सरकारले महंगा गाडी आयातमा लगाएको प्रतिबन्ध खुलाएको छ।
कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले २०७६ काे चैत १६ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको थियो।
अघिल्लो वर्ष लकडाउन लागू भएपछि विदेशी मुद्राको खर्चलाई रोक्न सरकारले महंगा गाडीको आयातमा रोक लगाएको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ५० हजार अमेरिकी डलरभन्दा महंगा गाडीको आयात खुलाएको हो।
त्यस्तै सरकारले अघिल्लो वर्षदेखि आयातमा प्रतिबन्ध लगाएका मरिच,केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध पनि खुलाएको छ। तर, यी वस्तुको आयात गर्ने वार्षिक कोटा निर्धारण गरिएको छ।
सूचनाअनुसार केराउ ८० हजार मेट्रिकटन ,सुपारी २५ हजार, छोकडा ५ हजार मेट्रिकटन आयात गर्न पाइने छ। त्यस्तै नधुल्याएको मरिच १५ हजार मेट्रिकटनमात्र आयात गर्न पाइने छ।