नेपाली माझ दिनदिनै कोरियन खाना लोकप्रिय हुँदै गएका बेला चितवनमा पनि कोरियन रेष्टुराँ खुलेको छ। नारायणगढ नजिकै पदमपुर छेउको लंका लाइनमा अवस्थित मुनाल एण्ड मयुर रिसोर्टले कोरियन परिकारसहितको रेष्टुराँ सञ्चालनमा ल्याएको हो।
नारायणगढको चौबिस कोठीबाट ६ किलोमिटर दूरीमा रहेको रिसोर्टले कोरियन खानाका विभिन्न परिकार बेच्न थालेको छ। उसले सामगेपसाल, विविम बाप, बुल गोगीसहितका परिकार पस्कन्छ। साथै कोरियाको परम्परागत रक्सी सोजु र छ्याङ पनि पाइन्छ।
पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, राजिन्द्र महतो र सुशिल चौधरीले सञ्चालन गरेको रिसोर्टमा कोरियन परिकार मात्र होइन, नेपाली, चिनियाँ र कन्टिनेन्टल परिकार पनि पाक्छ।
‘चितवनमा कोरियन खाना पाइने रेष्टुराँको अभाव थियो’, सञ्चालक लामाले भने, ‘त्यसैले नेपाली र विदेशी दुवैले मन पराउने कोरियन खानामा हामीले जोड दिएका हौं।’
काठमाडौंको ठमेलमा समिटर कोरियन रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अनुभवी खानाविशेषज्ञ विजय योञ्जनको प्रशिक्षण पाएका कुकहरूले यहाँ कोरियन खाना बनाउने गरेको उनले बताए।
रिसोर्टमा विशेष परिकारका रुपमा हिमाली खाना पनि पाइन्छ। यसमा याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह, फापरको ढिंडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी, फलफुलको जुस लगायत परिकार पाइन्छ।
विगतमा आपा रिसोर्टका नाउँमा सञ्चालन हुँदै आएको यस रिसोर्टलाई हिमाल र तराई जोड्ने सेतुका रुपमा नयाँ ढंगले ब्राण्डिङ गरेर ‘मुनाल एन्ड मयुर रिसोर्ट’ नामाकरण गरिएको हो।
मनास्लु क्षेत्रका स्थापित पर्यटनकर्मी लामा र स्थानीय पर्यटनकर्मीको साझेदारीमा सञ्चालित रिसोर्टले तराईमा बस्नेहरूलाई हिमाली भेकमा घुमाउने र हिमाली भेकमा बसोबास गर्नेलाई तराई पर्यटनको स्वाद चखाउने योजना बनाएको छ।
उसले विभिन्न प्याकेज समेत बनाइसकेको छ। ‘हामीले चितवनबाट हेलिकप्टरमा मनास्लु माउन्टेन फ्लाइट गराएर ३ रात उतै बसेर फर्कने प्याकेज बनाएका छौं। यसका लागि प्रति व्यक्ति एक लाख ३८ हजार रुपैयाँ तिर्नु पर्छ।’
कोरोना महामारीका कारण बाह्य पर्यटक आवागमन ठप्प भएको अबस्थामा यो प्याकेजले आन्तरिक पर्यटक बढाउन मद्दत पुग्ने रिसोर्टले आशा गरेको छ।
कालिका नगरपालिका–१ मा पर्ने रिसोर्टमा बसेर चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, बिसहजारी ताल, हिलस्टेशन सिराईचुली, शक्तिखोर, सौराहा लगायत क्षेत्र पनि भ्रमण गर्न सकिन्छ।
सम्पर्क: सुशिल चौधरी–९८६५३८१५१०