मदिरा उत्पादनकर्ता जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरी सन् २०१३ मा स्थापना भएको हो। यसले गोल्डेन ओक, रूस्लान, ग्र्यान्ड मास्टर, रोयल ट्रेजर, ब्लु डायमन्ड लगायत ह्विस्की, भोड्काका साथै नमस्ते, माउन्टेन आइस बियर उत्पादन गर्दै आएको छ।
राज ब्रुअरीले चर्चित जर्मन बियर ब्रान्ड वार्सटाइनर पनि नेपालमै उत्पादन गरिरहेको छ भने हालै मात्र युरोपेली ब्रान्ड बडवाइजरको पनि उत्पादन सुरू गरेको छ। बडवाइजर विश्वबजारमा निकै प्रचलित बियर हो।
यसलाई नेपाली बजारमा ल्याएको ग्रुपका कार्यकारी निर्देशक सशिन जोशीसँग सेतोपाटीका रवीन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंशः
यसअघि नै अन्तर्राष्ट्रिय ब्रान्डको बियर ल्याइसक्नुभएको छ। त्यसबाट उत्साहित भएर नयाँ ब्रान्ड ल्याउनुभएको हो?
हामीसँग मदिराका अन्य उत्पादन प्रशस्त छन्, तर बियर छैन भनेर लगानी गरेको होइन। माथिल्लो तहका ब्रान्ड ल्याउने र संसारभरका पारखीले रूचाउने बियर नेपालीमाझ ल्याउने उद्देश्य हो। बियर मात्र उत्पादन गर्न पचास करोडमै कारखाना बन्छ। तर हामीले संसारबाट ठूला ब्रान्ड आऊन् भनेर तीन अर्ब लगानी गरेका छौं।
ठूलो लगानी गरेर कारखाना बनाएपछि जर्मनीको वार्सटाइनर ल्यायौं। यो जर्मनीको पारिवारिक स्वामित्वमा भएको सबभन्दा पूरानो र ठूलो बियर कम्पनी हो। सन् १७५३ मा स्थापित उक्त कम्पनी अहिले पनि पारिवारिक नियन्त्रणमा छ, धेरै बजार सेयर पनि छ। जर्मनीका सयौं बियर ब्रान्डमाझ यसको मात्र ९ प्रतिशत बजार हिस्सा छ। यो युरोपकै उत्कृष्ट ब्रान्डमध्ये हो।
हामी त्यसको उत्पादन मात्र होइन, प्रविधि पनि सिकौं भन्ने थियो। सुरूमा 'ब्रु मास्टर' उतैबाट ल्यायौं। अहिले हामीले आफ्नै मास्टर तयार पारिसकेका छौं। गुणस्तर भने उतैबाट नियन्त्रण हुन्छ, हरेक ब्याच उतै पठाउनुपर्छ।
नेपालमा कसरी आयो बडवाइजर?
हामीले युरोपको प्रतिष्ठित ब्रान्ड त ल्यायौं तर विश्वकै प्रतिष्ठित र ठूलो ब्रान्ड ल्याएका थिएनौं। ठूलो लगानीमा खुलेको कारखानामा हामीलाई अझै प्रतिष्ठित ब्रान्ड चाहिएको थियो। त्यही क्रममा हामीले बडवाइजर ल्याउने निधो गर्यौं।
यो विश्वकै ठूलो बियर ब्रान्ड हो। यसका पाँच सयभन्दा बढी ब्रान्ड छन्। यसको कुल कारोबार दुई वर्षअघि ५९ अर्ब डलर थियो। डेढ वर्षअघि कम्पनीले अस्ट्रेलियाको अपरेसन जापानको अशाइलाई बेच्यो। अहिले वार्षिक कारोबार ५२ अर्ब डलर छ।
विश्वबजारमा यति लोकप्रिय बियरलाई हामीले 'आऊ' भन्दैमा आउने होइन। हामीले प्रस्ताव गरेपछि उनीहरूले नेपालकै अरू ब्रुअरीसँग पनि सम्पर्क गरे। त्यहाँबाट प्राविधिक आएर अरू कारखाना पनि हेरे। हाम्रो लगानी तथा प्रविधि हेरेपछि दक्षिण एसियामा यो स्तरको ब्रुअरी छैन भन्ने प्रतिक्रिया दिए।
हामी बडवाइजर मात्र होइन, स्टेला र कोरोना पनि बनाउन सक्छौं जो उनीहरूकै हो। तर अहिले बडवाइजरका लागि मात्र सम्झौता गरेका छौं। यो अनुमति पत्र र प्रविधि हस्तान्तरणको सम्झौता हो। उनीहरूले हाम्रो कारखाना र क्षमतामा चित्त बुझाए पनि बडवाइजर बनाउन अझै थप लगानी गर्नुपर्छ भने। उनीहरूको उत्पादन प्रक्रिया अलि फरक छ। पहिल्यै ठूलो लगानी भएकाले हामी धेरै नाफामा थिएनौं, लगानी थप्न सहज थिएन। तर त्यही निर्णय लियौं जसबाट बडवाइजर हामीसँग आउँथ्यो, थप ५० करोड लगानी चाहिने अनुमान भयो।
लगानीपछि पनि हामीले तत्कालै उत्पादन गर्न पाएनौं। उनीहरूले हाम्रो नमूना निरन्तर परीक्षण गरे। यो प्रक्रियामै एक वर्ष गयो। बल्ल अहिले बियर बजारमा ल्याएका छौं। यसको पनि प्रत्येक ब्याच उतै पठाउनुपर्छ।
यो बजारमा सार्वजनिक गरेको दुई साता भइसकेको छ। सुरूआती प्रतिक्रिया कस्तो पाउनुभएको छ?
