कटनमा भुवा आउँथ्यो।
यसरी कटनमै पनि भुवा न्यूनीकरण गर्ने धागो उत्पादन हुँदा विदेशी बजारमा नयाँ 'सेग्मेन्ट' को बजार बनाउने उनको भनाइ छ। यो हिसाबले उद्योगको नाफामा पनि वृद्धि हुने भयो।
अर्कोतिर नेपाली कपडामा यो प्रविधिबाट उत्पादित धागो प्रयोग भए गुणस्तरीय हुनेछ। नेपाली कपडा उद्योगका लागि विदेशी कपडासँग प्रतिस्पर्धा गर्ने यो अवसर हुने उनको दाबी छ।
'अहिलेसम्म नेपाली धागोबाट उत्पादित फाइबर विदेशीजस्तो गुणस्तरीय हुँदैन भन्ने बुझाइ थियो। अब भने यो प्रविधिको धागोले त्यो अनुभव परिवर्तन गर्नेछ,' उनले भने।
नेपालको आन्तरिक खपतभन्दा पनि विदेशमा धेरै निर्यात गर्दै आएको रिलायन्समा अझै लगानी विस्तार गर्ने गोल्यानको लक्ष्य छ। सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको यो उद्योगमा गोल्यान र एमएस समूहको लगानी छ।
सर्वसाधारणका लागि दस प्रतिशत सेयर जारी गर्न लागेको रिलायन्समा अबको पाँच वर्षमा दुई अर्बसम्म लगानी गर्ने लक्ष्य राखिएको गोल्यानले जानकारी दिए।
नेपालमै अल्लो धागो उत्पादन
रिलायन्सले नेपालमै अल्लो धागो उत्पादन पनि सुरू गरेको छ। घरेलुस्तरमा उत्पादन हुने धागो व्यावसायिक उत्पादनका लागि उपयुक्त नहुँदा विदेशमा लगेर प्रशोधन गरिन्थ्यो।
ठूलो मात्रामा उद्योगमै प्रशोधन गरी प्राकृतिक कपडा उत्पादन गर्ने उद्देश्यसहित अल्लो प्रशोधन सुरू गरिएको गोल्यानले जानकारी दिए। नेपालमा पाइनेमध्ये पाँच प्रतिशत मात्र अल्लो अहिले उपयोग भइरहेकाले यसको औद्योगिक प्रशोधन सुरू गरिएको उनको भनाइ छ।
प्रशोधन गर्न रिलायन्सले अहिले नै १५ करोडको अल्लो किनिसकेको छ। यसरी प्रशोधन गर्दा घरेलुस्तरमा हुने प्रशोधनलाई कुनै पनि असर नपर्ने उनको भनाइ छ।
'घरेलुस्तरमा हुने प्रशोधन तथा उत्पादन हाम्रो छुट्टै पहिचान हो। त्यसलाई हामीले प्रोत्साहन नै दिन्छौं। घरेलु उत्पादनभन्दा बाहिर रहेकाको औद्योगिक प्रशोधन गर्न खोजेका हौं,' उनले भने।
अल्लोमा कटनजस्तै अरू कपडाको मिश्रणबाट धागो बनाइन्छ। भविष्यमा नेपालमै उत्पादन हुने कटनको मिसावटबाट प्राकृतिक कपडा उत्पादन गरिने गोल्यानले जानकारी दिए। तर यस्तो कपडा रिलायन्स वा अर्को कुनै उद्योगले गर्ने भन्ने स्पष्ट भएको छैन।
अहिले जंगलमा खेर गइरहेको अल्लोको व्यापक खपतबाट स्थनीय किसानको आय बढ्ने, रोजगारी सिर्जना तथा देशकै अन्तर्राष्ट्रिय व्यापारमा सुधार हुने गोल्यानको विश्वास छ।
'प्राकृतिक कपडाको माग अहिले विश्व बजारमा राम्रो छ। हामीले त्यो गर्न सक्यौं भने यो छुट्टै औद्योगिक पहिचान बन्न सक्छ,' उनले भने।