धुलिखेलमा नयाँ होटल सञ्चालनमा आएको छ। लामो समयदेखि पर्यटन व्यवसायमा लागेका सिबी थापा, श्यामकाजी महत, उमेश श्रेष्ठ र अशोक श्रेष्ठ गरी ४ जना व्यवसायी मिलेर ‘हिमालय दृश्य’ होटल सञ्चालनमा ल्याएका हुन्।
होटल काठमाडौंबाट ३० किलोमिटर टाढा छ।
होटलबाट अन्नपूर्ण, गणेश, लाङटाङ, गौरीशंकर र फुरीबिच्याचु हिमाल देख्न सकिने भएकाले होटलको नाम ‘हिमालय दृश्य’ राखिएकाे उपाध्यक्ष सिबी थापाले जानकारी दिए।
यो होटल निर्माण हुन तीन वर्ष लागेको उनले बताए। होटल १८ रोपनी क्षेत्रफलमा फैलिएको छ।
४० करोड लगानीमा बनेको होटलमा ४३ वटा कोठा छन्। जसमा २ वटा स्वीट रूम छ। स्वीमिङपुल, सोना स्टिम, स्पा, ब्यांक्वेट हल, मिटिङरुम, बगैंचा जस्ता सुविधा होटलमा उपलब्ध छन्।
विमानस्थलमा रहेका ग्राहकलाई होटलसम्म ल्याउने र एयरपोर्ट लैजाने व्यवस्था छ।
होटलमा बस्ने कोठा र बिहानको खाजा गरेर ५ हजारदेखि रूम पाइन्छ। धुलिखेलमा होटल खुल्दा यहाँका स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना भएको उनको भनाइ छ।
यो होटलमा सबै कर्मचारी धुलिखेलकै राखिएको उनले बताए।
तर, सरकारले दिनुपर्ने बाटो, पानी, ढलको सुविधा भने नपाएको उनले गुनासो गरे।