संसारका धेरै उपभोक्ताको रोजाइमा पर्दै आएको बडवाइजरबाट धेरै आशावादी छौं। सुरूका दिनमा राम्रो प्रतिक्रिया पाइरहेका छौं। नयाँ ब्रान्ड रक्सी होस् वा बियर, पसल तथा होटलमा साधारणतया कति राख्ने भन्नेमा झन्झट मान्छन्, माग कस्तो आउँछ, हेरौं भन्छन्। सय ठाउँ जाँदा ६० ठाउँमा मात्र राख्न सफल हुन्थ्यौं। तर बडवाइजर सबैजसोले राख्न माने। यसले हामीलाई असाध्यै सजिलो भएको छ।
वार्सटाइनर र बडवाइजर दुवै प्रिमियम बियर हुन्, यिनको स्वादमा के भिन्नता छ?
वार्सटाइनर लामो समयदेखि बियर पिउन अभ्यस्त भएकाले रूचाउँछन्। बियरको खास स्वाद, तितोपन मन पराउनेहरू नै यसका लक्षित ग्राहक हुन्।
बडवाइजर भने युवा पुस्ताका लागि हो। यो वार्सटाइनरभन्दा कम तितो छ। अलिकति फलफूलको जुसजस्तो पनि। यो 'लाइट' बियर हो।
वार्सटाइनर र बडवाइजर दुवै प्रिमियम बियर हुन्। अहिले बियरमा एउटा ब्रान्डको एकछत्र राज छ। बजारमा पाइने पहिलो र दोस्रो ब्रान्डबीच ठूलो 'ग्याप' छ। हामी त्यही ग्यापमा प्रवेश गर्ने हो।
तपाईंहरूले यति धेरै लगानी गरेर ठूलो ब्रान्ड ल्याउनुभएको छ। विश्वबजारमा धेरै रूचाइए पनि नेपालीको पेय स्वादसँग कत्तिको म्याच होला?
हामीकहाँ पछिल्लो समय बियर 'सोसल ड्रिंक्स'का रूपमा बढ्दै छ, व्यापार पनि बढेको छ। पछिल्ला दुई वर्षमा बियर बजार वार्षिक २० प्रतिशत बढेको छ। सँगै लगानी पनि बढेको छ।
बियर ड्रिंकिङ ट्रेन्ड हुनेवाला छ। यस्तोमा भर्खर ड्रिंक्स सुरू गरेकाका लागि बडवाइजर जत्तिको प्रिमियम बियर अरू हुनै सक्दैन। हामीले गरेका विभिन्न अध्ययनबाट पनि नेपाली उपभोक्ताको स्वाद र चाहनासँग मेल खाने पाइएको छ।
अन्तर्राष्ट्रियसँगै घरेलु ब्रान्ड पनि ल्याउने चलन हुन्छ। प्रविधि हस्तान्तरण पनि भन्नुभएको छ। तपाईंहरूको आफ्नै बियर ब्रान्ड के छ त?
हामी त्यसमा समानान्तर जाने हो। अन्तर्राष्ट्रिय ब्रान्ड आफ्नै तरिकाले जान्छ, आन्तरिक पनि जान्छ। प्रिमियम बाहेक अहिले 'नमस्ते', 'माउन्टेन आइस' ब्रान्डका बियर छन् हाम्रा।
हामीकहाँ बियरमा आठ प्रतिशतभन्दा बढी अल्कोहल राख्न पाइँदैन। अब आठ प्रतिशत अल्कोहल भएको नयाँ ब्रान्ड तुरून्तै ल्याउँदैछौं।
ह्विस्की र भोड्कामा आक्रमक तपाईंहरू बियरमा हुन नसकेको भन्ने लाग्दैन?
बियर हाम्रा लागि नयाँ व्यापार हो, ठूलो लगानी गरेका छौं। तर मास ब्रान्ड ल्याउनेभन्दा गुणस्तरीय र प्रिमियम उत्पादन ल्याउने हाम्रो रणनीति हो। त्यहीअनुसार अघि बढेका छौं।
हाम्रो गोल्डेन ओक बजारमा अगाडि छ, भोड्कामा पनि माथि छौं। नयाँ ब्रान्ड बजारमा स्थापित गराउन केही समय लागिहाल्छ। यो स्वाभाविक हो।
बडवाइजरको विश्वव्यापी पहिचान शक्तिशाली छ। तपाईंहरूको आफ्नै बजार राम्रै छ, यो बियर बजारमा जमाउन मुश्किल नहोला नि?
बजारमा अवरोधक रणनीति अपनाउने कम्पनी नभएका होइनन्। तर हामी अरूलाई बन्देज गर्दैनौं। हाम्रो मान्यता उपभोक्तालाई रोजाइ अवसर दिनुपर्छ भन्ने हो। हाम्रो मात्र बिक्री गर, अरूको नगर भन्ने नीति छैन। अन्तिम स्वाद उपभोक्ताकै हो।
पार्टी प्यालेस जस्ता ठाउँमा केही 'इन्सेन्टिभ' दिएर बिक्री गराउँदा खपत त होला। तर त्यस्ता ठाउँबाट ब्रान्ड बन्दैन। त्यो नाफाको व्यापार पनि होइन। हाम्रो प्राथमिकता त्यहाँ पर्दैन। पसल होस् वा होटल, त्यहाँ उपभोक्ताको रोजाइ अवसर हुनुपर्छ। हाम्रो मदिरा व्यापारको बजार सञ्जाल तथा अनुभव भएका कारण हाम्रो रणनीतिमा हामी सफल हुन्छौं।
पछिल्लो समय मदिराको बजारसँगै लगानी पनि बढेको छ। यो क्षेत्रका लागि नीतिगत बाधा के हुन्?
अहिले पनि कुल करको १७ प्रतिशत योगदान मदिराको छ। तर पनि उद्योगप्रति राज्यको नजर राम्रो छैन। कर लगाउँदा भने सबैभन्दा बढी यसैमा लगाउँछन्। उत्पादनदेखि बिक्रीसम्म यसमा अधिक नियन्त्रण छ राज्यको।
एउटा सानो उदाहरण छ। बनाउने क्रममा पाइपलाइनमा रहेको केही मदिरा खेर जान्छ। बियर बनाउँदा दुई प्रतिशत खेर जान्छ, त्यो बिक्री हुने होइन। कहिलेकाहीँ यो मात्रा बढेर तीन प्रतिशत भएमा कर कार्यालयले मान्दैन। बिक्री नहुने एक प्रतिशतको पनि राजश्व तिर्नुपर्छ। अर्कातिर बिक्री नगरेको भनेर पेनल्टी तिराउने पनि भन्छ। यस्ता अव्यावहारिक नियम हामी कहाँ छन्।
बियरमा म्याद गुज्रिने मिति हुन्छ, कुनैमा छ महिना, कुनैमा नौ। बडवाइजरमा ६ महिना छ। हाम्रो नीति ताजा खुवाउने भन्ने हो। तर नेपाल काठमाडौं मात्र होइन। काठमाडौं बाहिर बियर पुग्दै तीन महिना भइसकेको हुन्छ। त्यसको म्याद गुज्रे के गर्ने?
खासमा त्यो हामीले फिर्ता लिन पाउनुपर्छ। हामी आफैं व्यवस्थापन गर्छौं। खपत नभएकाको राजश्व फिर्ता गरिदिनुस् भनिरहेका हौं। नियममा त्यो कुरा छ, कार्यान्वयनमा छैन।
सरकारी अधिकारीहरू त बियर जौबाट बन्नुपर्ने, चामलको मात्रा मिसाउन दिएर उद्योगको हितमा काम गरिदिएको भन्छन्। खासमा बियर कुन अन्नबाट बन्ने हो?
बियर जेबाट पनि बन्छ। अधिकांश जौबाट बन्छ। गँहुको पनि बन्छ। बडवाइजरमा पनि ५/७ प्रतिशत चामलको हिस्सा हुन्छ। कुनै निश्चित अन्न भन्ने छैन।
बडवाइजरको उपभोक्ता मूल्य कति हो?
ठूलो बोतलको तीन सय पचास र सानो ३३० मिलिलिटरको बोतलको एक सय असी रूपैयाँ।